जाडाेमा किन युरिक एसिडले धेरै दु:ख दिन्छ? (भिडियो)

+
-

‘युरिक एसिड’ सुन्दा सामान्य लागे पनि यसले धेरै समस्या निम्त्याउन सक्छ। खुट्टाको बुढी औँलाको जोर्नी सुन्निएर सुरु भएको दुखाइ त्यसको आसपासका जोर्नीसम्म पुग्न सक्छ। तर यसलाई धेरैजसोले बेवास्ता गर्ने गरेको पाइन्छ।

आफूलाई यूरिक एसिड भएको थाहा नहुँदा अधिकांश व्यक्तिहरु अन्य समस्यासँग समेत जुध्ने गरेको चिकित्सकहरुले बताएका छन्। समयमै यूरिक एसिडको उपचार नहुँदा युरिक एसिड धेरै भएको खण्डमा शरीरमा विभिन्न जोर्नीहरुमा गएर क्रिस्टल बन्ने कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेल बताउँछन्।

उनका अनुसार त्यति मात्र नभएर लामो समयसम्म युरिक एसिडको उपचार नगर्दा जोर्नीहरुमा अन्य विभिन्न समस्याहरु उत्पन्न हुन सक्छन्। र, यूरिक एसिडका कारण मिर्गाैलामा स्टोन बन्ने सम्भावना धेरै हुने डा. पौडेलले बताए। यूरिक एसिडले निम्त्याउन सक्ने जटिलताका बारेमा उनै कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेलसँग गरिएको कुराकानीः

युरिक एसिड भनेको के हो?

युरिक एसिड भनेको हाम्रो रगतमा ‘इस्टिमेट’ गरिने तत्व हो जुन हाम्रो शरीरमै उत्पादन हुन्छ। हामीले जुन खाने कुराहरु खान्छौँ, त्यसबाटै उत्पादन हुने कुरा हो। जस्तै मांसपेशीको विघटन भएर आउने या खानेकुरामा ‘प्यूरीन कन्टेनिङ’ भएको डाइटहरु छ भने त्यसबाट निसकिने तत्व जुन यूरिक एसिड हुन्छ जुन हाम्रो शरीरमा नियमित रुपमा बन्ने हुन्छ।

यूरिक एसिड हुँदा कस्ता लक्षणहरु देखा पर्छन्?

यूरिक एसिड हुँदा बिहानपख उठ्दा खुट्टाको बुढी औँला सुनिने, रातो हुनुका साथै दुखाइ हुने गर्छ, यो भनेको एकदमै सामान्य लक्षण हो। दोस्रो लक्षण भनेको खानामा प्रोटिनयुक्त खानेकुराहरु र प्यूरिन्स भयो, जस्तै रक्सी धेरै खाएकाे भोलिपल्ट या मासु खाएको भोलिपल्ट र नियमित रुपमा दहीको सेवन गर्ने व्यक्तिलाई जोर्नीहरु सुन्निनुका साथै जोर्नीमा दुखाई भयो भने त्यो यूरिक एसिडका कारण भन्ने हुन्छ।

अर्को भनेको युरिक एसिडले गर्दा मिर्गौलामा ‘स्टोन’ हुने सम्भावना धेरै हुन्छ जसलाई यूरिक एसिडको ‘स्टोन’ पनि भन्ने गरिन्छ।

यूरिक एसिड हुनुका कारक तत्वहरु के–के हुन्?

