‘छाउपडी प्रथा’ भनेको महिनावारीको समयमा महिलालाई एकान्तमा राख्ने चलन हो। नेपालको सुदूरपश्चिमका धेरै क्षेत्रमा सामान्यतः छाउपडी प्रथा छ। सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिनावारी भएका महिला महिनामा पाँच दिन गोठमा बस्ने गरेका छन्। महिनावारी हुँदा महिला अशुद्ध हुन्छन् भन्ने रुढीवादी सोचले यसलाई बढावा दिएको छ।
अछामका विद्यानाथका पुजारी भन्छन्, ‘महिनावारी भएका बेला महिलालाई गोठमा बसाल्ने चलन अनावश्यक छ। प्राचिनकालदेखि नै महिनावारी हुँदा महिलालाई गोठमा बस्न बाध्य पारिएकाे हाे।’
उनका अनुसार गाईको गौउतमा सरसफाइ गर्ने गुण हुन्छ भन्ने मान्यता रहेकोले महिलालाई गोठमा राखिने गरेको थियो। याे प्रथा सुदूरपश्चिमका धेरै ठाउँमा छाउपडीको नाममा अझै कायम छ।
सर्वोच्च अदालतले २०६२ साल वैशाख १९ गते छाउपडी प्रथालाई गैरकानूनी घोषणा गरेको थियो। नेपाल सरकारले २०६४ सालमा छाउपडी प्रथा उन्मूलनसम्बन्धी निर्देशिका जारी गरेको छ। ‘राष्ट्रिय अपराध संहिता विधेयक, २०७४’ मा पहिलो पटक छाउपडी प्रथालाई फौजदारी अपराध भनिएको छ।
गाेठ भत्किए, भत्किएन प्रथा
सुदूरपश्चिममा मात्रै ७ हजार ३ सय ६८ छाउगोठ ध्वस्त भएका छन्। जसमध्ये अछाममा मात्रै ५ हजार ८०४ छाउगोठ भत्काइएको छ। छाउगोठ भत्काएर घरमा बस्ने महिलाहरू छन्?
छाउगोठमा महिलाको मृत्यु हुन थालेपछि र उनीहरुको असुरक्षाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि स्थानीय तह, विभिन्न संघसंस्था, महिला अधिकारकर्मी र नेपाल प्रहरीको समन्वयमा सुदूरपश्चिममा छाउगोठ भत्काइएको थियो।
सुदूरपश्चिममा अछाम, बझाङ, बाजुरा र डोटीमा छाउपडी प्रथा प्रचलित छ। गर्मीमा सर्प र अन्य जीवजन्तुबाट कसरी जोगिने र जाडोमा चिसोबाट कसरी बँच्ने भन्ने चिन्ता यहाँका महिलालाई हुन्छ। परिवारबाट टाढा बस्दा बलात्कारको सिकार हुने डर हुन्छ।
सुदूरपश्चिममा विगत ३ वर्षमा भएको छाउगोठमा ८ जनाको मृत्यु भएको छ। जसमध्ये अछाममा ५ र बाजुरामा ३ जनाको मृत्यु भएको थियो। सर्पको टोकाइ, आगजनी र निसासिएर उनीहरुको ज्यान गएको छ।
शिविर भत्किएपछि यहाँका महिला थप समस्यामा परेको पाइएको छ। भत्किएका बस्ती मर्मत गरेर पनि ५० प्रतिशत महिला त्यही ठाउँमा बस्दै आएका छन्। धेरै जना डोकोमुनि, पलामुनी र घरनजिकैको गुफामा रात बिताउन सुत्न आउँछन्।
यहाँका महिला अझै पनि असुरक्षित छन्। संरचना भत्किए पनि गहिरो जरा गाडेको छाउपडी प्रथा भत्काउन सकिएको छैन। अछाम तुर्माखाँद गाउँपालिकाकाे एक विद्यालयकी शिक्षिका कविता महरा भन्छिन्, ‘गाेठ त भत्कियाे तर याे कुप्रथा मनबाट भत्किन अझै ५० वर्ष लाग्छ।’
शिक्षिका कलाकुमारी राजीका अनुसार महिनावारी भएका बेला छात्राहरु विद्यालय भने आउने गरेका छन्। विद्यालयमा आएका छात्राहरुलाई साेध्दा आफूहरु महिनावारी भएकाेबेला घरभित्रै सुत्ने र विद्यालय पढ्न आउने बताए।
यो कुप्रथालाई न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी संघ संस्थाअन्तर्गतका विभिन्न गैरसरकारी संस्था र आइएनजीओले धेरै कार्यक्रम सञ्चालन गरेका छन्। तर एक वर्षमा छाउपडी प्रथा कम गर्न कति बजेट खर्च भयो? कहाँ खर्च भयो? कति प्रभावकारी भयो? कुनै लेखाजोखा छैन।
केही घरमा महिनावारी हुनेका लागि घरभित्रैकाे काेठामा बत्ती, खाट, राम्राे विस्तरासहितकाे व्यवस्था गरिएको पनि पाइएको छ। यसले विस्तारै मानिसहरु परिवर्तन हुँदै जान थालेकाे अछाम तुर्मखाँद गाउँपालिकाका स्थानीय थिरबहादुर रावलले बताए।
पहिला त महिनावारी भएकाे बेला खाटमा समेत सुताउनु हुँदैन भन्ने मान्यता रहेकाे गाउँपालिकाका स्थानीय विनाेदकुमार न्याैपानेले बताए। श्रीमती महिनावारी भएकाे बेला घरभित्रै राख्दा गाउँमा दूध दिन छाेडेकाे उनले तिताे अनुभव सुनाए।
रजस्वला भएका युवती वा महिलाले छुँदा पुरुष बिरामी हुने, गाईभैंसीले दूध दिन बन्द गर्ने र रुखमा फल नफल्ने र रुख मर्नेजस्ता अन्धविश्वास अझै कायमै छन्।
गाउँपालिकाकी कृषि प्राविधिक कृष्णा बयक भन्छिन्, ‘म कहिल्यै पनि छाउगाेठमा बसेकाे छैन। आमालाई बुझाउन केही अप्ठेराे भएकाे थियाे। बुवा मेराे बुझ्ने हुनुहुन्थ्याे।’
उनीहरूलाई पानीको धारामा पनि निषेध गरिएको छ र घरमा शौचालय र नुहाउने स्टेशनहरू प्रयोग गर्न निषेध गरिएको छ, जसले उनीहरूलाई खुला ठाउँमा शौच गर्न जङ्गलमा जान बाध्य पार्छ, दूषित पानीको स्रोतहरू प्रयोग गर्छन्। फोहोर र असुरक्षित अवस्थामा रात बिताउँछन्।
छुवाछुतको रूपमा रजस्वला भएका महिलाहरूलाई पनि नियमित हिँड्ने बाटो, समुदाय वा घर ट्याबहरू प्रयोग गर्न अनुमति छैन। महिनावारीको समयमा घरमा बसेमा हिन्दु शक्तिकी देवी कालिकादेवी क्रोधित भइ घरपरिवारका सदस्य बिरामी हुने र अन्य अप्रिय नतिजाहरु आउनसक्ने अन्धविश्वास छ।