प्रतिज्ञा पत्रमा लेखिएका सबै कुरा पाँच वर्षमा गरेरै देखाइदिने छौँ: समीक्षा बास्कोटा (भिडियो)

+
-

समीक्षा बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशीको पूर्व संयोजक र अहिले  केन्द्रीय कार्य सम्पादन समितिकी सदस्यसमेत हुन्। बास्कोटाले काठमाडौँ स्कूल अफ लबाट कानुनमा स्नातक र अमेरिकाबाट स्नातकोत्तर गरेकी छन्। कानुन व्यवसाय तथा उद्यमीका रुपमा विगतमा क्रियाशील रहे पनि अब जीवनमा राजनीतिलाई निरन्तर अगाडि बढाउने उनको अठोट छ।

उनी ०७४ सालको प्रदेशसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १ क बाट उम्मेदवार थिइन्। काठमाडौँको मेयर पदका लागि पार्टीले उम्मेदवार बनाएपछि उनले भनिन्, ‘झुटा आश्वासन दिएर जनतालाई झुक्याउने छैनौँ। जे–जे कुरा घोषणा पत्रमा लेखेका छौँ, त्यो पूरा गरेरै देखाउनका लागि एक पटक मौका हामीलाई दिनुहोस्।’

मेयर पदका लागि निर्वाचन आयोगमा उम्मेदवारी दिने तयारी गरिरहेकी बास्कोटासँग गरेको विस्तृत कुराकानीः

तपाईं ०७४ सालमा प्रदेशसभामा क्षेत्र नं.१ बाट पनि उठ्नु भयो? अहिले फेरि महानगरपालिकाको मेयर पद नै किन छान्नु भयो?

प्रदेशसभाको निर्वाचनमा पनि मैले सम्मानजनक मत प्राप्त गरेकी थिएँ। महानगर नै किन त भन्ने ममाथि धेरैले प्रश्न गरिरहेका छन्। महानगरमा एउटा बवल आउँछ अनि हराउँछ। मैले हिजो राजनीति सुरु गरेको थिएँ। अब भने परिर्वतन र निरन्तरताको रुपमा राजनीतिलाई लैजान उम्मेदवारी दिन लागेकी छु।

हामीले काठमाडौँ महानगरलाई राजनीतिको केन्द्रमा राखेर हेरेका छौँ। संस्कृति होस् वा नेवा: कलाको हिसाबले पनि देशभरिबाटै काठमाडौँलाई महत्वका साथ हेरिन्छ। हाम्रो पार्टीले काठमाडौँलाई केही गर्न सक्यो भने देशभरि नै सन्देश  जान्छ।

हामीले परिकल्पना गरेको महानगर यस्तो हो भनेर देखाउने मौका पाउँछौँ। काठमाडौँलाई व्यवस्थित सहर बनाउनका लागि हामीले पहल गरेका छौँ। हामीले प्रतिज्ञापत्रमा उल्लेख गरेका कुराहरु गरेर देखाउने हिसाबले पनि यसलाई लिएका छौँ।

मतदातालाई कसरी आकर्षित गरी भोट माग्न जाँदै हुनुहुन्छ?

विगतमा हाम्रो पार्टी दर्ता नभएको अवस्थामा पनि स्वतन्त्र उम्मेदवारलाई मत दिएबाटै यहाँका मतदाताहरुले परिर्वतन चाहिरहेका भन्ने कुरा थाहा हुन्छ। हाम्रो पार्टीका अध्यक्षलाई पनि महत्वपूर्ण मत दिए राजधानीबासीले। भइरहेका दलको विकल्पमा अरु दल आइदिए हुन्थ्यो भन्ने जनतालाई लागेको छ।

