
बुटवल – आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले गुल्मीका केहीपालिकामा उमेदवारको टुंगो लगाएका छन्।
एमालेले रेसुंगा र मुसिकोट नगरपालिका तथा कालिगण्डकी गाउँपालिकामा प्रमुखको उम्मेदवार टुंगो लगाएको छ भने कांग्रेसले मुसिकोट, माओवादीले चन्द्रकोट, रुरु, धुर्कोट र गुल्मीदरबार गाउँपालिकामा उमेदवार सिफारिश गरेको छ।
एमालेले रेसुंगामा इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेय, मुसिकोटमा जीवन खरेल र कालिगण्डकीमा रामजी ढकाललाई पालिका प्रमुखको उम्मेदवार सिफारिस गरेको छ।
नेपाली कांग्रेसले मुसिकोटमा हरिनारायण सापकोटालाई नगरप्रमुखको उम्मेदवार छनोट गरेको छ।
नेकपा (माओवादी केन्द्र) ले चन्द्रकोटमा युवराज केसी, रुरु क्षेत्रमा यदु ज्ञवाली, धुर्कोटमा भुपाल पोख्रेल र गुल्मी दरबारमा पुनाराम ज्ञवालीलाई गाउँपालिका प्रमुखको उम्मेदवारमा सिफारिस गरेको माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए।
जिल्लाका विभिन्न पालिकामा प्रमुखहरूको उम्मेदवार सिफारिस भएपनि उपप्रमुखहरूको भने चर्चा छैन।
गुल्मीमा १२ वटै स्थानीय तहमा कुनै पनि दलले उपप्रमुखको नाम टुंगो लगाएका छैनन्।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दल नेतृत्व पाएका तहमा गठबन्धनकै दलबाट उपप्रमुख र उपाध्यक्षको सिफारिश हुने बताउँछन्।