
कोरोना संक्रमण र यसको प्यान्डेमिकले यति लामो समय पार गरिसकेको छ र यसको यात्रा निरन्तर देखिन्छ। हालसम्म यसले विश्वभरि साढे ६२ करोड जनसंख्यालाई संक्रमित गरिसकेको छ। साढे ६५ लाख जनसंख्याको ज्यान लिइसकेको छ। विश्वको कूल जनसंख्यामध्ये ७.९% जनसंख्यालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, विश्वको कूल जनसंख्याको ०.०८% जनसंख्या कोरोनाका कारण मृत्यु भएको छ। विश्वका कूल संक्रमितमध्ये १.०४% ले यसैका कारण ज्यान गुमाएका छन्।
संक्रमित हुनेमा, वर्लडोमिटरका अनुसार, हालसम्म विश्वको कूल संक्रमितमध्ये अमेरिकामा सबैभन्दा धेरै करिब १५.७%, त्यसपछि क्रमशः भारतमा ७%, फ्रान्समा ५.८%, जर्मनीमा ५.६%, ब्राजिलमा ५.५%, दक्षिण कोरियामा ४%, बेलायतमा ३.८%, इटालीमा ३.७%, जापानमा ३.५% र रसियामा ३.४% छ भने नेपालमा ०.१६% र उत्तरी मित्रराष्ट्र चीनमा ०.०४% छ। त्यस अर्थमा उच्च कोरोना संक्रमण रहेका दसौं देशसम्म हेर्दा अधिकांश अति विकसित देश छन्। त्यस्तै पहिलो र दोस्रो देशको फरक हेर्ने हो भने भारतभन्दा अमेरिकाको अनुपात दुई गुणाभन्दा धेरै छ।
ती १० देशका आफ्ना जनसंख्या र संक्रमितको अनुपात हेर्ने हो भने फ्रान्समा सबैभन्दा धेरै ५५.६% र त्यसपछि क्रमशः दक्षिण कोरियामा ४९.२%, जर्मनीमा ४१.७%, इटालीमा ३८.६%, बेलायतमा ३४.७%, अमेरिकामा २९.५%, जापानमा १७.५%, ब्राजिलमा १६.१%, रसियामा १४.६५%, र भारतमा ३.२% छ भने उत्तरी छिमेकी राष्ट्र चीनमा ०.०२% र नेपालमा ३.३% छ। अर्थात् फ्रान्सको कूल जनसंख्या मध्ये ५५.६%जनसंख्या कोरोना संक्रमित भइसकेका छन् भने अमेरिकामा २९.५%र नेपालमा ३.३% जनसंख्या हालसम्म संक्रमित भएका छन्।
त्यस्तै, हालसम्म विश्वको कूल संक्रमितमध्ये महादेशहरुमा सबैभन्दा धेरै यूरोपमा ३६.८%, त्यसपछि क्रमशः एसियामा ३०.४%, उत्तर अमेरिकामा १८.६%, दक्षिण अमेरिकामा १०.१७%, अफ्रिकामा २.०% र अस्ट्रेलियामा १.९८% संक्रमित छन् भने दक्षिण एसियामा १.९६% छन्। स्मरण रहोस् दक्षिण एसियामा मात्रै विश्वका करिब २१% जनसंख्या छ।
त्यस अर्थमा विश्वको कूल जनसंख्या मध्येमहादेशहरुमा सबैभन्दा धेरैयूरोपमा २.९%, त्यसपछि क्रमशः एसियामा २.४%, उत्तर अमेरिकामा १.५%, दक्षिण अमेरिकामा ०.८%, अफ्रिकामा ०.१५% र अस्ट्रेलियामा ०.१५% जनसंख्या संक्रमित भएका छन् भने दक्षिण एसियामा ०.६% संक्रमित भएका छन्।
यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर् याउनु हो।
विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण निकै न्यून देखिन्छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो छ। दक्षिण एसियाको पछिल्लो ७ हप्ता, सन् २०२२ सेप्टेम्बर १५ देखि अक्टोबर २२ (३५ दिन)कोकोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ।
पछिल्लो अवस्थामा दक्षिण एसियामा कोरोना संक्रमण क्रमशः घट्दै गई दैनिक संक्रमण न्यून देखिन्छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा समग्रमा दैनिक करिब ३००० संक्रमण देखिने गरेको छ। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक कोरोना संक्रमण घट्दै गएको छ।