वैकल्पिक दलहरु पदमै बसेर सेवा र विकास गरुन् भन्ने चाहिरहेका छन्। म आफै त्यसबेला राजनीतिमा भरर्खर मात्रै प्रवेश गरेकी थिएँ। त्यसबेला मैले चार हजार ३ सय मत पाएर तेस्रो स्थान हात पारेको थिएँ। त्यसले पनि परिर्वतनको लागि मतदाताहरु तयार हुनुहुन्छ भन्ने देखाउँछ।

यो पाँच वर्षमा उहाँहरुले जे परिर्वतन चाहनुभएको थियो। जनप्रतिनिधि जो सय दिनमा सय काम गर्ने भनेर प्रचारवाजी मात्रै गरे। त्यसमा उहाँहरुले स्थानीय बासिन्दालाई के चाहिँ दिए भन्ने कुरा हेरिरहेका छन्।

लोकतन्त्रमा सबैभन्दा बढी शक्ति नागरिकमा हुन्छ। कसैले गरेको वाचा पूरा भएको छैन भने यो अवसरको रुपमा लिनुपर्छ। परिर्वतन महानगरवासीले चाहेको छ।

निश्चय नै यहाँका मतदाता निकै सचेत र सूसुचित हुनुहुन्छ। पाँच वर्षमा के भयो र के हुनुपर्ने थियो उहाँहरुले बुझिसक्नुभएको छ। हामीले जनतालाई झुटा वाचा गर्ने छैनौँ।

तपाईं देश विदेशमा उच्च शिक्षा हासिल गरेको मान्छे, राजनीतिमा कसरी रुची जाग्यो? परिवारको साथ र हौसलाले हो वा आफ्नै उद्देश्यबाट प्रेरित भएर हो?

अमेरिकामा उच्च शिक्षा हासिल गर्न जाँदा नै म नेपाल नै फर्किन्छु भन्ने स्पष्ट थिएँ। त्यहाँ संभावना धेरै थिए, तर म नेपाल फर्किएँ। कानुनको विद्यार्थी म व्यवसाय गरेँ, तर यस्ता काम गर्दा दैनन्दिनका हरेक क्रियाकलापमा राजनीति छोइएको अनुभव भयो। आफ्नो पेशा गरेर खुसी भएर बस्ने अवस्था रहेन। सागदेखि नुनसम्म राजनीतिले छोएको छ। तर सक्षम युवा राजनीतिमा आकर्षित नहुने अवस्थाले पनि देश बिग्रिएको छ।

समीक्षा बास्कोटा।

जग बलियो भएन भने घर बलियो हुँदैन। राजनीति गर्ने धरातल बलियो भएन र राम्रा व्यक्ति भए पनि पद्धतिको फलो भएन र पारदर्शितालाई ख्याल भएन। उत्कृष्ट व्यक्तिलाई राजनीतिमा ल्याउन चाहनुभएन, परिवारवाद हावी छ। मुख्य पार्टीमा यस्तो समस्या देखिएको छ। राजनीति सफा गर्ने भनिए पनि फोहोरी खेल भनेर प्रवेश निषेध छ। जो सफा गर्ने भन्दछ, फोहोरमा हाम फाल्नै चाहँदैन। सफा गर्ने हो भने फोहोरको नालीमा पस्नु पर्छ भनेर म राजनीतिमा आएको हो। अहिलेको राजनीति सुसंस्कृत बनाउन हामी त्यही नालीमा टेकेर उर्जाका साथ काम गरिहेका छौँ।

राजनीतिलाई सुसंस्कृत बनाउने भनेर भनिरहनुहुन्छ तर तपाईंको पार्टी पनि अरु झैं टुटफुट र विभाजनको गोलचक्करमा परिरह्यो नि? तपाईंको पार्टीको पहिलेको चामसमेत हराइसकेकाले अब जनतालाई आकर्षित गरी मत पाउन कठिन छ भनिएको छ नि?

