सम्भव भएसम्म बच्चा जन्मेको आधा घण्टाभित्रमा, नभए एक घण्टाभित्रमा आमाको दुध खुवाइसक्नुपर्ने विज्ञहरुले बताउने गरेका छन्।
उनीहरुका अनुसार बच्चा जन्मिएपछि आउने पहेँलो र बाक्लो दुध खुवाउनु पर्छ। कतिपयले यो पहेँलो दुधलाई फोहोर भनेर फाल्ने गरेको पाइन्छ। बच्चाका लागि एकदमै महत्वपूर्ण हुने भएका कारण त्यसो गर्नु हुँदैन।
सुरुको पहेँलो दुधमा पौष्टिक तत्वहरु हुने गर्छन्, जसले गर्दा विभिन्न रोगसँग लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै आमाको दुध बच्चाले सजिलैसँग पचाउन सक्ने कान्ति बाल अस्पतालकी नर्सिङ्ग प्रशासक प्रमुख सहप्राध्यापक रोशनी लक्ष्मी तुईतुई बताउँछिन्। स्तनपान सम्बन्धमा तुईतुईसँग गरिएको कुराकानीः
स्तनपान भनेको के हो? यो किन आवश्यक छ?
शब्द आफैले नै त्यसको अर्थ दिन्छ, स्तनपान। आमाले आफ्नो स्तनबाट दुध खुवाउनु हो। कुनै पनि बच्चा जन्मिनेबित्तिकै दुध खान पाउनुपर्ने यो नैसर्गिक अधिकार हो भने दुध खुवाउनु आमाको दायित्व हो।
स्पष्ट के छ, भने गाईको दुध बाच्छालाई, आमाको दुध बच्चालाई। त्यसकारण बच्चालाई आफ्नै आमाको दुध मात्र नै खुवाउन पर्छ।
आमाको दुध खुवाउँदा बच्चालाई धेरै फाइदा हुन्छ। यो फाइदा फेरि बच्चालाई मात्र होइन, आमालाई पनि हुन्छ।
स्तनपान गराउँदाका आमालाई के फाइदा हुन्छ?
बच्चालाई दुध खुवाउँदा ‘अक्सिटोसिन’ हर्मोन निस्कन्छ। त्यसले पाठेघरको मांशपेसीलाई खुम्च्याउन सहयोग गर्छ। बच्चा जन्मिसकेपछि पाठेघर ठूलो भएको हुन्छ, हर्मोनले पाठेघरलाई आफ्नो स्थानमा आउन सहयोग गर्छ।
बच्चालाई दुध खुवाउँदै गर्दा दिमागमा रहेको ‘पिट्यूटरी ग्ल्यान्ड’ले ‘अक्सिटोसिन र प्रोल्याक्टिन’ हर्मोन निकाल्छ। यी दुई वटा हर्मोनले अर्को बच्चा बस्नका लागि चाहिने हर्मोनलाई कम गराउँछ। अर्थात चाँडै हुनसक्ने ‘ओभूलेसन’लाई रोक्ने र परिवार नियोजनको काम गर्छ।
दुध खुवाइसकेपछि स्तन आफ्नो साइजमा आउने गर्छ।
दुध नखुवाएको बच्चामा भन्दा बच्चालाई दुध खुवाएको बच्चासँग आमाको ‘अट्याचमेन्ट’ एकदमै बलियो हुन्छ।
भिडियो हेर्नुहोस्:
बच्चालाई कस्ता फाइदा हुन्छन्?
आमाको दुध प्राकृतिक हो। यसमा कुनै केही मिसावट हुँदैन। बच्चालाई चाहिने सबै कुरा प्राकृतिक रुपमा आफैँ बनेको हुन्छ।
झन्झटिलो हुँदैन। बजारको किनेर खुवाउँदा सामान किन्नु पर्यो। तताउनु पर्यो। भाँडा सफा गर्नु पर्यो। तर आमाको दुध खुवाउँदा केही पनि गर्नु पर्दैन, सिधै बच्चाको मुखमा जान्छ।
आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु पाइन्छ। दुई–दुई घण्टाको अन्तरमा बच्चा अघाउञ्जेल दुध चुसाए पुग्छ।
अरु दुध बनाउनु परेमा हरेक कुरा हेर्नु पर्छ। बच्चा कति केजीको छ? उसलाईको तौल अनुसार क्यालोरी, प्रोटिन, आइरन कति दिने सबै हिसाब गरेर मात्र दिनु पर्छ। तर आमाको दुध खुवानका लागि त्यो झन्झट गरिरहनु पर्दैन।
अर्को कुरा आमाको दुधमा बच्चालाई चाहिने विभिन्न आइरन, भिटामिनहरु सबै कुरा ‘रिक्वायरमेन्ट’ अनुसार पुगिरहेको हुन्छ।
बच्चालाई स्तनपान गराउँदा आफ्नो सौन्दर्यमा कमी आउने भन्दै स्तनपान नगराउने चलन बढ्दो छ नि!
