
रोल्पा(स्थलगत)- गंगादेव गाउँपालिका ५ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार झडप भयो। झडपमा कांग्रेसका २ कार्यकर्ता घाइते भए।
माडी गाउँपालिका ३ तालाबाङमा बिहीबार राति कांग्रेसले सभा गरेर फर्किने क्रममा वडाध्यक्षका उम्मेदवारमाथि माओवादी कार्यकर्ताले रड हाने।
माओवादी नेता कार्यकर्ताहरूले रोल्पामा अरू दलमाथि निरन्तर आक्रमण गरिरहेका छन्।
कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीले गर्ने सभालाई बिथोल्ने, आमजनतालाई सहभागी हुन रोक्नेजस्ता काममा माओवादी कार्यकर्ताहरू लागिपरेका छन्।
कांग्रेस क्षेत्र नम्बर २ रोल्पाका क्षेत्रीय सभापति गोपाल घर्ती माओवादी कार्यकर्ताहरूले चुनावी अभियान सञ्चालनमा पटक-पटक अवरोध गर्दै आएको बताउँछन्।
‘चुनाबी सभा गरेर फर्किँदा हाम्रा उम्मेदवारको गाडी रोकेरै आक्रमण भयो, अरू दलका साथीहरूमाथि पनि आक्रमण भएको छ’,उनले भने।
रोल्पालाई आफ्नो गढको रूपमा बताउने माओवादी यसपटकको स्थानीय निर्वाचनमा एक्लै छ। सशस्त्र द्वन्द्वका बेला विद्रोही विचार बोक्नेहरूको किल्ला मानिने रोल्पामा माओवादी सत्तासीन दलको रूपमा देखिन्छ भने अरू दल विद्रोहीको रूपमा देखिएका छन्।
दशवर्षे सशस्त्र द्वन्द्वका बेला आधार क्षेत्र मानेको रोल्पामा अझै पनि माओवादीको प्रभाव कायमै छ। जसलाई माओवादीले शक्तिका रूपमा प्रदर्शन गर्दै अन्य दलमाथि दबाब कायम राख्दै आएको छ।
अन्य जिल्लामा गठबन्धन गरेका दलले रोल्पामा माओवादीसँग कुनै पनि पालिकामा तालमेल गरेका छैनन्।
२०७४ को स्थानीय तह निर्वाचनमा रोल्पाका १० पालिकाध्ये ७ वटा माओवादी केन्द्र, दुईवटा एमाले र एउटा कांग्रेसले जितेको थियो।
स्थानीय चुनापमा १० पालिकामध्ये ७ वटा पालिका जितेको माओवादी केन्द्रसँग भिड्न अरू दल एकजुट भएका छन्।
रोल्पामा माओवादी इतर मनोविज्ञान
माओवादीले गरेको युद्ध नजिकबाट देखेका रोल्पा नगरपालिकाका सुनिल सुनार माओवादी आन्दोलन असफलतातिर गएको बताउँछन्।
उनले भने, ‘माओवादीले जे भनेको थियो, त्यो काम गरेन। पहिले जे कुराको विरोध गरेको थियो, त्यो काम अहिले आफैँ गरिरहेको छ। रोल्पामा माओवादीको प्रभाव त छ, तर भित्रभित्रै भएको असन्तुष्टि पनि खुलेर बोल्न सक्ने अवस्था छैन।’
चुनावअघि माओवादी नेता कार्यकर्ताको व्यवहार नरम भए पनि चुनावमा एक्लै भएपछि भने आक्रामक भएको सुनार बताउँछन्।
सुनारले भनेजस्तै रोल्पामा माओवादी इतर मनोविज्ञान भुसको आगोजसरी फैलिन थालेको संकेत देखिन्छ। आममानिसमा यसको प्रष्ट भावना नदेखिए पनि दलमा भने माओवादी इतर मनोविज्ञान बढ्दो छ।