यूरिक एसिड हुनुको एउटा मुख्य कारक वंशानुगत हो। परिवारमा कसैलाई यूरिक एसिड छ भने यसको सम्भावना बढेर जान्छ। दोस्रो भनेको मोटोपना हो। तौल बढ्दै जाँदा युरिक एसिडको समस्या हुन सक्छ। तेस्रो भनेको धेरै मात्रामा रक्सीको सेवन हो। नियमित रुपमा रक्सीको सेवन अझ त्यसमा पनि बियरको सेवन धेरै छ भने यूरिक एसिड बढी हुने सम्भावना धेरै हुन्छ।

त्यस्तै अर्को मिर्गौलाको बिरामीहरुमा यूरिक एसिड बढी हुने गर्छ। किनभने यूरिक एसिड शरीरमा उत्पादन हुने प्रक्रियामा हुन्छ, हामीले खाएको कुराहरुबाट उत्पादन हुन्छ। त्यही कुराहरु मिर्गौलाबाट ‘फिल्टर’ भएर हाम्रो पिसाबमा आउनु पर्ने हुन्छ।

तर मिर्गौलाको बिरामीमा ‘फिल्ट्रेसन मेकानिजम’मा समस्या हुन्छ, त्यही भएर युरिक एसिड बढ्ने सम्भावना हुन्छ। र, केही क्यान्सरको बिरामीमा पनि युरिक एसिड बढ्ने सम्भावना हुन्छ।

पछिल्लो समयको जीवनशैली र यूरिक एसिडको समस्या बढ्नुमा केही सम्बन्ध छ?

दैनिक रुपमा मासु र रक्सीको सेवन बढ्नु अझ भनौँ नियमित रुपमा हुने गरेका पार्टीहरुले गर्दा युरिक एसिडको ‘प्रोपोर्सन’ बढाउने हुन्छ। यूरिक एसिड एकदमै सामान्य छ, सबैलाई थाहा छ। तर पनि सबै भन्दा ‘अन्डर ट्रिटमेन्ट’ भएको अवस्था हो। यूरिक एसिडको बिरामीमा यूरेट लोअररिङ थेरापी (यूएलटी) भनिन्छ, जसले यूरिक एसिडलाई ‘लोअर’ गरेर राख्ने अवस्था हुन्छ। त्यसमा यूरिक एसिडको ड्रग्स (औषधि) लामो समयसम्म खानु पर्ने हुन्छ।

कुनै पनि बिरामीमा लक्षण देखिएको छैन भने उनीहरुलाई हामीले उपचार गरिरहन जरुरी हुदैन। तर युरिक एसिडले गर्दा लक्षण देखिएको छ। जस्तै स्टोन देखियो,  जोर्नीहरुमा समस्या देखिरहेको छ, खुट्टाको बुढी औँलामा सुन्निरहेको छ भने उनीहरुले लामो समयसम्म औषधिको सेवन गर्नु पर्छ। यसमा पनि फेरि छुट्टाछुट्टै प्रकार हुन सक्छन्। ती प्रकार अनुसार लामो समयसम्म औषधि चलाउनु पर्ने हुन्छ।

कस्तो अवस्थामा यूरिक एसिड बढेको मान्ने?

महिलाको हकमा यूरिक एसिड ६ भन्दा तल छ भने त्यसलाई सामान्य मानिन्छ। र, पुरुष युवामा ७ सम्मलाई सामान्य मानिन्छ। तर ६ देखि ७ लाई बोर्डर लाइन भन्ने गरिन्छ। कतिपय मानिसले बेलुका धेरै मासु र रक्सी सेवन गरेका हुन्छ। उनीहरु पानी पिउदैनन् र ‘डिहाइड्रेटेड’ हुन्छन्। अनि उनीहरुलाई यूरिक एसिडले गर्दा दुखाइ बढ्न थाल्छ। यस्तो खालको बिरामीलाई हामी जाँच्दै गर्दा ६ भन्दा तल राख्छौँ र कहिलेकाहिँ ६ को सेरोफेरोमा राख्दा पनि दुखाइ भइरहयो भने ५ मा राख्छौँ। यस्तो बिरामीलाई हामी एकदमै कममा पनि राख्दैनौँ।

