
बुटवल – बुटवलमा कृषि मेला सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबारदेखि एघारौं संस्करणको कृषि मेला-२०७९ सुरु भएको हो। मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे।
मेलाको उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्र सुधारको लागि भइरहेको कृषिजन्य बस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिए। नेपाललाई कृषि प्रधान देश भनिएपनि कृषिजन्य बस्तुको उपभोग पनि आयातमा धानिएको बताउँदै उनले यही अवस्थामा अगाडि बढ्ने हो भने मुलुकको अर्थव्यवस्था झनै खस्किँदै जाने बताए।
मुलुकको अर्थव्यवस्था सुधारको लागि अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषिको व्यवसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने बताउँदै उनले यसतर्फ सरकार पनि गम्भिर हुनु पर्ने बताए।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले कृषिको व्यवसायिक विकासको लागि प्रवर्द्धनात्मक रुपमा कृषि मेला सञ्चालन गर्दै आएको बताए। उनले कृषि बस्तुको प्रवर्द्धन तथा विविधीकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवर्द्धन पनि एउटा माध्यम भएकोले कृषि मेलामा पोर्क (बंगुर)का परिकारसहितको फेस्टिवल आयोजना गरिएको बताए।
त्यसबाहेक च्याउ, दुग्ध, कोदो माछाका परिकार पनि मेलामा राखिने र खाने प्रवृत्तिको विकासले स्थानीय कृषि बस्तुको प्रवर्द्धन गर्नुको साथै पोषणमा सुधार तथा आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कुल ग्राहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिँदै आएको उनले बताए।
मेलाको उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यवसायिक विकासको लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको बस्तु उत्पादन, उत्पादित बस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति अरुण सुमार्गी, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सल्लाहकार तथा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले कृषि मेलाले कृषि क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउने बताए।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला यही फागुनको ६ गतेसम्म चल्ने छ। ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कृषि मेलामा ‘प्रथम पोर्क फेष्टिवल’ समेत आयोजना गरिएको छ। पोर्क फेष्टिवललाई मेलाको प्रमुख आकर्षणको रुपमा लिइएको छ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवासम्बन्धी जानकारीमूलक र पोर्क पेष्टिवलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए।
कृषिका अत्याधुनिक प्रविधितर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिने छ। त्यस्तै कृषिसम्बन्धी अन्तर्क्रिया तथा छलफल र दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा विक्रि वितरण तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ।