
काठमाडौँ – हाल ७७ जिल्लामा फैलिसकेको डेगीं ४२ हजार ५०४ जनामा पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शक्रबारसम्मको तथ्याङ्क हेर्ने हो भने डेगींका कारण ५१ जनाको मृत्यु भइसकेको छ।
नेपालमा डेगीं ज्वरोका बिरामी वर्षेनी देखिने गरे पनि यो वर्ष भने अहिलेसम्मकै धेरै संख्यामा संक्रमित भएका छन्। सन् २००४ मा पहिलो पटक नेपालमा एक विदेशी नागरिकमा डेगीं देखिएको थियो। त्यसयता सन् २०१९ मा डेगीं संक्रमितको संख्या १९ हजार पुगेको थियो। तर अहिले यो संख्या दुई गुणाभन्दा बढी देखिएको छ।
यो भन्दा अघिल्ला वर्षहरु संक्रमित भए पनि उनीहरु लामो समयसम्म थला नपर्ने गरेको चिकित्सकहरुले बताएका छन्। तर पछिल्लो समय डेगीं ज्वरो भएका अधिकांशमा लामो समयसम्म यसको असर देखिने गरेको छ। डेगींको संक्रमण भएका धेरैमा कमजोरीपना देखिने गरेको छ।
विगतका वर्षहरु भन्दा यो वर्ष डेगींको संक्रमण फरक देखिएको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
उनले भने,‘अहिलेको महामारीमा विगतमा भन्दा फरक पाइएको छ। यो भन्दा अगाडि महामारी फैलिएको थियो। त्यसमा यो खालमा समस्या मानिसहरुमा त्यति देखिएको थिएन। अहिले धेरै जनामा लामो समयसम्म कमजोरी महसुस हुने, कपाल झर्ने, श्वास फेर्न गाह्रो हुने, टाउको भारी हुने समस्या देखिएका छन्।’
विभिन्न देशका रिपोर्टलाई हेर्ने हो भने डेगीं भएका बिरामीमा यस्ता समस्याहरु देखिने गरेको डा. पुन बताउँछन्।
‘पछाडि फर्केर हेर्ने हो भने विभिन्न देशका रिपोर्टहरु हेर्दा यस्ता समस्या रिपोर्ट भएको देखिएको छ। नेपालमा डेगींले ठूलो महामारीको रुप लिएको भनेको सन् २०१९ मा हो। त्यो भन्दा पनि ठूलो अहिले देखिएको छ। यसको उपचार केही पनि नभएको अवस्था छ। यसको उपचारका लागि त्यति मान्यता दिएको देखिँदैन।’
डा. पुनका अनुसार बिरामीले आफूलाई पहिलेकै अवस्थामा फर्काउनका लागि पौष्टिक आहारमा जोड दिनु पर्छ।
उनी भन्छन्, ‘पौष्टिक खानेकुराहरु सागपातदेखि लिएर सिजनल फलफूल, मिनरलहरु प्रशस्त मात्रामा खानु पर्यो। गाह्रो भए पनि आफूलाई सकेसम्म अलि सक्रिय राख्न कोशिस गर्नु पर्छ। मनमा धेरै कुरा खेलाउनु भएन। यसले गर्दा मानसिक स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ। शरीरलाई पहिलाकै अवस्थामा फर्काउन खाने कुरामै जोड दिनु पर्छ।’
विभिन्न देशमा गरिएका अनुसन्धानका अनुसार डेगींपछि देखिने समस्याहरु विस्तारै–विस्तारै आफै कम भएर जान्छन्। केही अनुसन्धानमा डेगींको असर दुई वर्षसम्म पनि देखिने गरेको डा. पुनले बताए।
उनले भने,‘यो फेरि एउटा अनुसान्धानको पाटो हो। तर डेगींको केसमा धेरैमा केही महिनाको अनुपातमा कम भएर जाने देखिन्छ। अनुसन्धानमा पनि एक महिना, ६ महिना, एक वर्षदेखि कति व्यक्तिमा दुई वर्षसम्म रहेको देखिएको छ। यो विस्तारै कम भएर जान्छ र जानु पनि पर्छ।’
नेपालमा सन् २०१९ मा डेगीं ज्वरोको संक्रमण देखिएको थियो। उक्त बेला संक्रमित भएका व्यक्ति यसको संक्रमण देखिएका कारण अस्पताल पुग्ने गरेको नपाइएको उनी बताउँछन्।
उनले भने, ‘कम नभएको भए पहिला डेगीं भएका व्यक्तिहरुमा अहिले पनि समस्या देखिन्थ्यो होला। त्यो हामीले फेला पारेका छैनौँ। तर यो पटक पोष्ट डेगींको समस्या अलि धेरै देखिएको छ।’
चिसोमा डेगीं कति फैलिन सक्छ?
चिसो मौसममा लामखुट्टे हुँदैन। तर अहिलेको तापक्रम लामखुट्टेका लागि उपयुक्त रहने विज्ञहरुले बताएका छन्। डा. पुनका अनुसार विगतलाई हेर्ने हो भने तिहारपछिको एक डेढ महिनापछिसम्म बिरामी फाट्टफुट्ट देखिने गरेको पाइन्थ्यो। त्यसलाई एउटा आधार मान्न सकिन्छ।
उपत्यकामा केही हप्तामा संक्रमितको संख्या घट्ने डा. पुन बताउँछन्। उनले भने,‘उपत्यकाको कुरा गर्ने हो भने अधिकांश व्यक्तिहरु संक्रमित भइसकेका छन्। भर्खरैको निको भएर फेरि अर्को हप्तामा फेरि संक्रमित हुने भन्ने हुँदैन। त्यसले गर्दा आगामी केही हप्ताभित्रमै धेरै संक्रमति भइसकेको हुँदा संक्रमितको संख्या कम हुँदै जाने देखिन्छ।’
तर उपत्यका बाहिर जोखिम अझै पनि उत्तिकै रहने उनले बताए। ‘उपत्यका बाहिर जोखिम अझै पनि उत्तिकै छ, किनभने लामखुट्टका लागि उपुक्त समय यही हो। त्यसैले सुरक्षाका उपायहरु अपनाउनु आवश्यक छ। वर्षेनी यस्तै समयमा डेगींको समस्या देखिने गरेको छ’, उनले भने।