
बुटवल– नेकपा एमालेले बुटवल उपमहानगरमा उम्मेदवारी दर्ता गरेको छ। सोमबार दिउँसो प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गरेका हुन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको उपस्थितिमा एमालेका उम्मेद्वारहरूले मनोनयन दर्ता गराएका हुन्। एमालेले बुटवलमा जनमुक्ति पार्टीसँग तालमेल गरेको छ।
एमालेले प्रमुख उपप्रमुखसहित १९ वटै वडामा उम्मेदवारी दिएको छ। पाँच दलीय गठबन्धनबाट मेयरमा खेलराज पाण्डेको उम्मेदवारी परेको छ।
एमालेका प्रमुखका उम्मेद्वार भट्टराई बुटवलमा व्यापारिक पृष्ठभूमिका हुन् भने उपप्रमुख उम्मेदवार अर्याल महिला अधिकारको क्षेत्रमा क्रियाशिल महिला हुन्।
भट्टराई प्रदेश कमिटि सदस्य हुन् भने अर्याल केन्द्रीय सदस्य हुन्। बुटवलमा २०७४ सालको निर्वाचनयता २४ हजारभन्दा बढी मतदाता थपिएका छन्। यसपटकको निर्वाचनमा बुटवलमा ९० हजार ६५ मतदाता छन्।