वीरगञ्ज – कोरोना परीक्षण गर्नका लागि वीरगञ्ज नाकामा खटिएका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब पाएका छैनन्।
वीरगञ्ज नाकामा खटिएका १३ जना स्वास्थ्यकर्मीमध्ये ११ जनाले ५ महिनादेखि तलब नपाएका हुन्।
आर्थिक वर्ष सुरु भएपछि साउनदेखि नै कोरोना परीक्षणका लागि खटिएका आफूसहित ११ जनाले तलब पाउन नसकेको नाकामा खटिएकी स्वास्थ्यकर्मी इन्चार्जसमेत रहेकी डा.अनिशा महतोले बताइन्।
पाँच महिनादेखि तलब नपाउँदा आफूहरूलाई आर्थिक समस्याले सताएको उनले बताइन्। ‘हामी दिनरात कोरोना परीक्षण गर्न नाकामा खटिरहेका छौँ तर ५ महिनादेखि तलब पाएका छैनौँ,’ उनले भनिन्, ‘नाकामा १३ जना स्वास्थ्यकर्मी खटिरहेका छाँै, तीमध्ये मसहित ११ जनाले पाँच महिनादेखि तलब पाएका छैनौँ।’
स्वास्थ्य मन्त्रालयअन्तर्गत सरुवा रोग नियन्त्रण महाशाखाबाट मधेस प्रदेश सरकारलाई नाकामा खटिएका स्वास्थ्यकर्मीको तलब पठाइदिएको छ। तर, प्रदेश सरकारले वीरगञ्ज महानगरपालिकालाई स्वास्थ्यकर्मीको तलब नपठाएका कारण आफूहरूको तलब पाँच महिनादेखि रोकिएको डा. महतोको भनाइ छ।
साउनदेखि तलब नपाउँदा धुवाँधुलो र अहिलेको चिसोमा वीरगञ्ज रक्सौल नाकामा दिनरात खटिरहेका स्वास्थ्यकर्मीलाई तलब उपलब्ध गराइदिनका लागि कसैले हालसम्म पहल नगरेको त्यहाँ खटिएका स्वास्थ्यकर्मीको भनाइ छ।
आफूहरूले तलब नपाउनुमा मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको लापरवाही भएको स्वास्थ्यकर्मीको गुनासो छ। यता, प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.मुक्तिनारायण साहले भने वीरगञ्ज नाकामा खटिएका स्वास्थ्यकर्मीको तलब स्वास्थ्य निर्देशनालय सपही धनुषालाई पठाइसकिएको जानकारी दिए।

उनले स्वास्थ्य निर्देशनालयबाटै वीरगञ्ज महानगरपालिकालाई तलब पठाइने बताउँदै निर्देशनालयमा तलब पहिले नै गइसकेको बताए। ‘नाकामा खटिनु भएका स्वास्थ्यकर्मीको तलब स्वास्थ्य निर्देशनालयबाट पाउने हो,’ उनले भने, ‘उहाँहरूको तलब उहिल्यै स्वास्थ्य निर्देशनालय सपहीमा गइसकेको छ।’


भर्खरै
लोकप्रिय






































































































































































