रोल्पामा एकीकृत समाजवादी माओवादीप्रति केही नरम देखिन्छ भने अरू दलका नेता कार्यकर्तामा माओवादीविरोधी मनोविज्ञान छ।
युद्धताका भोगेका पीडा र तनाव चुनावमा देखिन्छ। यसले माओवादीविरुद्ध उभिन अरू दललाई बल पुर्याएकाे छ।
माओवादीले रोल्पालाई आफ्नो गढ मान्ने र माओवादीको अभिभावकत्वमा रहनुपर्ने खालका व्यवहार भएपछि अरू दल माओवादीसँग मिल्न नसकेको जानकार बताउँछन्।
रोल्पा कांग्रेसका सभापति किशोर आचार्य माओवादीसँग तालमेल नगर्न जनस्तरबाटै विरोध भएपछि तालमेल नगरिएको बताउँछन्।
‘माओवादीसँग मिलेर जानुहुँदैन भनेर एकदमै विरोध भयो’, उनी भन्छन्, ‘यदि माओवादीसँग मिल्ने हो भने हामी कसैले कुनै पनि पदमा उम्मेदवारी दिँदैनौँ भनेर सबै पालिकाबाट विरोध आएपछि हामी मिलेर जान सकेनौँ।’
उनी माओवादीमा केही दम्भ देखिएकाले पनि समस्या भएको बताउँछन्। उनका अनुसार रोल्पामा माओवादीले आफूलाई शक्तिशाली ठान्छ र त्यही शक्तिको आधारमा अरू दल माओवादीसँग झुक्नुपर्छ भन्ने मानसिकता छ।
एमालेको पनि माओवादीप्रतिको बुझाइ उस्तै छ। एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका रोल्पा नगरपालिकामा प्रमुख पदका उम्मेदवार घनश्याम आचार्य माओवादीले अरू दललाई थिचोमिचोमै राख्ने र अस्तित्व नै स्वीकार नगर्ने अवस्था देखिएको बताए।
‘उहाँहरूले द्वन्द्वकालमा भ्रष्टाचार, नातावाद, चाकडीजस्ता कुराको एकदमै विरोध गर्नुहुन्थ्यो। अहिले उहाँहरू नै त्यही काममा लाग्नुभएको छ’, उनी भन्छन्, ‘यहाँबाट उपप्रधानमन्त्रीदेखि सभामुख, मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू भएका छन्। स्थानीय तहमा पनि ७ वटा जितेका थिए। तर, कुनै पनि सुधार भएन र अरूको अस्तित्व स्वीकार नै भएन। यसैले हामी एकैठाउँ उभिनुपर्ने अवस्था आयो।’
उनको यो भनाइमा माओवादीका नेताहरू पनि केही हदसम्म स्वीकार गर्छन्।
माओवादीबाट रोल्पा नगरपालिकामा प्रमुख पदका उम्मेदवारसमेत रहेका माओवादी जिल्ला समन्वय समितिका संयोजक सुरेन्द्र घर्ती मगर रोल्पामा माओवादीकै प्रभाव रहेकोले अरू दल माओवादीसँग सहमति गरेर जानुपर्ने बताउँछन्।
‘रोल्पा हाम्रो गढ हो। यहाँ हामीले नजिते कसले जित्ने? यहाँ अरू दलका साथीहरू हामीसँग माग्न आउने हो। मागेअनुसार दिने नदिने भन्ने हाम्रो कुरा रह्यो। हामीबाट केही कमीकमजोरी भए होलान्। तर, हामी त्यसलाई सुधार गर्दै जान्छौँ। रोल्पाको विकास हामीले नै गर्ने हो’, उनले भने।
कुन दलको कस्तो अवस्था ?
