
बुटवल – बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मर्स्याङदी र सुदूरपश्चिम–११ बीच आज प्रतिस्पर्धा हुँदैछ।
मनाङ र सुदूरपश्चिम–११ बीचको खेल शनिबार बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ। मनाङ सुदूरपश्चिमलाई हराएर उपाधि कब्जा गर्ने रणनीतिमा मैदान उत्रने तयारीमा छ।
सुदूरपश्चिम पनि ए डिभिजनको मनाङलाई हराएर गोल्डकप जित्ने ध्याउन्नमा हुनेछ। तर, मनाङलाई पराजित गर्न सुदूरपश्चिमलाई त्यति सहज भने हुने छैन। प्रतियोगिताअन्तर्गत बिहीबार भएको अन्तिम सेमिफाइनलमा काठमाडौँको फ्रेन्ड्स क्लबलाई पराजित गर्दै मनाङले सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई १–० गोलले पराजित गर्दै सुदूरपश्चिम–११ ले फाइनल यात्रा तय गरेको थियो।
विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोल रक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए ।