पेन्ट मी रेड : याैन हिंसाविरुद्ध एक ‘मौन’ आन्दाेलन

+
-

‘राम्रो गरिरहेका छौँ’, कसैले आएर पीठ थपथपाउँदा पनि खुसी लाग्दो रहेनछ, केही अड्किएको स्वरमा बिबिकाले भनिन्।

‘हामीले यस्तो काम गरिरहेका छौँ, जसमा हामी नै खुसी छैनौँ। यो गर्नुपर्ने काम नै होइन’, आक्राेशमिश्रित स्वरमा उनले भनिन्।

बिबिका कोइरालालाई दुःख लाग्छ हरेक पटक सेतो लुगा लगाएर कुनै ठाउँमा बस्नु पर्दा। उनको सेतो लुगा जसले एक सादा पानाको काम गर्छ, जसमा बाटाेमा हिँड्ने सबैले रातो रंग दलेर जान्छन्। रोकिएर उनले भनिन्, ‘रातो रंग जसमा उहाँहरूको पीडा हुन्छ, आक्रोश हुन्छ।’

वसन्तपुर, पाटन, विराटनगर त कहिले माइतीघरको सडकमा सेतो लुगामा ‘पेन्ट मी रेड’ भनेर सबैलाई निम्ता दिँदै बसिसकिन्- बिबिका कोइराला।

गुम्सिएका व्यथा अनि पीडाहरू शरीरमा लतपतिएकाे बताउँछिन् उनी।

‘हामीले यहाँ आर्टको प्रयोग गरेका छौँ। मेरो शरीरमा लगाइने रातो रंगमा बोल्न नसकेर गुम्सिएका व्यथा अनि पीडा हुन्छ। भोगेकाले अहिलेसम्म बोल्न नसकेका पीडा मेरो शरीरमा लतपतिएको हुन्छ।  कतिपयलाई बोल्न समस्या भैरहेको हुन्छ, डर लागिरहेको हुन्छ,  मलाई यस्तो भएको थियो भन्न हिच्किचाहट भएको हुन्छ’, बिबिकाले निराशा मिसिएकाे मुस्कानमा भनिन्,  ‘उहाँहरूले पेन्ट गरेर जानुहुन्छ। आफूसँग भएको दुर्व्यवहारकाे घटना हामीसँग साटेर जानुहुन्छ। मेरो काँधमा टाउको राखेर रोएर जानुहुन्छ। तपाईंलाई थाहा छ। उहाँहरूलाई त्यसो गर्दा हलुका महसुस हुँदो रहेछ। कतिपयले बेलुका फोन गरेर दिदी मलाई आज अलि हलुका भएको छ भन्नुहुन्छ।’

‘म सुरुमा सेतो लुगा लगाएर बसेको हुन्छु,’ उनले उत्साहित हुँदै भनिन्। तर, एकैछिनमा निराश मनले भनिन्, ‘केही बेरमै म रातै हुन्छु। साँच्चै कति धेरै जनाले पीडा भोग्नु भएको रहेछ। सेतो पहिरनमा बसेको म अन्तिमसम्ममा रातै हुन्छु।  त्यो भनेको हाम्रो वरपर यस्ता धेरै महिलाहरु दुर्वव्यवहारमा परेका छन्, धेरै आवाज छन्, जुन हाम्रो समाजका कारण दबिरहेका छन्।’

शरिरमा थपिँदै जाने रंगको गाढापनले उनलाई लाग्छ- बाहिर आउन नसकेका धेरै घटना रहेछन् जुन हुनुमा हाम्रो समाज पनि त गद्दार छ। यस्ता कुरा आउनलाई हाम्रो समाज पनि त सहज छैन।

हामी कस्तो समाज र परिवारमा हुर्किरहेका छौँ? उनले अचम्म मिसिएको स्वरमा प्रश्न गरिन्।

समाज त्यो होइन जो तपाईँ देखिरहनु भएको छ! मान्छे त्यो होइन जो तपाईँले देख्नु हुन्छ! समाजमा हुने यस्ता घटनालाई तपाईँ कसरी लिनुहुन्छ? अथवा मानौँ केही वर्ष अगाडि भएको घटना बाहिर आयो भने तपाईँ कसरी लिनुहुन्छ? निधार खुम्च्याउँदै उनले भनिन्, पहिल्यै किन नभनेको? यत्रो वर्षसम्म के गरेर बसेको थियो? यस्तो खालको प्रश्न समाजले तेर्स्याउँछ। कसैले सोच्दैन कि यत्रो दिनसम्म उसले किन लुकायो वा किन कसैलाई भन्न सकेन?