हामीले राजनीतिक दललाई कसरी हेर्दछौँ भन्ने कुरा हो। दलले यही समाज र देशमा काम गर्ने हो। ठूला दलमा के कस्ता खेल देखिरहेका छौँ, हामी हुर्केको समाजको चरित्र के कस्तो छ त? हामी वैकल्पिक र सुसंस्कृत राजनीति गर्दछु भनिरहँदा कसैले कल्पनै गर्न नसक्ने व्यक्ति मात्रै यहाँ आउने होइन। समाजले जे जस्तो चरित्र सिकाएका व्यक्ति छन्, तिनीहरु नै यहाँ आउने हो।

एउटा घरमा दाजुभाइ त मिलेर बस्न सकेको हुँदैन। त्यो चरित्र राजनीतिमा पनि हुन्छ। इमान्दार व्यक्ति मिलेर केही गरौ भन्ने भावनाले हिँड्दा विभिन्न विचारको विमति भयो। विचारको विमतिलाई लिएर केहीले बाहिर मिडियाबाजी पनि गरे। कोही भित्र बसेरै संघर्ष गरिरहेका छन्। यसलाई राजनीतिक दल विकासको क्रममा छ भनेर हेरेको छु।

त्यसबाट हामी कति पनि विचलित भएका छैनौँ। विचारको विमति हुन्छ तर त्यसबाट हामी तल गिर्दै गर्दा फेरि हाम्रो दललाई उठाउन सक्छौँ कि सक्दैनौँ। उठाएर हामीले कहाँसम्म लिएर जान्न सक्छौँ। यो महत्वपूर्ण पाटो हो।

तपाईंको आफ्नै पार्टीमा उम्मेदवारी सर्वसम्मत छैन, विवाद छ भनिएको छ? यसले तपाईंलाई जित हासिल गर्न अप्ठयारो वा बाधा पार्छ कि?

पार्टीको कार्यसम्पादन समितिका सबै सदस्यले सहमति जनाएपछि मेरो उम्मेदवारीको निर्णय भएको हो। पार्टीभित्रका केही साथीहरुले मलाई व्यक्तिगत रुपमा मन पराउनु हुँदैन, वा चाहनु हुन्न भने त्यो उहाँहरुको कुरा हो।

म उहाँहरुलाई भन्दछु– व्यक्ति प्रधान होइन, पार्टी प्रधान होइन, पार्टी देश प्रधान हो। उहाँहरुले व्यक्ति हेरेर आफ्नै पार्टीप्रति घात गर्नुभयो भने वैकल्पिक र सुसंस्कृत राजनीति गर्न चाहिँ अलि कठिन हुन्छ कि!

त्यसो भए विवेकशील साझा पार्टीको शाख जोगाउँछु भन्ने साहस तपाईंमा छ?

हाम्रो पार्टीलाई वैकल्पिक शक्ति बनाउनु पर्छ। यसले डेलिभरिको एजेण्डा उठाएको छ। तन्त्र–मन्त्रभन्दा डेलिभरिको कुरा चाहिँ उठाउँछ। राजनीतिले परिवारलाई होइन, भोका नाङ्गा नागरिकले सेवा, गुणस्तीय शिक्षा, स्वास्थ्य पाएका छैनन्। ती नागरिकको घरमा परिर्वतन हुनु पर्‍यो।
हामीसँग निर्वाचन लड्न पैसा छैन, तर विकृत र भ्रष्टाचारले गाँजिएको राजनीतिलाई सफा गर्ने क्षमता छ। दृढ चाहना छ।

विवेकशील साझालाई मात्रै उर्जा थप्ने होइन युवा पुस्तालाई राजनीतिमा आउन प्रेरित गर्ने हो। भनिएका ठूला र भ्रष्ट दललाई  तपाईंहरु मैदान छोडेर बाहिर निस्किनुहोस्। पैसा बिना पनि राजनीति हुन्छ। ६ करोड वा २० करोडको धाक नलगाउनुहोस् भन्नका लागि पनि हामी राजनीतिमा आएका हौँ।

काठमाडौँ महानगरपालिकाका ३ लाख २ सय ४२ मतदातामध्ये यस पटक कति भोट पाउने आशा गर्नुभएको छ?