त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि घट्दै गएको छ। पछिल्लो समय दैनिक २०मृत्यु देखिने गरेको छ।
नेपालको दैनिक नयाँ संक्रमण
सन् २०२२ अक्टोबर १६ देखि २२ (बि.सं २०७९ आश्विन ३० देखि कार्तिक ५)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न.२मा प्रस्तुत गरिएको छ।
यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, कार्तिक ५ गते शनिबारसम्म, देशभरि जम्मा २९३ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १०००४१६ पुगेको छ। दुईदेखि चार हप्ता अघिसम्मको साप्ताहिक कूल संक्रमण संख्या क्रमशः २५७, १०७, २२४ थियो।
त्यस्तै चित्र न.२ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ३.३८% देखि अधिकतम ९.८९%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ५.१३% रह्यो जुन दुईदेखि चार हप्ता अघिसम्म क्रमश ४.६७%,४.०२% र २.९८% थियो।
नेपालमा चार हप्तादेखि फेरि कोरोना संक्रमण दर बढ्दै गएको देखिएको छ। गत साताको अन्तिम दिन कार्तिक ५ गते शनिबार संक्रमण दर ९.८९% पुग्यो। यसरी चार हप्तादेखि प्रत्येक हप्ता दैनिक संक्रमण दर क्रमशः बढ्दै गएको छ। स्मरण रहोस् WHO का अनुसार दैनिक संक्रमण दर ५% भन्दा माथि हुनु संक्रमण नियन्त्रणभन्दा बाहिर गएको लक्षण हो। नेपालमा जुलाईमध्यदेखि बढ्दै गएको कोरोना संक्रमण अगस्ट पहिलो सातातिर उच्च बिन्दुमा पुगी सेप्टेम्बरको उत्तरार्धमा न्यून भएको थियो।
नेपालमा कोरोना मृत्यु भने शून्य भइसकेको छ। नेपालमा अन्तिम कोरोना मृत्यु आश्विन १२ गते देखिएको थियो र यसरी हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१८पुगेको छ।
गत हप्ता देशभरि जम्मा ५७१७ पीसीआर परीक्षण गरियो जुन संख्या दुईदेखि चार हप्ता अघिसम्म क्रमशः ६०२८, ३२४७र७८८३ थियो। साप्ताहिक परीक्षण संख्या भने बिगतभन्दा हाल क्रमशः कम हुँदै आएको देखिएको छ।
संक्षेपमा, पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमणमा कम हुँदै आएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ।
नेपालमा गत हप्ता, बि.सं २०७९ आश्विन ३० देखि कार्तिक ५, साप्ताहिक नयाँ कोरोना संक्रमण दुई हप्ताअघिको भन्दा बढेको छ। त्यस्तै, औसत साप्ताहिक संक्रमण दर पनि दुई हप्ताअघिको भन्दा बढेको छ। यसरी चार हप्ताको प्रवृत्ति हेर्ने हो भने साप्ताहिक कुल संक्रमण संख्या र औसत साप्ताहिक संक्रमण दर दुवै बढ्दै गएको देखिएको छ भने अर्कोतिर दैनिक परीक्षण निकै कम भई साप्ताहिक परीक्षण संख्या क्रमशः कम हुँदै गएको छ। संक्रमण बढ्दै जानु र परीक्षण घट्दै जानु एक आपसमा बिरोधाभाषपूर्ण कुरा हो।
पछिल्लो समय संक्रमण बढ्दै जानु दशैं तिहार पर्वका कारण बजार क्षेत्रमा भएको भीडभाडले गर्दा हुन सक्छ। यसले के पनि संकेत गर्छ भने नेपालको संसदीय र प्रादेशिक निर्वाचन पनि निकै नजिक आइसकेको अवस्थामा त्यसले गर्दा हुने भीडभाडका कारण कोरोना संक्रमण झनै बढ्न सक्छ। तसर्थ कोरोना संक्रमण रोकथामका लागि सम्बन्धित सबैले पर्याप्त मात्रामा परीक्षण गरी आवश्यक साबधानी अपनाउनुपर्ने देखिन्छ।
स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।
यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।