कुनै पनि स्वास्थ्य संस्थाबाट क्षयरोग भएको पुष्टि भएमा बिरामीले निःशुल्क उपचार पाउने व्यवस्था सरकारले गरेको छ। जुन स्वास्थ्य संस्थाले क्षयरोग पत्ता लगायो, उक्त संस्थाले क्षयरोग भएको पुष्टि गरेको पत्र देखाएको खण्डमा आफूलाई पायक गर्ने अस्पताल, स्वास्थ्य चौकी वा उप–स्वास्थ्य चौकीले क्षयरोगको औषधि खाना मिल्ने व्यवस्था गरिएको छ।
तर पनि क्षयरोगलाई नेपालमा प्रमुख स्वास्थ्य समस्याको रुपमा लिँदै आइएको छ। स्वास्थ्य सेवा विभागको राष्ट्रिय क्षयरोय नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष क्षयरोगबाट करिब ४४ हजार संक्रमित हुने गरेका छन्। त्यसमध्ये करिब ७ हजारले यो रोगका कारण ज्यान गुमाउने गरेका छन्।
केन्द्रका अनुसार पहिल्लो समय नेपालमा क्षयरोगको संक्रमण घट्दै गए पनि क्षयरोग बिरामीहरुको निदान भए पनि राष्ट्रिय क्षयरोग कार्यक्रममा समावेश नहुने अवस्था रहेको छ। क्षयरोगका बिरामीलाई समयकै कसरी उपचार गर्न सकिन्छ? क्षयरोगको पहिचान कसरी गर्ने? यस्तै विषयमा केन्द्रित भएर क्षयरोग विशेषज्ञ डा. दीर्घसिंह बमसँग गरिएको कुराकानी-
क्षयरोग भनेको के हो?
यसको परिभाषा दुई प्रकारले दिन सकिन्छ। वैज्ञानिक तरिकाले हेर्ने हो भने यो एउटा कीटाणुबाट हुने सरुवा रोग हो। अर्को दृष्टिकोणले हेर्ने हो भने सामाजिक, सरुवा, अर्थतन्त्रबाट पीडित मनुष्य जीवनमा धेरै नै चोट पु¥याउने रोग हो। त्यसकारणले यो रोगलाई एउटा समाजिक सरुवा आर्थिक कारोबारबाट पीडित बनाउने, शारीरिक रुपमा अशक्त बनाउने रोगको रुपमा हामीले चिन्नुपर्छ।
तर परिभाषित गर्दा क्षयरोग एउटा सरुवा रोग हो। यो निको हुने रोग हो।
कुन कीटाणुका कारण क्षयरोग लाग्छ, स्पष्ट पारिदिनु हुन्छ कि?
‘माइकोे ब्याक्टेरियम ट्युबरकुलोसिस्’ नामक कीटाणुका कारण क्षयरोग लाग्ने गर्छ। जुन सन् १९१८ मार्च २४ मा रोबर्ट ककले पहिलो पटक पत्ता लगाएका थिए। जसका कारण क्षयरोगलाई ‘माइकोेब्याक्टेरियम ट्युबरकुलोसिस्’ पनि भन्ने गरिन्छ।
सर्वसाधारणले बुझ्ने गरी भन्नुपर्दा क्षयरोगका लक्षणहरु के के हुन्?
क्षयरोग लाग्दा सबैले थाहा पाउने सामान्य कुरा बेलुकापख ज्वरो आएको जस्तो हुने, मान्छे दुब्लाउँदै जाने, खाना मन नलाग्ने, जीउ तातिने हुन्छ। यी सबै खाले क्षयरोगका लक्षण हुन्।
तर शरीरको कुन अङ्गमा क्षयरोगको प्रकोप छ, त्योअनुसार यदि फोक्सोमा क्षयरोग लागेको छ भने खोकी पनि लाग्न सक्छ। कहिलेकाही खकारबाट रगत पनि आउनसक्छ। हड्डीमा भएको छ भने हाडहरु दुख्न थाल्छन्। त्यस्तै पेटमा क्षयरोग लागेको छ भने पेट पनि दुख्छ। आँखामा भएको छ भने आँखा दुख्न थाल्छ।
अझ विशेषगरी पाठेघरमा क्षयरोग लागेको छ भने छिटोभन्दा छिटो उपचार नगरेसम्म सन्तान उत्पन्न गर्ने शक्ति हुँदैन।
मानिसको सम्पूर्ण अङ्गमा क्षयरोग हुन्छ। यो जुनसुकै उमेरका जुनसुकै देशमा पनि हुने भएकाले जनस्वास्थ्य समस्यामा रुपमा रहिआएको छ।
क्षयरोग पनि थरि थरिका छन् र?