वास्तविक मतदातामध्ये निर्वाचनमा भाग लिने संख्या ६० देखि ७० प्रतिशतको हाराहारीमा हुने गरेको छ। काठमाडौँबासीले साच्चिकै परिर्वतन चाहने हो भने यसपटक जनप्रतिनिधिलाई तराजुमा जोखेर भोट दिएमा हामीले अवश्यक जित्छौँ।

काठमाडौँ महानगर राजधानीसँग जोडिएको स्थानीय तह भएपनि केन्द्रको सधैँ छायाँमा परेको छ केन्द्रसँग के कसरी समन्वय गरेर काम गर्नुहुन्छ?

काठमाडौँ राजनीतिको केन्द्र अनि यो छायाँमा पर्‍यो कि पारियो भन्ने सवाल महत्वपूर्ण हो। अहिले मेयर पदमा जो व्यक्ति बस्नुभएको छ, उहाँले यसलाई राजनीतिभन्दा बाहिर गएर काठमाडौँबासी नागरिकलाई सोचेर काम गर्नुभएको भए सायद उहाँ छायाँमा पर्नु हुन्थेन। महानगर पनि पर्ने थिएन। तर सिधै राजनीतिक दलले नियुक्त गरेको एउटा मेयरको रुपमा काम गर्दा उहाँ छायाँमा पर्नुभयो। केही नगरपालिका तथा गाउँपालिकाले राजनीतिक हस्तक्षेपभन्दा माथि उठेर नागरिकका लागि काम गरेका छन्।

उहाँले इमान्दारिताको साथ काम गरिदिएको भए हुन्थ्यो, तर उहाँले टीम बनाउँदा पनि मेरो नजिकको को छ, भनेर नहेरेर उत्कृष्टताका आधारमा पूरै महानगरवासीलाई नै केन्द्रमा राखेर हेरेको भए यो महानगर देशकै नमूना हुन्थ्यो।

कानुनतः अधिकार मेयरलाई छन्, तर  कार्यान्वयन गराउने कुरा आफ्नै हातमा छ। राजनीतिक दलको छायाँमा परेर मेयरले हात बाँधेर बसेपछि त महानगर छायाँमा पर्ने नै भयो नि! त्यसको लागि आफ्नो इच्छा शक्ति हुनुपर्‍यो। कानुन परिपालन गर्दै पद्धति बसाउनु पर्‍यो। उत्कृष्टताका आधारमा सबै संरचना बनाउन पर्‍यो। सबै कामहरुलाई डिजिटलाइज गर्ने हो भने सेवाग्राहीले छिटो सेवा पाउन सक्छन्।

यस्ता साना कुरा छन्, जसले महानगरवासीहररुको जनजीवनमा परिर्वतन ल्याउन सकिन्छ। त्यसमा ध्यान दिने हो भने देशकै नमुना महानगर बन्छ।

महानगरमा हिजोका जनप्रतिनिधिले नगरेका के–के कुरा तपाईंले गर्न खोज्नुभएको छ?

म जितेपछि पार्टीकै मेयरको रुपमा बस्दिनँ। म महानगरबासीको मेयरको रुपमा काम गर्छु। यहाँ बिग्रिएका नदीनाला, खुल्ला क्षेत्रहरु कहाँ छन्, पहिचान गरेर त्यसलाई व्यवस्थित गरिने छ। सहरलाई वृद्धदेखि बालबच्चासम्म सबैको बनाउन आवश्यक काम गरिने छ।

काठमाडौँ सहर कला, संस्कृति र मठ मन्दिर, धर्म संस्कृति सबैले भरिएको छ। सहरका समस्याहरुको समाधान पहिल्याएर के– के गर्न सकिन्छ गर्दै लगिने छ।

सहरको सार्वजनिक यातायात, बजार, हरियाली क्षेत्र, कला र संस्कृति, पैदल मार्ग, पूर्वाधार पुनर्निर्माण आदिमा महानगरले प्रभावकारी हस्तक्षेप खोजेको पाइन्छ, त्यसमा के गर्ने योजना तपाईंको छ?

