यस्तो छ लुम्बिनीमा बुद्धपूर्णिमाको तयारी, भारतीय प्रधानमन्त्री आउने भएपछि सुरक्षा कडा (तस्बिरहरूसहित)

यस्तो छ लुम्बिनीमा बुद्धपूर्णिमाको तयारी, भारतीय प्रधानमन्त्री आउने भएपछि सुरक्षा कडा (तस्बिरहरूसहित)
+
-

बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा २५६६ औँ बुद्ध पूर्णिमाको तयारी पूरा भएको छ। बुद्ध पूर्णिमाको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी सिँगारेर झकिझकाउ पारिएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन भाेलि (सोमबार) आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक सबैजसो तयारी पूरा भएको जनाएको छ।

भौतिक संरचना निर्माण र सजावटका साथसाथै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिँगार्ने काम पूरा भइसकेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए।

लुम्बिनीमा बुद्धपूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि आइतबार पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आले र परराष्ट्रमन्त्री आउने कार्यक्रम रहेको छ।

यसअघि शनिबार गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गर्दै कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसित छलफल गरेका थिए।

आज विभिन्न मुलुकका अतिथिहरू लुम्बिनी आइपुग्ने कोषाध्यक्ष भट्टराईले बताए।

‘कूटनीतिक निकाय र नेपाल सरकारका उच्च अधिकारी पनि आज आउनु हुनेछ’,उनले भने।

उनका अनुसार काठमाडौँबाट आइतबार १ हजार १ सय भिक्षु र भिक्षुणी पनि लुम्बिनी आइपुग्नेछन्।

बुद्धपूर्णिमा मनाउन मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ। बाहिरी पुरातात्त्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ। मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ।

बाटोघाटो सफा गरिएको छ भने विहारहरूलाई झिलीमिली बत्तीले ढाकिएको छ। पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ।

लुम्बिनी गुरुयोजनाको भैरहवा तौलिहवा सडक खण्डअन्तर्गत एक किलाेमिटर कालोपत्रे बाटाका दुईतर्फ नेपाल, भारत र बौद्ध धर्मावलम्बनीको झन्डा टाँगिएको छ।

लुम्बिनीमा मोदी बुद्धपूर्णिमाको मूल समारोह, मायादेवी मन्दिर अवलोकन र भारतले निर्माण गर्ने विहारको शिलान्याशमा सहभागी हुनेछन्।

उक्त विहारको प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ। उक्त विहार एक अर्ब भारतीय रुपैयाँमा ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ।

सुरक्षामा नेपाल र भारतका सुरक्षाकर्मी

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था उच्च राखिएको छ। मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) बुधबार नै लुम्बिनी आइसकेका छन्।

भैरहवा, लुम्बिनी क्षेत्रमा यस अघिको तुलनामा दैनिक चेकजाँच बढाइएको छ। लुम्बिनी आएका भारतीय सुरक्षाकर्मीले दैनिक लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिरहेका छन्।

फ्रन्टलाइनमा भारतीय सुरक्षाकर्मी, भित्री सुरक्षा सबै हेडक्वार्टरले हेरेको र बाहिरी सुरक्षा मात्र जिल्लालाई जिम्मा दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए। मोदीका लागि लुम्बिनीमा ४ वटा हेलिप्याड बनाइएको छ।

भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एमआई १७ हेलिकोप्टरले हालै निर्माण गरिएका दुई हेलिप्याडमा शनिबार परीक्षण उडान गरेका छन्।

भारतीय सुरक्षा अधिकारीले हेलिप्याड अवलोकन र सुरक्षात्मक अवस्था जाँचबुझ गर्दै प्राविधिक जानकारीसमेत लिएका थिए।

यस्तो छ लुम्बिनीको भ्रमणतालिका

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ। उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने कार्यक्रम छ।

मोदीको भारतीय प्रधानमन्त्रीको रूपमा गर्न लागेको यो पाँचौँ नेपाल भ्रमण हो। यद्यपि उनी लुम्बिनीमा पहिलोपटक आउँदैछन्। यसअघि सन् २०१४ मा पनि मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर लुम्बिनी नआई मुस्ताङको मुक्तिनाथ पुगेर भारत फर्केका थिए।

उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन्।

लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने छन्। त्यसपछि मोदीले मायादेवी मन्दिर दर्शन र भारतीय बुद्धिस्टहरूको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

एक अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र बौद्ध बिहार निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ। मायादेवी मन्दिरमा करिब ४० मिनेट विशेष पूजामा सहभागी हुने र त्यहाँ केहीबेर फोटोसेसन तथा अशोक स्तम्भ अगाडि दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि मोदी २५६६ औँ बुद्धजयन्ती मूल समारोहमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

लुम्बिनीमा नै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल-भारत सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने छन्। मोदी लुम्बिनीमा २ देखि ३ घण्टा रहने सुरक्षा स्रोतले जनाएको छ।

तस्बिरहरू : मोहम्मद अयुब

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?