
काठमाडौँ – ०७२ सालको भूकम्पबाट भत्किएको पाटनको भीमसेन मन्दिर स्थानीय बासिन्दाकै लागत र सक्रियतामा पुनर्निर्माण सम्पन्न भएको छ।
मन्दिरको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
उक्त अवसरमा प्रधानमन्त्री देउवाले स्थानीय स्रोतसाधन र सीप प्रयोगबाटै सम्पदा निर्माण कार्य गरिनुले सरकारलाई समेत गतिलो पाठ ललितपुर महानगरपालिकाले सिकाएको बताए। यो यस्तो असल अभ्यास अन्यन्त्र पनि प्रयोग गर्दै लैजाउनुपर्नेमा जोड दिए। ‘सम्पदा भनेका देशका सम्पत्ति र गौरव हुन्, यी बचाउन सरकारसँगै स्थानीयको पनि उत्तिकै जिम्मेवारी र सक्रियता आवश्यक हुन्छ’, उनले भने।
मल्ल राजा योगनरेन्द्रको पालामा बनेको यो मन्दिर साढे दुई सय वर्ष पुरानो मानिन्छ। स्थानीय बासिन्दा, उद्योग वाणिज्य संघ ललितपुरको आर्थिक सहयोगमा र ललितपुर महानगरपालिकाको अगुवाइमा मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको हो।

मन्दिरभित्र रहेको भीमसेन देवताको मूर्ति। तस्बिरः गोविन्द लुइँटेल/देश सञ्चार।
मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष कृण्णलालहर्जनका अनुसार चन्दा संकलनबाट पाँच करोड जम्मा भए पनि मन्दिर पुनर्निर्माण कार्यका लागि ४ करोड ३९ लाख खर्च भएको छ। ०७५ साल माघ ७ देखि मन्दिर पुनर्निर्माण सुरु गरिएको थियो। तर दुई वर्षमा सक्ने भनिएपनि कोभिड १९ का कारण तीन वर्षमा मन्दिर पहिलेकै अवस्थामा फर्किएको छ।
निर्माण समितिका अध्यक्ष महर्जनले सम्पदाहरुको संरक्षण गर्न विदेशी दाता र सरकारकै मुख ताक्न पर्दैन भन्ने सन्देश दिन मन्दिर पुनर्निर्माणले मूत रुप दिएको बताए। ‘विदेशी र सरकारको एक पैसा नलिइकनै सम्पदा निर्माण भएको छ। मुलुकका सम्पदा निर्माणमा नयाँ अध्याय थपिएको छ’, उनले भने।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सम्पदा संरक्षण गर्नका लागि सरकार र विदेशीको भर पर्नु हुँदैन, निर्माण तथा संरक्षण गर्नु हामी आफैको दायित्व भएको बताए। स्थानीय बासिन्दा र निजी क्षेत्रको सहकार्यमा महत्वपूर्ण भीमसेन मन्दिर पुनर्निर्माण कार्य सम्पन्न हुँदा हामीले हाम्रा सम्पदा जोगाउन सक्छौं भन्ने उदाहरण प्रस्तुत भएको उनकाे भनाइ छ।
मन्दिरको प्राविधिक कार्य काठमाडौँ भ्याली प्रिजरभेसनले गरेको हो। मन्दिरको छानामा परम्परागत रुपमा तामाको पाता लगाइएको छ। मन्दिरलाई चाहिने ४२ लाख रुपैयाँ बराबरको इँटासमेत स्थानीयले चन्दा दिएका छन्।

मन्दिरभित्र रहेको शिलापत्र/तस्बिरः गोविन्द लुइँटेल।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाटन दरवार क्षेत्रका अन्य सम्पदाहरुको सरकारबाट पाँच वटा टेण्डर भइसकेको तर मन्दिर अझ बन्न नसकिरहेको अवस्थामा भीमसेन मन्दिर सरकारबाट पैसा नलिइकनै विनाटेण्डर स्थानीय कालिगढ प्रयोग गरी गुणस्तरीय हिसाबले समयमै सम्पन्न भएको बताए।
उनले भने, ‘मन्दिर निर्माणमा हामीले उच्च गुणस्तर कायम गरेका छौं, कसैले प्रश्न उठाउन सकेको छैन। जनस्तरबाटै सम्पदा पुनर्निर्माण गर्दा बढी दिगो र स्थानीयको अपनत्व पनि हुन्छ। यो अभ्यास अन्यन्त्र पनि स्थानीय तहले गर्न सक्छन् भन्ने सन्देश हामीले दिएका हौं’, उनले भने।
भीमसेन मन्दिरमा रहेको शिलालेखअनुसार योगनरेन्द्र मल्लले मन्दिरमा सन् १७०२ मा भीमसेनको मूर्ति स्थापना गरेका थिए।
भीमसेनलाई नेवार र व्यापारीहरुले आराध्य देवको रुपमा मान्दै आएका छन्। आठ मणि देवतामध्ये भीमसेनलाई भैरवको अर्काे रुपको रुपमा समेत लिइन्छ। पाटनको भीमसेन मन्दिरले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भिंद्यः जात्रा निकालिन्छ। भिंद्यःलाई व्यापारीले शुभ देवताका रुपमा पुज्ने गर्छन्।
नेवारी समुदायले यस देवतालाई शुभ र शक्तिको प्रतीक मान्दै आएका छन्। यो जात्रालाई भीमसेनजात्रा पनि भनिँदै आएको छ। यो जात्रासँग भीमसेन मन्दिरको साइनो छ।