हामी त्यो ठाउँमा पुगेपछि महानगरले समन्वय गर्ने ठाउँ पनि छन्। सडक निर्माणमा सडक विभागसँग पनि कार्यक्षेत्र र नीतिगत रुपमा समन्वय गर्नु पर्ने अवस्था छ। संघीय मन्त्रालय र सरकारसँग पनि सँगै अगाडि बढ्नु पर्ने हुन्छ।

साझा यातायात झैं पब्लिक प्राइभेटसँग समन्वय गर्नुपर्ने हुन्छ। विद्युतीय यातायातमा पनि यो मोडल ल्याएर व्यवस्थित गर्न सक्छौँ। खुल्ला क्षेत्र पहिचान गरी सबैको पार्क बनाउन सक्छौँ। बालबालिकाको लागि खेल्ने ठाउँ विस्तार गर्न सकिन्छ। खोला नदी नाला आदिको संरक्षणका कार्य पनि साथै अगाडि बढाउन सकिन्छ। नदीहरुको छेउछाउमा सिमेन्टको पर्खाल लगाइएको छ। मृत भइसकेका नदीहरु समेत नयाँ संरचनामा पुनर्जिवित गरेको उदाहरण अन्य देशमा छन्।

महानगरको मेयरको कुर्सीमा बस्दा खोला नाला नदी वातावरण मुख्य कुरा हुन्, यी बाँच्ने मुख्य आधार भएकाले संरक्षण गर्न मुख्य ध्यान दिइने छ। यहाँको माटो अनि प्रकृतिलाई माया नगरिकन र वातावरण नबचाइकन महानगर बन्न सक्दैन।

महानगरमा सार्वजनिक शौचालय छैन, बालबच्चाहरु समस्यामा पर्ने गरेका छन्। हामीले पहिलो वर्षमै ५० वटा सार्वजनिक शौचालय बनाउने छौँ। यस्ता मसिना विषयमा हामीले ध्यान दिएर व्यवस्थित शहरको रुपमा विकास गर्नेछौँ।

०७४ सालको स्थानीय तहको निर्वाचनको घोषणा पत्र र अहिले खास के–के कुरा नयाँ ल्याउनुभएको छ?

०७४ सालमा हामी देशव्यापी रुपमा लगिएको घोषणा पत्र हो। अहिले प्रतिज्ञा पत्रमा हामीले गर्न सकिने विषय मात्रै राखिएको छ। स्वास्थ्य र शिक्षा राज्यको दायित्व हो। त्यसअनुरुप हामीले वडामा स्वास्थ्य क्लिनिक सञ्चालन गर्नेछौँ।

नेवारी सम्पदा बचाउने र त्यसलाई पुनर्जागरण गर्ने भनिएको छ। घरबाटै नागरिकलाई सेवा दिन थालेपछि भ्रष्टाचार पनि हुँदैन। यो पटकको घोषणा पत्रमा पाँच वर्षमा गर्न सकिने र साधारण कुरा छन्। हामीले मेट्रो रेल ल्याउँछौँ भनेर भनेका छैनौँ। हामी पदमा पुगेमा ती काम गरेर नै देखाउने छौँ।

तपाईंको पार्टीले महानगरको मेयर र उपमेयरमा महिलालाई उम्मेदवारको रुपमा उठाएको छ। महिलाले महानगरको नेतृत्व गर्दा के फरक पर्दछ?

