
स्थानीय तहमा जनप्रतिनिधि चुन्नका लागि आज मतदान हुँदैछ। लुम्बिनी प्रदेशका १२ जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयहरूले जनाएका छन्।
मतदान केन्द्रहरुमा निर्वाचनका लागि खटाइएका कर्मचारीहरुले मतदानको तयारी थालेका छन् । बिहान ७ बजेदेखि हुने मतदानका लागि मतदाता बिहानैदेखि लाइन लागेका छन्। बिहान लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भए पनि अहिले रोकिएको छ।
लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५९ मतदाता रहेका छन्। १६ लाख १८ हजार ७५ पुरुष, १६ लाख १ हजार ३ सय ५२ महिला र ३२ जना अन्य मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
लुम्बिनीमा ३ हजार ८ सय ३२ मतदान केन्द्र छन् भने १ हजार ६ सय २९ मतदान स्थल रहेका छन्। लुम्बिनीमा सबैभन्दा बढी मतदाता रुपन्देहीमा छन्। रुपन्देहीमा ६ लाख ३२ हजार ३ सय ६० मतदाता छन् ।
दाङमा ४ लाख ९ हजार ९ सय २ जना मतदाता द्धन् भने कपिलवस्तुमा ३ लाख ७३ हजार १ सय मतदाता छन् ।
यस्तै, बाँकेमा ३ लाख २९ हजार ४ सय ७३ मतदाता रहेका छन् भने बर्दियामा ३ लाख ११ हजार ४ सय १० जना मतदाता छन्।
यसैगरी, गुल्मीमा २ लाख २४ हजार २ सय ७६, पाल्पामा १ लाख ९९ हजार ६ सय ९०, अर्घाखाँचीमा १ लाख ६३ हजार ८ सय १५, रुकुम पूर्वमा ३३ हजार ५ सय १८ जना मतदाता रहेका छन्।
रोल्पामा १ लाख ४५ हजार ४ सय ४४, प्युठानमा १ लाख ५९ हजार ३ सय ४६, नवलपरासी पश्चिममा २ लाख ३७ हजार १ सय २५ जना मतदाता रहेका प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
सबैभन्दा धेरै मतदाता रहेको रुपन्देहीमा मतदान केन्द्र थप गरिएको छ। यसअघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० मतदान केन्द्र थिए।
मतदाताको संख्या बढेकाले मतदान केन्द्र थपेर एक हजार मतदाताका लागि एक मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए।
रूपन्देहीमा ७०० मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन्। अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन्। मतदाताको संख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो । सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रूपन्देही चौथो जिल्ला हो।
उनका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रूपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन्। तीमध्ये तीन लाख २३ हजार ७७८ पुरूष र तीन लाख आठ हजार ५७४ महिला छन् । अन्य मतदाताको संख्या आठ रहेको छ।
निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन् । अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता रहेको थियो।
नगरपालिकामा सबभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता रहेका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ मतदाता थियो।
जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
यसअघिको स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ मतदाता रहेका थिए।