
बुटवल – पार्टी प्रवेश, उद्घाटन र कार्यकर्ता भेलाका दुई दिने कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली रूपन्देही आउँदैछन्।
एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारीअनुसार रूपन्देही र कपिलवस्तुमा हुने कार्यक्रममा ओली सहभागी हुनेछन्।
एमाले कपिलवस्तुले ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ।
कपिलवस्तुमा प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्नेछन्।
एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले सोमबारको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानीय तहमा एमालेले पकड जमाउन सक्षम भएको सन्देश दिने बताए।
चुनावी सभामार्फत संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १ मा अन्य पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमालेले जनाएको छ।
यसअघि अध्यक्ष ओलीले सोमबार बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।
भैरहवाको कार्यक्रम सकेर दिउँसो उनी तौलिहवा जानेछन्। साँझ फर्केर बुटवल बस्ने एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए।
त्यस्तै मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उदघाटन कार्यक्रम र दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपाबाट निर्वाचित तीनजना वडाध्यक्ष, एक दर्जन वडा सदस्यका जनप्रतिनिधिसहित ठूलो संख्यामा एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।