समस्या समाजसँग मात्र छैन कानुनसँग पनि छ। घटना भएको एक वर्षपछि सरकारले त्यसमा कानुनी कार्वाही गर्दैन।

केही आक्रोशमिश्रित स्वरमा उनले भनिन्, ‘अब हेर्नुस् हाम्रो समाज जो पीडितलाई बोल्न गाह्रो बनाउँछ र यता कानुन ढिला गरी हिम्मत जुटाएर आउने पीडितलाई न्यायका लागि तगारो बन्छ। यस्ता घटना यसरी मेरो सेतो लुगामा पेन्ट बनेर आउने कारण पनि यही हो।’ त्यसैले यो कानुनमा रहेका हदम्याद हटाउनु पर्नेमा उनी जोड दिन्छिन्।

‘धेरैले मलाई रंग लगाइरहदा आफूले भोगेको पीडाको कुरा बाँड्नु भएको छ। कतिपयले बेलुका घर पुगेर फोन गर्नुहुन्छ, रुनुहुन्छ,’ मलिन अनुहारमा उनले भनिन्, ‘लाग्छ अलिकति भएपनि बोल्न सक्न ठाउँ हामीले बनाइदिएका छौँ। धेरैले धेरै समयदेखि भन्न नसकेको कुरा सुन्ने हामी भइदिएका छौँ। तर यो काम त सरकारको थिएन र?’ उनको प्रश्न थियो। ‘एक्सन लिनुपर्नेहरुले सुनिदिएको भए हामी यसरी कराउनु नै पर्ने थिएन नि,’ निराश हुँदै उनले भनिन्, ‘तर जबसम्म राज्यको संयन्त्रले यसलाई समस्याको रुपमा लिनुहुँदैन हामी जति चिच्याएपनि केही हुनेवाला छैन।’

हामी र हाम्रो समाजका जसकारण पीडितलाई खुलेर बोल्ने धेरै पटक सोच्नुपर्छ, आत्मबल चाहिन्छ, विश्वास चाहिन्छ, हिम्मत चाहिन्छ। सबैले घटना हुने वित्तिकै त्यसविरुद्ध बोल्न नसकेको हुनसक्छ। केही ढिलो आउन सक्छन्, उनको तर्क थियो।

पेन्ट मी रेड 

बिबिका एकदिन यत्तिकै बसमा यात्रा गरिरहेकी थिइन्। त्यतिबेला हिंसा र दुर्व्यवहारका कुराहरू बाहिर आइरहेकै थिए। धेरै जनाको धेरै विचार उनले पढेकी थिइन्, देखिरहेकी थिइन्।

‘म पनि एक युवा हुँ’, मलिन स्वरमा उनले भनिन्, ‘कुनै समय आफूले पनि यस्तो पीडा भोगेको थिएँ। मैले जे गर्नसक्छु, त्यति गर्नुपर्छ भन्ने लाग्यो र यत्तिकै मेरो दिमागमा आएको विचार हो यो।’

उनीजस्तै युवाहरुको साक्षर भन्ने समुह छ। एउटा इभेन्ट जहाँ आर्टको माध्यमबाट यस्ता दुर्व्यवहार विरुद्ध ऐक्यबद्धता गरौँ भन्ने योजना उनले दुई जना साथीलाई सुनाइन्। सुनाउँदा सबैले साथ दिए, हुन्छ गरौँ भने। नाम रह्यो- ‘पेन्ट मी रेड’। शुक्रबार दिउँसो बसमा यात्रा गर्दा सोचेको शनिबारबाट सुरु भयो। पहिलो दिन बसन्तपुरमा भयो, धेरैले ऐक्यबद्धता जनाए र बिबिकालाई पेन्ट गरे। त्यसपछि पाटन, माइतीघर अनि विराटनगर पनि।

‘यो कार्यक्रम सुरु भैसकेपछि अहिले जुन प्रकारको प्रतिक्रिया आयो, त्यसले हामीलाई पनि अभिभुत बनायो,’ उनले भनिन्, ‘हामीले यसलाई यउटा सामाजिक प्रयोगको रुपमा मात्र गर्न खोजेका थियौँ तर पहिलो दिन, पहिलो कार्यक्रममा नै धेरै जना सहभागी भइदिनुभयो।’ कार्यक्रम सकेर घर फर्किसकेपछि बिबिकालाई धेरैको म्यासेज आयो। क्याम्पेनका बारेमा धेरैले जानकारी लिन थाले। फेरि कहिले गर्नुहुन्छ भनेर सोध्न थाले। त्यसपछि अन्य ठाउँमा पनि उनीहरुले यो कार्यक्रम गर्न थाले।