२०७४ को स्थानीय तह निर्वाचनमा रोल्पाका १० पालिकाध्ये ७ वटा माओवादी केन्द्र, दुईवटा एमाले र एउटा तहमा कांग्रेसले जितेको थियो।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकासहित थवाङ गाउँपालिका, सुनिल स्मृति गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, सुनछहरी गाउँपालिका र गंगादेव गाउँपालिका जितेको हाे।
त्रिवेणी र रूण्टीगढी गाउँपालिकामा एमाले तथा लुङ्ग्री गाउँपालिका अध्यक्षमा कांग्रेसले जितेको हाे।
यसपटक माओवादी केन्द्र एकातिर र अन्य दल कांग्रेस, एमाले, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा अर्काेतिर भएर चुनावी मैदानमा छन्। अन्यत्र, परस्पर विरोधीका रूपमा देखिने कांग्रेस, एमाले र समाजवादी रोल्पामा माओवादीविरुद्ध एकजुट छन्।
माओवादीले जनयुद्धको उद्गमस्थल मान्ने थवाङ गाउँपालिकामा माओवादीविरुद्ध अरू दल मिलेका छन्। कांग्रेस र एमालेबीच माओवादीलाई हराउने उद्देश्यका साथ तालमेल भएको छ। केही स्थानमा अघोषित रूपमा तालमेल भएको छ।
जिल्लाकै एकमात्र नगरपालिका रोल्पा नगरपालिकामा सबै दलले एक्लाएक्लै उम्मेदवारी दिएका छन्। माओवादीबाट सुरेन्द्र घर्ती प्रमुख पदमा उम्मेदवार छन्। यहाँ नेकपा एकीकृत समाजवादीले माओवादीलाई समर्थन गरेको छ। कांग्रेसले शेरबहादुर थापा र एमालेले घनश्याम आचार्यलाई प्रमुख पदमा उम्मेदवार बनाएको छ।
यसअघि माओवादी केन्द्रका पूर्ण केसीले ५ हजार ६ सय ३४ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका लेखनाथ आचार्यले ३ हजार ८ सय २८ मत ल्याएका थिए। एमालेकी मीना शर्माले ४ सय ७८ मत ल्याएकी थिइन्।
माओवादी सशस्त्र जनयुद्धको आधार इलाका मानिने थवाङमा कांग्रेस, एमाले र विप्लव नेकपा एकै ठाउँ छन् भने माओवादीले एक्लै उम्मेदवारी दिएको छ।
माओवादीले ऋषिकेशव बुढामगरलाई अध्यक्षको उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनका प्रत्यासी विप्लव समूहका अमित घर्ती तीन दलका साझा उम्मेदवार छन्।
यसअघि २०७४ को निर्वाचनमा माओवादी केन्द्रका वीरबहादुर घर्ती १ हजार ९ सय ९० मत ल्याएर विजयी भएका थिए। कांग्रेस, एमालेको समर्थन पाएका अमित घर्तीले त्यसबेला १ हजार ५७ मत ल्याएका थिए।
सुनिल स्मृति गाउँपालिकामा माओवादी केन्द्रले मणिराम बुढाथोकी, कांग्रेसले गञ्ज महरा, एमालेले तारा सेन र विप्लव नेतृत्वको नेकपाले कमल थापालाई अध्यक्षमा उम्मेदवार बनाएको छ। यहाँ आन्तरिक रूपमा कांग्रेस र एमालेबीच तालमेल भएको छ। कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने अनौपचारिक सहमति दुई दलबीच छ।
यसअघि सुनिल स्मृतिमा माओवादी केन्द्रका गुणेन्द्र घर्तीमगर ४ हजार १ सय ५५ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका शेरचन महराले ३ हजार ६० र एमालेका खिमचन्द्र पुनले १ हजार १९ मत ल्याएका थिए।
यसअघि माओवादी केन्द्रले जितेको परिवर्तन गाउँपालिकामा यसपटक कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादी एकैठाउँ छन्। यी दलले कांग्रेसका विश्वकुमार चन्दलाई साझा उम्मेदवार बनाएका छन्।
माओवादी केन्द्रले सुकबहादुर बुढामगरलाई अध्यक्षको उम्मेदवार बनाएको छ। यसअघि माओवादी केन्द्रका निमकान्त डाँगीले ४ हजार ६ सय ८ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका झक्कुप्रसाद घर्तीमगरले १ हजार ९ सय ८९ मत ल्याएका थिए भने एमालेका लोकेन्द्र घर्तीले ६ सय ५९ मत ल्याएका थिए।
माडी गाउँपालिकामा पनि माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले र विप्लव समूहले गठबन्धन गरेका छन्। गठबन्धनका तर्फबाट एमालेका विजय घर्तीमगर अध्यक्ष र कांग्रेसका कृष्ण बिक उपाध्यक्ष उम्मेदवार छन्। माओवादीले अमरसिंह घर्तीमगरलाई अध्यक्षको उम्मदवार बनाएको छ।
