
बुटवल – नेकपा एमालेले रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम जिल्लामा सिफारिश गरेको छ।
एमाले बुटवल उपमहानगर कमिटिले बुटवलको प्रमुखमा बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिश गरेको हो।
उपमहानगर कमिटिले चर्चामा आएका सबै नाम पठाएको हो। यस्तै उपप्रमुखमा ज्ञानु केसी, खेम लुईटेल, मधुकला कुँवर र कल्पना थापाको नाम पठाएको छ।
१९ वडा रहेको बुटवलमा एमालेले २०७४ को स्थानीय निर्वाचनमा प्रमुख, उपप्रमुखसहित १६ वडामा जित हासिल गरेको थियो।
तिलोत्तमा नगरपालिकाको प्रमुख पदको लागि चार जनाको नाम सिफारिस भएको छ।
एमाले तिलोत्तमा नगर कमिटीको बैठकले प्रमुखमा बहालवाला प्रमुख बासुदेव घिमिरे, निवर्तमान नगर अध्यक्ष मोहन चापागाई, क्षेत्र नं १ इन्चार्ज यज्ञ गैरे र मजदुर नेता दिनेश फुल्लेलको नाम सिफारिस गरेको छ।
एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेका अनुसार उपप्रमुख बहालवाला उपप्रमुखमा जागेश्वरदेवी चौधरी, देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफारिस भएको छ।
१७ वडा रहेको तिलोत्तमामा गत निर्वाचनमा एमालेले प्रमुख, उपप्रमुखसहित १३ वडामा जित हासिल गरेको थियो।
यस्तै सिद्धार्थनगर नगरपालिकामा एमालेबाट प्रमुखमा आठ जना सिफारिस भएका छन्।
जसमा भरत पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा। रामप्रसाद बस्याल, राजेन्द्र पन्थी, जीवलाल अर्याल, अर्जुन गिरी र हरिप्रसाद अधिकारीको नाम सिफारिस गरिएको नगर सचिव नारायणप्रसाद भण्डारीले बताए।
अधिकारी बहालवाला प्रमुख हुन्। उनी विगतमा माधव नेपाल पक्षमा खुलेका भएपनि दल रोज्ने समयमा एकीकृत समाजवादी रोजेका थिएनन्।
उपप्रमुखमा भने तीन जनाको नाम सिफारिस गरिएको छ। जसअनुसार उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको छ।
सिद्धार्थनगरमा गत निर्वाचनमा एमालेले प्रमुख, उपप्रमुखसहित बहुमत वडामा जितेको थियो। एमाले विभाजन भएपछि उपप्रमुख उमा काफ्लेले एकीकृत समाजवादी रोजेकी थिइन्।