वीरगञ्ज – माघ १२ गते बिहीबारका दिन परेको सरस्वती पूजाका लागि अहिले वीरगञ्जमा रहेका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ। वीरगञ्जमा पर्सासँगै बारा जिल्लाका विद्यालयले पनि सरस्वती पूजाका लागि सरस्वतीको मूर्ति अर्डर गर्ने भएकाले यहाँका मूर्तिकार अहिले माटोको मूर्ति बनाउन व्यस्त छन्।
सरस्वती पूजामा अधिकांश विद्यालयका विद्यार्थीले सरस्वतीको मूर्ति खरिद गरेर विद्यालयमा पूजा गर्ने गरेका छन्।
उनीहरूले अहिले मूर्तिकार कहाँ पुगेर मूर्तिको अर्डर दिइरहेका छन्। आफूकहाँ वीरगञ्जलगायत पर्सा जिल्लाका विभिन्न विद्यालयबाट ६० वटा मूर्तिको अर्डर आएकाले दिनरात खटेर मूर्तिलाई अन्तिम रुप दिने काम गरिरहेको वीरगञ्ज महानगरपालिकाको मुरलीचोकमा मूर्ति बनाउने काम गर्दै आएका रंगलाल पण्डितले जानकारी दिए।
तीन तहका सरकारमध्ये कसैले पनि आफूहरूको पेसाबारे ध्यान नदिएकाले पूजाको समयमा मात्रै मूर्ति बनाउने काम गर्दै आएको उनले बताए।
‘पूजाको बेलामा मूर्तिको अर्डर आउँछ, यही बेला बनाउँछु अरू बेलामा खेती गर्नुपर्छ,’ उनले भने, ‘सरकारले हाम्रो पेसाको संरक्षण र विकासका लागि केही गरेको छैन।’
पण्डितले सरकारले आफूहरूको पेसाको विकासका लागि ध्यान दिए वर्षैभरि मूर्ति बनाउने काम गरेरै जीविकोपार्जन गर्न सकिने बताए। सरस्वती पूजा नजिकिँदै गर्दा अहिले बिहान ६ बजेदेखि रातिसम्म पनि मूर्ति बनाउन व्यस्त भएको वीरगञ्जस्थित लाल बंगला परिसरमा मूर्ति बनाउँदै गरेका छोटेलाल रामले बताए।

पर्साको पोखरिया नगरपालिका निवासी उनी पनि सधैँजसो मूर्ति भने बनाउँदैनन्। रामले सरस्वती पूजा, विश्वकर्मा पूजाको बेला घर भाडामा लिएर वीरगञ्जमा मूर्ति बनाउने काम गरेको बताए।
वर्षैभरि मूर्ति बनाउने मात्र काम गरेर घर चलाउन कठिन भएकाले राम पनि अन्य समयमा अर्कै काम गर्छन्। ‘अहिले मूर्तिको अर्र्डर आएपछि वीरगञ्जमा घर भाडामा लिएर केही मूर्तिकारलाई पनि बोलाएर मूर्ति बनाउने काम गरिरहेको छु’, उनले भने। उनले २५ सयदेखि १५ हजार रुपैयाँसम्मको मूर्तिको अर्डर आएको जानकारी दिए।


भर्खरै
लोकप्रिय






































































































































































