हामी महिला सशक्त्तिकरणको आवाज उठाउँछौँ। गएको निर्वाचनमा महिला उपप्रमुखमा सिमित बने। महिलाले गर्न सक्छ भन्दछौँ, तर अवसर चाहिँ दिन हिच्किचाउँछौँ। त्यसाई चिर्न पनि मैले उम्मेदवारी दिएको हो।

अन्य दलले पनि अब निश्चित रुपमा महिलालाई उठाउने छन्, हामीले विश्वास लिएका छौँ। हामीलाई अनुशरण गर्दै ठूला दलले पनि चर्चा चलाउनु हाम्रो लागि सुखद् पक्ष हो। यदि उहाँहरुले महिला उम्मेदवार अगाडि ल्याएमा त्यो हाम्रो पार्टीको जित हो।

काठमाडौँ महागरपालिको आन्तरिक आय राम्रो छ, केन्द्र सरकारले पनि राम्रो बजेट दिइरहेको अवस्था छ। तपाईं नेतृत्वको रुपमा आएपछि ती स्रोत केमा कसरी परिचालन गर्नुहुन्छ?

सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्दा नागरिकले सहजता र स्थानीय सरकारसँग नजिकको अनुभूति गर्नेछन्। भ्रष्टाचार नियन्त्रण गरी शून्य सहनशीलता कसरी कायम गर्ने भन्ने कुरा महत्वपूर्ण सवाल हो। भएका ऐन कानुन राम्रोसँग पालन नहुँदा समस्या भएको हो।

मेयरले त्यस्ता नीति कानुन के कति कार्यान्वयन भए भएन भन्ने कुरा हेर्नु दायित्व हो। जनताले सेवा लिन महानगरसम्म पुगेर घुस खुवाउन नपरोस् भन्नेमा हामीले ध्यान पुर्‍याउँने छौँ।

विकासमा दलीय भागवन्डा हुन दिने छैनौँ। अहिले योजनामा पार्टीहरु मिलेर खाइरहेका छन्। दललाई साइड लगाएर महानगरबासीलाई शीरमा राखेर योजना बाँडिने छ। त्यसले पनि एक हिसाबले निकास दिन्छ। भएको बजेटलाई उचित रुपमा व्यवस्थापन गर्नेछौँ।

कतिपय विकसित देशका स्थानीय तहका पदहरुमा जुनसुकै दलबाट जिते पनि निर्वाचित भइसकेपछि त्यो पार्टी वा संस्था छाडेर जनताको लागि काम गर्ने र विकासमा राजनीति घुस्न नदिने अभ्यासलाई नेपालमा कसरी स्थापित गर्न सकिन्छ?

हाम्रो पार्टीले ०७४ सालको निर्वाचनदेखि स्थानीय तह गैरदलीय बनाउने भनेर घोषणापत्रमै भनेको थियो। हाम्रो पार्टीबाट निर्वाचित हुने पदाधिकारीमा पार्टीको ह्वीप लाग्दैन। उहाँहरुले पार्टीलाई भन्दा त्यो क्षेत्रको नागरिकको हितलाई हेरेर काम गर्नु पर्छ। राजनीतिक दबाबमा हामीले काम गर्दैनौँ। हामी नगरलाई कसरी व्यवस्थित गर्ने भन्नेमा केन्द्रित बनेर रिजल्ट पनि दिन सक्छौँ।

तपाईंले जित्ने आधार के हो? हिजोको निर्वाचनबाट के पाठ सिकेर चुनावी प्रचार–प्रसारका कार्यक्रम बनाउनु भएको छ?

हामीले अहिले आफ्नै पार्टीको चुनाव चिन्ह प्राप्त गरेका छौँ। काठमाडौँमा सचेत मतदाता भएकाले के ठीक हो के बेठीक हो हेरेर छनोट गर्ने छन्। आचार संहितालाई पूर्ण पालना गरेर हामी अगाडि बढ्ने छौँ।

यो पनि पढ्नुहोस्

म चुनाव हार्दिन, विश्वास नलागे ‘प्रि–इलेक्सन’ गरेर हेरौँ: बालेन शाह

म चुनाव हार्दिन, विश्वास नलागे ‘प्रि–इलेक्सन’ गरेर हेरौँ: बालेन शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?