वीरगञ्ज – वीरगञ्ज महानगरमा रहेका उद्योगबाट निस्किने फोहोर बिना प्रशोधन सिधै सिर्सिया नदीमा मिसाइएको पाइएको छ। वीरगञ्ज महानगरपालिकाले सुरु गरेको नदी प्रदुषण नियन्त्रण अभियानका क्रममा गरिएको अनुगमनमा उद्योगहरुले र्सिसिया नदीमा सिधै फोहोर पानी मिसाएको पाइएको हो।
महानगरका उपप्रमुख इम्तियाज आलम, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलसहितको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा रहेका उद्योगमा मंगलबार बिहान अनुगमन गरेको थियो। अनुगमनको क्रममा वडामा रहेका अधिकांश उद्योगहरुले फोहोर पानी प्रशोधन गर्ने मेसिन नराखेको पाइएको थियो।
वडा नम्बर २१ मा रहेको शक्ति दाल मिल, अंकिता टेक्सटाइल र ब्रिटानिया कम्पनीमा अनुगमन गरिएको थियो। अनुगमनको क्रममा शक्ति दाल मिल र अंकिता टेक्सटाइलले केमिकलयुक्त पानी प्रशोधन गर्ने मेसिन नराखेको पाइएको महानगर उपप्रमुख आलमले जानकारी दिए। ती दुवै उद्योगलाई फोहोर पानी प्रशोधन गर्ने मेसिन जडान गर्न निर्देशन दिइएको आलम बताए।

वर्षौँदेखि र्सिसिया नदीमा वीरगञ्ज महानगरपालिकामा रहेका अधिकांश उद्योगले उद्योगबाट निस्केको फोहोर पानी सिधै नदीमा मिसाएका कारण नदी फोहोर बनेको छ।
प्रजिअ पौडेलले नदी फाहोर हुनुको मुख्य कारण यहाँका उद्योगहरुले प्लान्टबाट निस्कन फोहोर पानी सिधै र्सिसिया नदीमा मिसाउनु रहेको र पानी प्रशोधन मेसिन स्थापना गरेका उद्योगले समेत मेसिन राम्ररी सञ्चालन नगरी देखावटी रुपमा मात्रै राखेको पाइएको बताए।
ब्रिटानिया कम्पनीले फोहोर पानी प्रशोधन गर्ने प्लान्ट जडान गरेको तर प्रशोधन नगरी नदीमा फोहोर मिसाइरहेको पाइएको पौडेलले जानकारी दिए।

‘वाटर ट्रिटमेन्ट प्लानट राखेको छ। तर, सञ्चालनमा ल्याएको छैन। फोहोर पानी नदीमा मिसाएको हामीले पायौँ,’ उनले भने, ‘अगामी दिनमा फोहोर पानी नदीमा सिधै नफाल्न भनि उद्योग प्रशासनलाई जानकारी गराएका छौँ। फोहोर पानी सिधै नदीमा मिसाएको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएका छौँ।’
वडामा रहेका सबै उद्योगलाई आफू निर्वाचित भएपछि र्सिसिया नदीमा फोहोर पानी नमिसाउन मौखिक आग्रह र लिखित चिठीसमेत दिएको वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारले बताए। तर, सबै उद्योगले लिखित चिठीको जवाफसमेत नदिएको र फोहोर पानी मिसाउन पनि नछोडेको उनले बताए।


भर्खरै
लोकप्रिय






































































































































































