यसमा तथ्य प्रमाणहरु त छैन तर किनभने सिधै कममा राख्दा केही ‘न्यूरोजेनेटिक डिजिज’हरु अल्जाइमर्स, पार्किन्सन्स जस्ता समस्याहरु हुने हुन्छ कि भन्ने भनाइले गर्दा हामी युरिक एसिड सामान्यतया: ४ को रेन्जमा अझ भनौँ न, ५ भन्दा कम राख्छौँ। २ भन्दा तल राख्न हामी खोज्दैनौँ। ‘डोज एडजस्टमेन्ट’ एकदमै महत्वपूर्ण हुन्छ। हामीहरु यूरिक एसिडको उपचार गर्दा ६, ८ हप्ता लेख्छौँ, अनि छोड्दिन्छौँ। तर त्यसो होइन। यसको औषधिको डोज पनि बिस्तारै बढाउदै जानु पर्ने हुन्छ। शरीरलाई आवश्यक पर्ने अवस्थामा यूरिक एसिड पुगेपछि मात्र बिस्तारै औषधिको डोज घटाउदै जानु पर्ने हुन्छ।

त्यसमा पनि क्यान्सर, मिर्गौलाको बिरामी छ, जोर्नीका निरन्तर समस्या छ भने उनीहरुको त्यो जोर्नी जोगाउन त्यही अनुसारले उपचार गर्नुपर्छ।

युरिक एसिडको समस्या भएका व्यक्तिले ‘प्रोटिन’ भएका खानेकुराहरु खानु हुँदैन, भनिन्छ नि किन?

यो कुरा यूरिक एसिड कति छ भन्ने कुरामा भर पर्छ। प्रोटिनयुक्त खानेकुराहरु खाने बित्तिकै लक्षणहरु देखा परिहाल्छन् कि, बिरामीलाई यूरिक एसिड घटाउनु पर्ने औषधि खानु पर्ने छ कि छैन, यी सबै कुरा महत्वपूर्ण हुन्छन्। हामीले उपचारमा बाँडफाँट गर्नु पर्दा ‘एक्युट अट्याक’ (तुरुन्तै समस्या दिने अवस्था) लाई ‘रिकभर’ गर्नलाई एक्यूट यूरिक एसिडको समस्यालाई घटाउनु छुट्टै उपचार गर्नु पर्ने हुन्छ।

त्यसपछि डाइटलाई मोडिफिकेसन गर्नु पर्ने हुन्छ। त्योसँगै जोर्नीमा डिसेवलको समस्या नहोस् भन्ने कुरा आउँछ, मिर्गौलाको कुरा आउछ, यो सबै कुराहरुलाई व्यवस्थापन गर्नु पर्ने हुन्छ। त्यसैले युरिक एसिड भएको व्यक्तिले प्रोटिन खानै हुँदैन भन्ने हुदैन। दुई–तीन पिस मासु खान सकिन्छ, तर फेरि त्यतिले पनि दुखाइ हुन्छ भने त्यही अनुसारको औषधिको पनि सेवन गर्नु पर्छ। औषधि नै सेवन नगरी डाइटबाट मात्रै यूरिक एसिड घटाउँछु भन्ने हुँदैन। त्यसैले प्रोटिनको मात्र प्रयोग नै गर्न नमिल्ने भन्ने हुँदैन।पर्याप्त मात्रामा पानीको सेवन गर्नै पर्छ। दैनिक दुईदेखि तीन लिटर पानी पिउनै पर्छ। गर्मी मौसममा अझ बढी पनि चाहिन सक्छ। अर्को भनेको रक्सीको सेवन गर्नु भएन। मोटोपना छ भने तयो घटाउनु पर्‍यो। यी कुराहरु महत्वपूर्ण हुन्छन्। र, एकै ठाउँमा बसिरहनु हुँदैन।

जाडो सुरु भएसँगै यूरिक एसिडका बिरामीको संख्या बढ्ने भनिन्छ, चिसोका कारण उनीहरुको हातको खुट्टाको औँलाहरु सुन्नेर निलो हुने पनि भनिन्छ नि, यो सत्य हो?

