
बुटवल – लनटेनिसका नेपाल नम्बर वान अभिलाषा विष्ट र प्रदीप खड्काले बुटवलमा आयोजित पाँचौं राष्ट्रिय खुला लनटेनिस तथा प्रथम मेयर कप प्रतियोगितामा एकल महिला र पुरुषतर्फको उपाधि चुमेका छन्।
बुटवलको देवीनगरस्थित टेनिस भिलेजमा बुधबार भएको फाइनल स्पर्धामा महिलातर्फ विष्टले महिका राणालाई पराजित गर्दा पुरुषतर्फ खड्काले ऋतिक रानालाई पराजित गरे।
बुटवल ओपनकी गतवर्षकी उपविजेता विष्टले राणालाई ६–२, ६–० को सेटमा पराजित गरिन्। १२ वर्षदेखि लन टेनिस खेलमा सक्रिय विष्टले जितपछि भनिन्, ‘म मेरो विश्वासका कारण बिजेता बन्न सफल भएँ, म यसमा खुशी छु कि मेरो यसपटकको खेल धेरै राम्रो भयो।’
उनले नवौं राष्ट्रिय प्रतियोगितामा चार वटा स्वर्ण जितेकी थिइन्। मंगलबार भएको सेमीफाइनल प्रतिस्पर्धामा महिला एकलतर्फ राणाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन्। विष्टले रायना शाहलाई ६–३ र ६–४ को सेटमा हराउन सफल भइन्।
पुरुषतर्फ बुटवलका ऋतिक रानालाई पराजित गर्दै पहिलो वरीयताप्राप्त खड्का च्याम्पियन बने। हेड टु हेड ४–१ को अग्रतामा रहेका खड्काले यसपटक पनि आफ्नो दाबेदारीलाई कायमै राखेका हुन्। बुधबार भएको फाइनलमा खड्काले रानालाई ४–६, ६–३, र ६–२ अंकले पराजित गरे। खेलको शुरुवातीमा आक्रोशित मुद्रामा देखिएका खड्का खेलमा सम्हालिदै कम ब्याक गरेका थिए।
‘टेनिस दिमागको खेल पनि हो, प्रतिस्पर्धीलाई कसरी दबाबमा राख्ने भन्नेमा म सुरुमा कमजोर भएँ,’ उनले भने, ‘पछि म आफूलाई कन्ट्रोल गर्दै फर्ममा आएँ र मैले सहज जित हासिल गरेँ।’
रानाले भने ढाडमा समस्या देखिएपछि दोस्रो र तेस्रो सेटमा कमजोर भएको स्वीकारे। उनले थकान महसुस भएकाले सोचेअनुसारको प्रदर्शन गर्ने नसकेको बताए।
यसैगरी ३५ वर्ष उमेर समूहअन्तर्गत पुरुष एकलतर्फको उपाधि सन्तोष खत्रीले चुमे। बुधबार भएको फाइनल खेलमा खत्रीले सिमान्त गुरुङलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै उपाधि जिते।
यसैगरी ५५ वर्ष उमेर पुरुष एकलको उपाधि विमल गुरुङले हात पारे। फाइनलमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि चुमे।
विभिन्न उमेर समूहका विजेताहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
पुरस्कार वितरण गर्दै पाण्डेयले काठमाडौँकेन्द्रित राष्ट्रिय स्तरका खेललाई बुटवलमा ल्याउनका लागि अगुवाइ गर्न खेलप्रेमीहरुलाई आग्रह गरे।
उनले बुटवललाई खेलका माध्यमबाट राष्ट्रिय स्तरमै अगाडि ल्याउनका लागि बुटवल उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले आगामी दिनमा अरु स्तरीय प्रतियोगिता आयोजना गर्ने बताए। उनले खेलमा राष्ट्रियस्तरका खेलाडीको सहभागिताले बुटवलको गरिमा बढेको बताउँदै बुटवल उपमहानगरपालिकाको सहयोगमा आगामी दिनमा अरु धेरै स्तरीय प्रतियोगिता आयोजना गर्ने बताए।