
बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि हुने राम कथा प्रवचनको तयारी पूरा भएको छ। रामकथा प्रवचन कार्यक्रमका लागि भारतका प्रख्यात रामकथा वाचक मोरारी बापू रुपन्देही आइपुगेका छन्।
उनलाई सोमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, वसिउद्दिन खाँ, सीके गुप्ता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरेका थिए।
लुम्बिनीस्थित लुम्बिनी अन्तरराष्ट्रिय ध्यान केन्द्रमा हुने प्रवचनमा भारत तथा तेस्रो मुलुकका १६ सय बढी श्रद्धालु तथा अनुयायीहरु सहभागी हुने कार्यक्रम संयोजक राजेशकुमार अग्रवालले जानकारी दिए। लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम रहेको अग्रवालले बताए।
रामकथा प्रेम यज्ञ समिति लुम्बिनीको आयोजनामा हुने प्रवचन माघ २४ देखि फागुन ३ गतेसम्म चल्ने कार्यक्रम संयोजक अग्रवालले बताए। सो कार्यक्रमको केही संस्थाले विरोध गर्दै आएका छन्। सोमबार दिउँसो केही समय लुम्बिनी क्षेत्रमा सामान्य झडप भएपनि अवस्था सामान्य भएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।