कहिलेकाहिँ झुक्किन सक्छन्। युरिक एसिड पानीको सेवन कम गर्‍यो र प्रोटिनको डाइट बढाएर गयो भने बढ्न सक्ने सम्भावना रहन्छ। जाडोमा पिसाब बढी लाग्छ, पानी कम पिऊँ भन्ने हिसाबले हो भने त्यो गलत हो। यसो गर्दा ‘डिहाइड्रेसन’ हुने सम्भावना हुन्छ। पानी कम पिउँदा यूरिक एसिड हुने सम्भावना धेरै हुन्छ। त्यसैले पानी बढी पिउनुपर्छ।

अर्को कुरा आयो, औँला सुन्निने । यो आफैँमा चिसो मौसमका कारण हुने हो। चिसो मौसमले गर्दा हाम्रो औँलाको भाग रातो भएर फुल्ने समस्या हुन्छ। यसलाई हामी ‘चिल बिलेन्स्’ भन्छौँ। यो भनेको चिसोले गर्दा औँलाको नशाहरु खुम्चिन्छ र त्यसको कारण औँला सुनिने हुन्छ। यो भनेको फरक कुरा हो। यो जोडोसँगै जोडिएको छालामा हुने परिवर्तनको कुरामा आउँछ। चिसोमा यस्ता अन्य विभिन्न कारणले औँला सुनिने हुन सक्छ। यसरी औँला सुनिएको बेलामा हल्का मनतातो पानीमा राख्नु पर्छ। मनतातो पानीमा हात राखेर केही आराम मिलेपछि ‘स्टेरोइड’ क्रिमहरु प्रयोग गर्दा बिरामीले सहज महसुस गर्न सक्छन्।

चिसोमा औँला सुनिने सामान्य व्यक्तिलाई पनि हुन सक्छ। उनीहरुलाई चिसोमा ‘एक्सपोजर’ गराउनु हुँदैन। अर्को एक किसिमको बाथरोग हुन्छ, त्यसमा धेरै देखिन्छ। यो समस्या छ भने एक पटक चिकित्सकलाई देखाएर चिसोले मात्रै हो या बाथरोगले गर्दा हो, छुट्याउनु पर्ने हुन सक्छ। यो फरक कुरा रह्यो।

युरिक एसिडको उपचार कसरी गर्न सकिन्छ?

मैले माथि ‘एक्युट अट्याक’को कुरा गरिसकेको छु। यसमा बिरामीलाई एकदमै धेरै दुखाइ हुन्छ, हामीले यसमा दुखाइ कम गर्ने हो। त्यका लागि विभिनन प्रकारका ‘पेनकिलर’ (दुखाइ कम गर्ने औषधि)को प्रयोग गछौँ। त्यस्ता औषधिले काम गरेन भने ‘स्टेरोइड’को प्रयोग गर्नु पर्ने हुन्छ। यी ओषधीहरु प्रयोग गर्ने अवस्था भएन अने अन्य औषधीको प्रयोग गर्नु पर्ने हुन्छ। औषधीबाहेक अर्को भनेको डाइट र ‘लाइफ स्टाइल मोडिफिकेकसन’ नै हो। नियमित रुपमा व्यायाम गर्ने, पर्याप्त मात्रामा पानी पिउने गर्नु पर्छ। ‘भिटामिन सी’, क्याफिन युक्त खाने कुरा, एप्पल साइडरले बढी फाइदा गर्छ। यी खानेकुराहरुको प्रयोग गर्न सकिन्छ। मासु, दही खान नमिल्ने भन्ने होइन। अलिअलि खान मिल्छ, तर त्योसँगसँगै पानीको मात्रा पर्याप्त मात्रामा बढाउनुपर्छ। ‘प्रोटिन’ बढी भएका खानेकुरा खानेबित्तिकै दुखाइ हुन्छ भने यूरिक एसिडको भ्यालु कति छ, त्यो कुरा पत्ता लगाउन जरुरी हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?