
विश्वमा कोरोनाको नयाँ नयाँ भेरिएन्ट र सबभेरिएन्टको उत्पत्ति भइरहेको बेला भारत र दक्षिण एसियामा फेरि एक पटक कोरोना प्यान्डेमिकको नयाँ लहर आउँछ भन्ने समाचार र हल्ला हालसम्म हल्लामै सीमित भएको देखिन्छ।
यद्यपि, चीन र यसका अन्य छिमेकी देशमा यसले अहिले पनि ठूलै संकट सिर्जना गरेको भने पक्कै छ।
जापानमा हाल विश्वमै सबैभन्दा धेरै दैनिक कोरोना संक्रमण र दैनिक मृत्यु भेटिएको छ। WHOका अनुसार जापानमा हाल दैनिक नयाँ संक्रमणको हिसाबले त्यहाँको हालसम्मकै सबैभन्दा धेरैको हाराहारीमा पुगेको छ जुन दैनिक साढे दुई लाखजति हुन आउँछ। त्यस्तै, दैनिक नयाँ मृत्युको हिसाबले हाल त्यहाको हालसम्मकै सबैभन्दा धेरै दैनिक मृत्यु पुगेको छ जुन करिब साढे चार सय जति हुन आउँछ।
हाल जापानमा विश्वको कुल दैनिक नयाँ कोरोना संक्रमणको करिब ६०% र कुल दैनिक नयाँ कोरोना मृत्युको करिब ५०% देखिने गरेको छ। हाल जापानमा कोरोना भाइरसको BA5 भ्यारिएन्टका साथै ओमिक्रोनको BQ1, XBB सबभ्यारिएन्टहरु धेरै मात्रमा देखिएका छन् जसले भ्याक्सिन र एन्टीबडीबाट उम्किन सक्ने क्षमता राख्छन्।
यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।
यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्ध्यश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सहि चित्रलाई पाठकसमक्ष पुर्याउनु हो।
विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण घट्दो छ।
दक्षिण एसियाको पछिल्लो करिब तीन हप्ता, २०२२ डिसेम्बर १३ देखि २०२३ जनुवरी ४ (२३ दिन)को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्र कोरोना संक्रमण निकै न्यून र औसतमा दैनिक करिब ३०० जति संक्रमण देखिने गरेको छ। तर चित्र न. १ मा देखाइए जस्तै पछिल्लो करिब तीन हप्ताको दैनिक कोरोना संक्रमणको प्रबृत्ति हेर्ने हो भने दक्षिण एसियाको कुल दैनिक संक्रमणमा सामान्य वृद्धि भएको देखिन्छ।
त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु निकै कम देखिन्छ, औसत दैनिक करिब ५ भन्दा कम छ।
नेपालको दैनिक नयाँ संक्रमण
सन् २०२३ जनवरी १ देखि ७ (बि.सं २०७९ पौष १७ देखि २३) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।
नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, पौष २३ गते शनिबारसम्म, देशभरि जम्मा २० जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००१०२० पुगेको छ। दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमशः ३४ र १९ थियो।
त्यस्तै चित्र न. २ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.२४% देखि अधिकतम १.५५% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.७२% रह्यो जुन दुई र तीन हप्ताअघि क्रमशः १.५७% र ०.८८% थियो।
गत हप्ता नेपालमा कोरोना मृत्यु २३ गते शनिबारका दिन १ मृत्यु देखा परी हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०२० पुगेको छ।
गत हप्ता देशभरि जम्मा २६८० पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि २०९४ थियो।
संक्षेपमा, पछिल्लो समय विश्वमा कोरोना संक्रमण अझै पनि ठूलै संख्यामा देखिंदै आएको छ।
दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमणमा भने निकै कमी आएको भए पनि पछिल्लो समय दैनिक नयाँ संक्रमणमा सामान्य वृद्धि भएको देखिन्छ।
यद्यपि, हालसम्म दक्षिण एसियामा कोरोना संक्रमणमा फेरि वृद्धि भएको या प्यान्डेमिकको नयाँ लहर आउन लागेको लक्षण तथ्यांकले देखाएको छैन।
नेपालमा गत हप्ता, बि.सं २०७९ पौष १७ देखि २३, साप्ताहिक नया कोरोना संक्रमण केही साताको जस्तै निकै कम देखाएको छ। कोरोना मृत्यु भने लामो समयपछि गत शनिबार फेरि एक नयाँ मृत्यु देखिएको छ। स्मरण रहोस्, अघिल्लो कोरोना मृत्यु कार्तिक ७ गते सोमबारको दिन देखिएको थियो।
स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबवत हुन सक्छ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भीडभाड नगर्ने आदि साबधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।
पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।
यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ।
प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।