बच्चालाई स्तनपान गराउँदा आफ्नो सौन्दर्यमा कमी आउँछ भन्ने गलत धारण हो। प्राकृतिक रुपमा महिलालाई आमा बन्ने सौभाग्य मिलेको छ। जुन पुरुषले पाएका छैनन्। आमा बनिसकेपछि बच्चालाई खुवाउनका लागि आवश्यक दुध स्तनमा तयार भइसकेको हुन्छ।
उक्त दुध तयार हुनका लागि ‘अक्सिटोसिन’ र ‘प्रोल्याक्टिन’ जस्ता हर्मोनले काम गरिरहेका हुन्छन्। ‘प्रोल्याक्टिन’ दुध तयार गराउँछ र तयार भएको दुध बच्चाको मुखसम्म ल्याउने काम ‘अक्सिटोसिन’ हर्मोनले गरिरहेको हुन्छ।
यी दुवै हर्मोनलाई ‘ब्यालेन्स’मा राख्नुपर्ने हुन्छ। बच्चालाई दुध खुवाउँदा दुवै हर्मोन ब्यालेन्समा हुन्छ। जसले गर्दा अनुहारमा चाँया, पोतो आउने समस्या हुँदैन।
बच्चालाई दुध नखुवाउँदा हर्मोन ‘इनब्यालेन्स्’ हुन्छ र आमालाई अन्य समस्याहरु हुन सक्छ। त्यसैले प्राकृतिक रुपमा शरीरको ‘ब्यालेन्स’ गराउनका लागि पनि आमाको दुध खुवाउन आवश्यक छ।
नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा बच्चा जन्मेको ६ महिनासम्म आमाको मात्रै दुध खुवाऔँ भनिएको छ।
दुध नै नआउने समस्या पनि हुन्छ?
यो अलि कति सयस्या देखिएको छ। सबैलाई म के अनुरोध गर्न चाहन्छु भने पेटमा बच्चा आएदेखि नै म मेरो बच्चालाई आफ्नै दुध खुवाउँछु भनेर मानसिक रुपमा तयारी हुनुपर्छ। र, गर्भवतीलाई स्तनपान गराउनु पर्छ भनेर श्रीमान् र परिवारले साथ दिन आवश्यक छ।
कुनै कुनै महिलामा दुध आउँदैन। शरीरिक समस्या र मानसिक तनाव भएमा दुध आउँदैन। परिवारको साथ समर्थन भएन भने मानसिक समस्या हुने गर्छ।
त्यसैले आमाले बच्चा पेटमा आएदेखि आफ्नै दुध खुवाउँछु भनेर शारीरिक र मानसिक रुपमा तयारी गर्नुपर्छ। किनकि मानिसको शरीर पनि मेसिनजस्तै हो। मेसिनलाई राम्रोसँग चलाउँदा चल्छ, राम्रो सँग चलाएन भने खिया लागेर बिग्रन्छ।
पहिलो पटक दुध चुसाउँदा थोपाजस्तो आउन सक्छ। मेरो दुध नै आएन भनेर छोड्नु हुँदैन। जतिजति बच्चाले दुध चुस्दै जान्छ। त्यति धेरै हर्मोनले काम गर्छ र दुध बढ्दै जान्छ। सुरुका दुई दिनसम्म कम आउन सक्छ, तर दुध चुसाउदै गर्दा तेस्रो दिनदेखि एकदमै दुध आउन थाल्छ।
यो बेलामा आमालाई आराम गर्न दिनु पर्छ। त्योसँगै झोलिलो र पौष्टिक तत्व भएका खानेकुराहरु खान दिनुपर्छ।
कुनै बच्चा रातिमा रुने गर्छ र आमाले आराम गर्न पाउँदैन भने दुध कम आउन सक्छ। आराम नपाएका कारण दुध उत्पादन घट्न सक्छ। त्यो बेलामा आमालाई आराम पुगोस् भन्नका लागि घर परिवार श्रीमान्ले बच्चाको स्याहार गरिदिनु पर्छ।
कस्तो अवस्तामा दुध गानिन्छ?
दुध खुवाउँदा आमाले ध्यानमा राख्नुपर्ने कुरा के हो भने कहिल्यै पनि एउटा मात्र दुध खुवाउनु हुँदैन। पालै पालो खुवाउनु पर्छ। दुई घण्टा अगाडि दायाँबाट दुध खुवाएको छ भने दुई घण्टापछि बायाँबाट खुवाउनु पर्छ।
कतिपयले आफूलाई सजिलो हुने गरी एकतिरको मात्र दुध खुवाउने गर्छन्। जसले गर्दा अर्कोतिरको दुध गानिएर पाक्ने पनि हुन सक्छ।
अर्को कुरा दुध धेरै आइरहेको छ भने बच्चालाई खुवाइसकेपछि बाँकी रहेको निचोरेर फाल्नु पर्छ अथवा खुवाउनुभन्दा अगाडि फालेर खुवाउँदा पनि हुन्छ। यसो गर्दा दुध गानिने समस्या हुँदैन।
बच्चालाई बोत्तलमा दुध सकेसम्म खुवाउनु हुँदैन। बच्चाले एक पटक बोत्तलको निप्पलमा बानी परिसकेपछि आमाको दुध चुस्न मान्दैन। बोत्तलमा राखिएको दुध एक पटक चुस्नेबित्तिकै उसको मुखभरि हुन्छ। तर, आमाको दुध सुरुमा चुस्नेबित्तिकै मुखभरि आउँदैन। अनि आमो दुध चुस्न अल्छि मान्छ। कहिलेकाहीँ त दुध चुस्दा चुस्दै थाकेर निदाउँछन्।
त्यसैले बच्चालाई आमाको दुधमा बानी पार्नका लागि बच्चा जन्मेकै दिनदेखि दुध चुसाउन आवश्यक छ। यसो गर्दा बच्चा बानी पर्छ र आमाकै दुध चुस्न थाल्छ।
अन्यथा दुध आएन भनेर बोत्तलबाट खुवाउने, गाईको दुध खुवाउने वा अन्य कुरा खुवाउने गर्न थाल्यो भने बच्चाले आमाको दुध चस्दैन र त्यसले समस्या उत्पन्न हुन्छ। दुध आएन भनेर नछोडौँ, पछि त्यही आमाले बच्चा पाउनेभन्दा बढी दुःख पाउँछ दुध गानिएर दुध चिर्नु पर्यो भने।