सरल रुपमा बुझाउने हिसाबले भन्ने हो भने एउटा फोक्सोको क्षयरोग र अर्को फोक्सोभन्दा बाहिरको क्षयरोग हुन्छ। फोक्सोमा क्षयरोगको कीटाणु देखा पर्यो भने त्यो धेरै नै सरुवा हुन्छ। तर नसर्ने अवस्थामा आँखा, ग्ल्यान्ड, हड्डी, पेटमा क्षयरोग भयो भने यसलाई फोक्सोभन्दा बाहिरको क्षयरोग भनिन्छ।
फोक्सोको क्षयरोगबाट ८० प्रतिशतभन्दा बढी मानिस पीडित छन्। तर २० प्रतिशत मानिस फोक्सोभन्दा बाहिरको क्षयरोगका बिरामी भेटिन्छन्। फेरि फोक्सो बाहिरको क्षयरोग त्यति धेरै खतरानाक हुँदैन।
कुन उमेर समूहमा र सहर गाउँ कहाँमा धेरै क्षयरोग देखापरेको छ?
२० देखि ४५ वर्षसम्मको उमेरमा बढी क्षयरोग भेटिने गरेको छ। यो समूह धेरै नै चलायमान हुन्छ। चाहे जेसुकै कामका लागि किन नहोस्, उनीहरु एक ठाउँबाट अर्को ठाउँमा गइरहेका हुन्छन्।
अहिलेसम्मको तथ्याङ्क हेर्दा पुरुषहरुमा धेरै संक्रमण पुष्टि भएको छ। हुन त हरेक व्यक्तिको घरघरमा पुगेर खकार परीक्षण गरेर रोग पत्ता लगाएको भए यकिन हुन्थ्यो। तर अहिलेसम्मको तथ्याङ्कको आधारमा पुरुष धेरै चलायमान हुने हुनाले बढी मात्रामा देखिएको हुन सक्छ।
तर महिलाहरु अहिले पनि कम मात्रामा मात्रै यो रोग देखाउन जाने गरेका छन्। त्यसकारणले पनि महिलामा कम देखिएको हुनुपर्छ।
सर्ने र नसर्ने क्षयरोगमा फरक के छ र यसको उपचार कसरी गरिन्छ?
सबै किसिमको क्षयरोगको उपचार गर्नुपर्छ। चाहे त्यो सर्ने अवस्थाको क्षयरोग होस् वा नसर्ने अवस्थाको। क्षयरोगको उपचार गर्नै पर्छ।
सबै प्रकारका क्षयरोगका औषधि एउटै हो। क्षयरोग जहाँ भए पनि उक्त बिरामीले उपचार पाएन भने अर्को अङ्गमा सर्ने हुन्छ। र, अरुलाई पनि सार्न सक्ने भएका कारण उपचारको प्रक्रिया फरक हुँदैन।
सुरु–सुरुमा विकसित देश र नेपाल जस्तो कम विकसित देशहरुमा उपचार प्रक्रिया फरक थियो। फोक्सोका लागि चार वटा औषधि दिइन्थ्यो भने तीन वटा औषधि नसर्ने क्षयरोग भएकालाई दिने गरिन्थ्यो। त्यसमा पनि बिरामीको गम्भीरता हेरेर चार वटा नसर्ने क्षयरोगका बिरामीलाई पनि दिइन्थ्यो।
तर अहिलेको अवस्थामा संसारभर नै सबैलाई सम्मान रुपमा उपचार गरिँदै आएको छ। त्यस्तै फोक्सोको क्षयरोगमा खकार जाँच्दा सीधै क्षयरोगको कीटाणु देखापर्छ। त्यस्तो व्यक्तिले आफ्नै जिउमा पनि सार्न सक्छ। त्यस्तो व्यक्तिले स्वास फेर्दा वा खोक्दा क्षयरोग सार्ने सम्भावना धेरै हुन्छ।
जो जहाँ बसे पनि वा बसाइ सरेरै अर्को ठाउँ गए पनि क्षयरोग सर्ने रोग हो र यो लागेको व्यक्तिबाट अरुमा सर्छ नै। जबसम्म यसको उपचार सुरु हुँदैन तबसम्म यो खतरनाक अवस्थामै रहिरहन्छ। त्यसकारणले क्षयरोग अरुमा नसरोस् भन्नका लागि बिरामी आफैले पनि ध्यान पु¥याउनु पर्छ।
नेपालमा अहिले क्षयरोगको अवस्था कस्तो छ?