यसअघि माओवादी केन्द्रका नन्दबहादुर पुनमगर ३ हजार १ सय ८२ मतका साथ विजयी भएका थिए। अघिल्लो निर्वाचनमा कांग्रेस, एमाले र विप्लव नेकपाका गठबन्धनका उम्मेदवार कांग्रेसका गोपाल घर्तीले २ हजार ६ सय ११ मत ल्याएका थिए।
सुनछहरी गाउँपालिकामा पनि माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका छन्। कांग्रेस र एमालेको समर्थनमा विप्लव नेकपाका पुस्तमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
माओवादी केन्द्रले धनबहादुर पुनमगरलाई अध्यक्षमा उम्मेदवार बनाएको छ। उनलाई एकीकृत समाजवादीको समर्थन छ। यो गाउँपालिकामा राप्रपा र मंगोल नेसनल अर्गनाइजेसनले पनि उम्मेदवारी दिएका छन्।
यसअघि सुनछहरी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका आशबहादुर पुनमगर २ हजार ५ सय ५१ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका दुर्गे बुढामगरको १ हजार १ सय ३६ र एमालेकी रिमा सुवेदीले ९ सय ४७ मत ल्याएकी थिइन्।
रोल्पाको अर्को गाउँपालिका गंगादेवमा भने गठबन्धन छैन। कांग्रेसले हरिबहादुर पुनमगर र एमालेले रोशन वलीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। विप्लव समूहबाट केन्द्रीय सदस्य चुडामणि वली उम्मेदवार छन्।
माओवादी केन्द्रका वीरबहादुर खत्री अध्यक्षको उम्मेदवार छन्। यसअघि माओवादी केन्द्रका वीरबहादुर खत्री २ हजार ४ सय १४ मतसहित विजयी भएका थिए। एमालेका रोशनकुमार वलीले २ हजार २ सय ९० र कांग्रेसका हरिबहादुर पुनमगरले २ हजार २ सय ६१ मत ल्याएका थिए।
एमालेले जितेको त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी एक्लाएक्लै उम्मेदवारी दिएका छन्।
एमालेबाट कर्ण बाँठामगर अध्यक्ष र कांग्रेसबाट जानकी बुढा उपाध्यक्षका उम्मेदवार छन्। माओवादी केन्द्रबाट रेशम पुनमगर र नेकपा एकीकृत समाजवादीबाट लालबहादुर खत्री अध्यक्षका उम्मेदवार छन्।
यसअघि त्रिवेणी गाउँपालिका अध्यक्षमा एमालेका शान्तकुमार वली ३ हजार ३ सय ३३ मत ल्याएर विजयी भएका थिए। माओवादी केन्द्रका उम्मेदवार गंगाप्रसाद बुढामगरले ३ हजार १ सय १२ र कांग्रेस उम्मेदवारले ९ सय ४८ मत पाएका थिए। माओवादीका बागी उम्मेदवार कुलानन्द गिरीले ५ सय ७८ मत ल्याएका थिए।
रूण्टीगढी गाउँपालिकामा भने माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकैठाउँ छन्। एमाले र कांग्रेसले पनि एक्लाएक्लै उम्मेदवारी दिएका छन्।
माओवादीले गोविन्द पुनमगरलाई अध्यक्षमा उम्मेदवार बनाएको छ। माओवादीलाई एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ। एमालेबाट यमबहादुर दशौदी र कांग्रेसबाट जनक पुनमगर अध्यक्षका उम्मेदवार छन्।
यसअघि एमालेका बालाराम बुढामगर ३ हजार ४ सय २ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। कांग्रेसका टेकबहादुर बस्नेतले ३ हजार २ सय ७९ र माओवादी केन्द्रका गोविन्द पुनमगरले ३ हजार १ सय ८ मत ल्याएका थिए।
रोल्पामा यसअघि कांग्रेसले जितेको एकमात्र स्थानीय तह हो- लुङ्ग्री गाउँपालिका। यहाँ कांग्रेस, एमाले र माओवादी एक्लाएक्लै उभिएका छन्।
कांग्रेसबाट जनक खड्का, माओवादी केन्द्रबाट भरत थापा, एमालेबाट वीरबहादुर खड्का अध्यक्षका उम्मेदवार बनेका छन्। विप्लव नेतृत्वको नेकपाबाट भूपेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यसअघि कांग्रेसका दुर्गाबहादुर खड्का ३ हजार १ सय २५ मतसहित अध्यक्ष निर्वाचित भएका थिए। माओवादी केन्द्रका तुलाराम खड्काले २ हजार ९ सय १० मत पाएका थिए।