
बुटवल– लुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धनले पार्टीका जिल्ला समितिहरूसँग स्थानीय तहको निर्वाचनबारे विश्लेषण मागेको छ।
बिहीबार साँझ पाँचदलीय गठबन्धनका प्रदेशस्तरीय नेताहरूको बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा व्यवहारमै गठबन्धन कायम गर्न चैत २६ गतेभित्र धरातलीय अवस्था पठाउन जिल्लालाई निर्देशन दिने निर्णय गरेको हो।
स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन बलियो तथा मजबुत बनाउन नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने निर्णयसमेत बैठकले गरेको छ।
लुम्बिनी प्रदेशका १०९ स्थानीय तहको निर्वाचनमा मत विश्लेषणका आधारमा सम्मानजनक रूपमा सिट बाँडफाँट गरिने नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरीले बताए। प्रदेशस्तरीय गठबन्धनको चुनावी कार्ययोजनासहित आगामी बैठक चैत २७ गते अर्को बैठक बस्ने निर्णय भएको नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए ।
माओवादी केन्द्रका लुम्बिनी इन्चार्ज चक्रपाणि खनाल, मुख्यमन्त्री कुलप्रसाद केसी सहितको बैठकमा नेपाली कांग्रेस काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोककुमार यादव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी उपाध्यक्ष बद्री आलमको उपस्थिति थियो।
यसअघि बुधबार गठबन्धनको बैठकले संयुक्त आमसभा गर्ने गरी लुम्बिनीमा पाँचदलीय गठबन्धन कायम गर्ने निर्णय गरेका थिए। नेकपा एकीकृत समाजवादीबाहेकको गठबन्धन बनेको भन्ने चर्चा झुट रहेको र प्राविधिक कारणले बैठकमा उपस्थित हुन नसकेपछि विज्ञप्तिमा हस्ताक्षर छुटेको भन्दै सबै दलबीच बैठक बसेकाले लुम्बिनीमा गठबन्धनमा कुनै खटपट नरहेको कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले बताए।