
बुटवल – नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन्।
नगर सभा सञ्चालनका लागि नगर प्रमुखलाई सहयोग गरेको आरोप लगाउँदै उपप्रमुख जागेश्वरी चौधरीको नेतृत्वमा जनप्रतिनिधिले ताला लगाएका हुन्।
आइतबारको नगर सभामा गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख रामकृष्ण खाँणले बैठक स्थगित गरेपछि एमालेका जनप्रतिनिधिले नाराबाजी गर्दै नगरप्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीमाथि आक्रमण प्रयास गरेका थिए।
त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो। सो क्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफूमाथि बल प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।
नगरपालिकाको १२औँ नगर सभाको तेस्रो र चौथो बैठकको उपस्थित र गणपुरक संख्यामा ज्ञवालीको भूमिका विवादास्पद रहेको एमाले निकट जनप्रतिनिधिले दाबी गरेका छन्। उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रूपमा नगर सभाका एकैदिनका बैठकमा अलग–अलग उपस्थिति गराउने गरेको आरोप लगाइन्।
तर, नगरप्रमुख खाँणले एमालेका जनप्रतिनिधि समयमा बैठकमा नआएकोले गणपुरक संख्या नपुगेपछि सभा स्थगित गरेको बताए।
‘१ बजे भनेको बैठकमा २ बजेपछि आएर सभा अध्यक्षले सही गरेपछि सही गर्न पाइन्छ? यो खेतमा मजदुरी गर्न आएजस्तो होइन। बाटोमा आउँदै थिएँ, बस पाइएन भनेजस्तो होइन। नगर सभामा मर्यादित भएर आउनुपर्यो नि!,’ प्रमुख खाँणले भने।
तिलोत्तमामा एमालेका जनप्रतिनिधिको अवरोधका कारण नगरसभाबाट बजेट पारित हुन सकेको छैन।