२०३५ सालदेखि अहिलेको अवस्थामा क्रमिक रुपमा मृत्युदर घटेको छ। रोग पत्ता लगाउने प्रक्रिया बढेको छ। औषधि प्रचुर मात्रामा उपलब्ध छ। सरकारले प्राथमिकता प्राप्त कार्यक्रममा राखेको हुनाले क्षयरोगको हरेक गाउँ–गाउँ, समुदाय–समुदायका स्वास्थ्य चौकी तथा उप–स्वास्थ्य चौकीमा औषधि पुगेको छ।
रोगको लागि निदान गर्ने प्रविधि पनि हरेक जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा र कतै कतै स्वास्थ्य चौकीहरुमा पनि उपलब्ध भएकाले पहिलाको तुलनामा अहिले मृत्युदर घट्नु नै ठूलो कुरा हो।
समाजमा लुकेर बसिरहेका क्षयरोगका बिरामीहरु अहिले स्वतः जहाँ जहाँ स्वास्थ्यका निकायहरु छन्, त्यहाँ त्यहाँ जाने गरेका छन्।
यसको मतलब यो रोगलाई लिएर मानिसहरुको सोचाइमा परिर्वतन आएको हो?
यो रोगप्रति सामाजिक अवधारणा परिर्वतन भएको छ। पहिला पहिला यसलाई पाप भनिन्थ्यो। यो कीटाणुबाट सर्ने रोग भन्ने थाहा हुँदै गएपछि अहिले उपचारको प्रक्रिया औषधिहरु हरेक वर्ष जस्तै नयाँ औषधिहरु यसको लागि आएको हुनाले अहिले पनि यो स्वास्थ्यको समस्या हो।
मानिसको जीवन बचाउनका लागि जे जति छ, हामीले यसमा लगानी गरौँ, जसले मानिसको जीवन बच्छ। मानिस जीवित रहे, सबै रहन्छ।
सरकारले सन् २०३५ सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ? तपाईं यो सम्भव देख्नुहुन्छ?
यो ‘इटरमिडियट’ कार्यक्रम हो। सन् २०५० सम्ममा हामीले उन्मूलन नै गर्ने भनेर प्रतिबद्धता गरेका छौँ। क्षयरोग अधिकाशंको फोक्सोकै हुन्छ। कोरोना भाइरसको संक्रमण पनि फोक्सोमै भएको थियो। एचआईभी एड्सदेखि लिएर जति पनि नसर्ने रोगको जटिलता भएन भने उन्मूलन हुन्छ।
तर नेपालको सामाजिक संरचना अर्कै छ। अमेरिकाको अर्कै छ। जापानको अर्कै छ। उनीहरुको स्तर अर्कै छ। सोच अर्कै छ। त्यसकारणले पनि नेपालमा सरुवा रोगका कारण १० लाख मानिसको मृत्यु हुने गरेको छ।
विश्वमा ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिकालाई क्षयरोग लाग्ने गरेको छ। यसमध्ये करिव ५० लाख बिरामी एक–अर्कालाई रोग सार्ने अवस्थामा अहिले पनि छन्।
यस्तै विश्वमा करिव ३० लाख मानिसको हरेक वर्ष क्षयरोगकै कारण मृत्यु हुने गरेको छ। यसका लागि हामीले रोग पत्ता लगाउनका लागि नयाँ उपकरण खोज्न पर्यो। संसारभर क्षयरोगको उपचार गर्ने प्रविधि एउटै हो। औषधि पनि एउटै हो। अमेरिकामा पाउने औषधि नेपालमै पाइन्छ। बिरामीलाई औषधि खुवाउने तरिका पनि त्यही नै हो।
त्यसकारणले सम्भव होला वा नहोला। तर हामी सबै लाग्यौँ भने सम्भव हुन सक्छ। तर यसका लागि देशमा बलियो संरचना चाहिन्छ। संस्था बलियो हुनुपर्छ। नेतृत्व मजबुत हुनुपर्छ। नागरिकको स्वास्थ्य भनेको सर्वोपरि हो भन्ने कुरा बुझ्न अत्यन्तै जरुरी छ। हाम्रो उद्देश्य सन् २०३५ वा २०५० सम्ममा उन्मूलन गर्ने हो। उल्मूलन भनेपछि एक लाखमा एक जना व्यक्ति पनि क्षयरोगी हुनु हुँदैन। यो कुरा संसारमा सम्भव भएको छ। नेपालमा सम्भव किन नहोला? तर हामी अर्कै कुरामा अल्मलिएका छौँ। स्वास्थ्यलाई सर्वोपरि मान्नु पर्छ, कुनै पनि राष्ट्रले।