‘विराटनगर बाहेक बाहिर गरेका छैनौँ। बुटवाल, पोखरा, चितवन लगाएतका ठाउँबाट हाम्रो ठाउँमा पनि कार्यक्रम गरिदिनु पर्‍यो भनेर भन्नुभएको छ। कहिले गर्नुहुन्छ? भनेर सोध्नु हुन्छ,’ उत्साहित हुँदै उनले भनिन्, ‘मतलब उहाँहरुले मलाई पेन्ट गर्न खोज्नु भएको हो। यसको मतलब त उहाँहरुले मलाई आफ्नो पीडा भन्न खोज्नु भएको हो। उहाँहरुसँग पनि त भोगाइ रहेछ।’

उनको टिमले यो अभियान देशैभरि लाने योजना बनाएको छ।

‘पीडितको मनभित्र गुम्सिएको आवाजमा कति पीडा छ त्यो देखाउन यो अभियान सुर गरेका हौँ,’ पेन्टमा प्रयोग हुने रंगको अर्थ बुझाउँदै उनले भनिन्, ‘रातोले रिसलाई प्रतिनिधित्व गर्छ। कतिपय कुराहरु मुखले बोल्न सकिँदैन। कसैले मलाई आएर रातो रंग दलिदिदा त्यो पीडाले दिएको रिस कति रहेछ? मैले बुझेको छु।’

‘दुर्व्यवहार हामी केटीमान्छेहरु लागि सबैभन्दा ठुलो समस्या हो। सार्वजनिक गाडीमा चढ्दा कसैले यत्तिकै छोएर होस् वा बाटोमा हिँड्दा जिस्काउने,’ निधार खुम्च्याउँदै उनले भनिन्, ‘हाम्रो समाजमा यस्तो सामान्य जस्तै छ जुन नराम्रो हो।’

‘म आफैँ पनि अप्ठेरो अवस्थामा परेको महसुस गरेर भागेको छु। ठूलो केही त भएन तर जे भयो त्यो डर लाग्दो थियो, नहुनु पर्ने थियो।’

उनलाई लाग्छ- हामीले यस्तो समाज बनाउनु पर्‍यो हुने गरेका यस्ता घटना तुरुन्तै बाहिर आउन्। उनीहरुको कुरा समाजले सुनिदेओस्। कानुनले अगाडि बढ्ने हिम्मत देओस्।

‘तर यो विषयमा सही जानकारी हाम्रो समाजमा छैन। परिवारमा छैन। विद्यालयमा छैन,’  उनले भनिन्, ‘तपाईँलाई थाहा हुनुपर्छ कस्ले छुन पाउने। कहाँ छुन पाउने। यो परिवारबाट सुरु हुनु पर्ने कुरा हो। स्कुलबाट सुरु हुनुपर्ने कुरा हो। तर हाम्रो परिवारमा यस्ता कुराको जानकारी हुँदैन। यस्तो कुराहरु स्कुलमा स्किप गरिन्छ। यी ठाउँहरुमा परिवर्तन नआएसम्म ठुलो परिवर्तन आउन अलि समय लाग्छ।’

अटेन्सन पाउनको लागि गरेको हो? भनी खासखुस गर्ने पनि छन्। ‘हरेक कुराको प्रोज र कन्स हुन्छ,’ आश्चर्यमिश्रित अनुहारको भावमा उनले भनिन्, ‘तर सबैले बुझ्न जरुरी छ, यो महिलाका लागि मात्र गरेको होइन। दुर्व्यवहार महिलाले मात्र भोग्दैनन्। यो सुनसान आन्दोलन पुरुष वा महिला सबैका लागि हो जसले दुर्व्यवहार भोगेका छन्।’

उनी भन्छिन्, ‘यस्ता आन्दोलन हुन्छ विस्तारै सेलाउँछ र त्यसमाथि हुने एक्सन पनि सेलाउँछ। तर यो दियोलाई निभ्न दिनुहुँदैन।’

 

फाेटाे: सुलभ श्रेष्ठ

भिडियाे: सुलभ श्रेष्ठ/प्रभात खनाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?