
बुटवल – तस्बिरको दुरुपयोग गरी एक युवतीलाई ब्ल्याकमेल गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपन्देही सैनामैनाकी १९ वर्षीया एक युवतीको गोप्य तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गर्ने गैडहवाका दुई जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी इन्स्पेक्टर जगन्नाथ मरासिनीका अनुसार युवतीले डेढ वर्ष अगाडि आफ्नो मोबाइलले खिचेको गोप्य तस्बिरका आधारमा ब्ल्याकमेल गर्दै उनीहरुले यौन सम्पर्कको प्रस्ताव राखेका थिए। यौनसम्पर्क गर्न अस्वीकार गरेपछि जबरजस्ती गर्न खोज्दा भागेकी युवतीलाई प्रहरीले उद्धार गरेको छ।
घटनामा संलग्न गैडहवा गाउँपालिकाका १७ वर्षीय एक किशोर र गैँडहवा गाउँपालिका–९ बस्ने २० वर्षीय जगन्नाथ मल्लाहलाई सैनामैना नगरपालिका–७, देउपारबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
युवतीले प्रहरीलाई दिएको बयानअनुसार करिब डेढ वर्षअघि युवतीले आफ्नै मोबाइलमा खिचेका गोप्य तस्बिरहरु अपरिचित व्यक्तिले फेला पारेका थिए। करिब १५ दिन अगाडिदेखि उनीहरुले फोटो भाइरल गराइदिने भन्दै ब्ल्याकमेल गर्न सुरु गरेका थिए।
युवतीले बेइज्जत हुने डरले ती अपरिचित व्यक्तिसँग पटक–पटक कुरा गरेकी थिइन्। फोनमा कुरा गर्दा भेट्न नआए फोटो भाइरल गर्दिने धम्की आएपछि उनी शनिबार साँझ उनीहरु भेट्न गएकी थिइन्।
प्रहरीले युवतीको भनाइ उदृत गर्दै बताएअनुसार त्यहाँ पुग्ने बित्तिकै यौन सम्पर्क गर्न नदिएसम्म फोटोहरु डिलिट नगर्ने र इज्जत बचाउने भए यौन सम्पर्क गर्न दिनुपर्ने भन्दै जबरजस्ती गर्न खोजेपछि रुँदै होहल्ला गर्दै भागेर कलौनी–लुम्बिनी मूलबाटोमा निस्केकी थिइन्।
भागेपछि पुनः फोन गरेर फेसबुकमा तस्बिर सार्वजनिक गरिदिने भन्दै ती अपरिचित व्यक्तिले धम्की दिएका थिए। उनीहरुको धम्कीपछि युवती एकान्त ठाउँमा रुँदै बसिरहेको अवस्थामा रातको करिब १०ः४५ बजे प्रहरीले फेला पारी उद्धार गरेको प्रहरीले बताएको छ।
पक्राउ परेकाहरुबाट प्रहरीले एक थान मोबाइल र १३ थान कण्डम बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए।