वीरगञ्ज – ठेक्का नै नपाएका ठेकेदारले वीरगञ्जको भेडाहा खोलामा डोजर प्रयोग गरेर गिट्टी–बालुवा निकालेको पाइएको छ। महानगरपालिकाको वडा नम्बर ३१ स्थित भेडाहा खोलाबाट स्वछन्द युनाइटेड बिल्डर्स जेभीले बालुवा गिट्टी निकाल्न डोजरको प्रयोग गरेको हो।
भेडाहा खोलाको ठेक्का भने स्वछन्द युनाइटेड बिल्डर्स जेभीले लिएको छैन। तर उसले वीरगञ्ज महानगरपालिकामा राजश्व तिरेर डोजरको प्रयोग गरेर गिटी बालुवा निकालेको हो।
वीरगञ्ज महानगरपालिकाभित्र सघन शहरी कार्यक्रमअन्तर्गत शहरी डिभिजन कार्यालयमार्फत १७ वटा रोड र नाला निर्माणको लागि १५ टिप बालुवा निकाल्न उक्त निर्माण कम्पनीले राजश्व तिरेर अनुमति पाएको थियो। पुस २५ र २६ गते दुई दिनभित्रमा बालुवा निकाल्ने गरी महानगरको राजश्व शाखाबाट अनुमति पाएको कम्पनीले डोजर प्रयोग गरेर खोलाबाट बालुवा उत्खनन् गरेको थियो।
कम्पनीले पाएको स्वीकृति पत्रमा भने बालुवा निकाल्नको लागि के प्रयोग गर्ने भन्नेबारे केही उल्लेख गरिएको छैन। यस्तै ट्याक्टरको टिप वा टिपरको टिप भन्नेबारेमा समेत केही खुलाइएको छैन।
डोजरको प्रयोग गरेर पाँच फिटभन्दा बढी गहिराइ बनाएर कम्पनीले बालुवा निकालेको हो। बालुवा निकाल्ने बेलामा भने त्यहाँ वीरगञ्ज महानगरका कुनै पनि आधिकारिक प्रतिनिधिसमेत खटाइएको थिएन।
यता वीरगञ्ज महानगरपालिकाका राजश्व शाखाका प्रमुख मनोज कर्णले डोजर लगाएर बालुवा लोड गरेको हुनसक्ने बताए। उनले लोड गर्नको लागि डोजर चाहिने भएकाले ठेकेदार कम्पनीले त्यस्तो गरेको जिकिर गरे।
उनले विकास निर्माणको काम रोकिएको भएर १५ टिप बालुवा निकाल्नको लागि अनुमति दिएको बताए। ‘डोजर प्रयोग गरेर बालुवा निकालेको त मलाई थाहा छैन। लोड गर्नको लागि डोजर प्रयोग गरेको हुनसक्छ। तर पनि डोजर प्रयोग भए/नभएको बारेमा म एकचोटि बुझछु,’ उनले भने।’
भेडाहा खोलाको ठेक्का भइसकेको बताउदै कर्णले अब चाँडै खोलाबाट विधिवत रुपमा नदीजन्य पदार्थ उत्खनन्को लागि सम्झौता हुने जानकारीसमेत दिए। भेडाहा खोला भने समयमा ठेक्का नलाग्दा त्यहाँबाट दैनिक सयौँ ट्याक्टर गिट्टी बालुवाको तस्करी हुँदै आएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































