
विश्वमा कोरोना संक्रमण शान्त हुँदै गर्दा पछिल्लो समय दक्षिण एसियामा यसको चहलपहल फेरि एक पटक बढ्न खोजेको संकेत देखिएको छ। यो कुरा यस साप्ताहिक शृंखलाका पछिल्ला केही अंकमा उल्लेख हुँदै आएको छ र यो कुरा हालसम्म साबित हुँदै पनि गएको देखिन्छ।
करिब दुई महिनाअघि यस क्षेत्रको कुल दैनिक संक्रमण २ सय जतिमा सीमित भइसकेकोमा हाल यो संख्या ३००० नाघिसकेको छ र यसको प्रबृत्ति अझै बढ्दै गइरहेको देखिन्छ। संख्याको हिसाबले अझै सानै देखिए पनि प्रबृत्तिको हिसाबले यो खतराको सूचक हुन सक्छ।
यस क्षेत्रमा मूलतः भारत, अफगानिस्तान, पाकिस्तान र नेपालमा कोरोना संक्रमण निकै बढ्दै गएको प्रबृत्ति पछिल्लो समय देखिएको छ। भारतमा उत्तरदेखि दक्षिण सबैजसो राज्यमा कोरोना संक्रमण बढेको देखिन्छ भने नेपालको सरकारी तथ्यांकमा प्रदेश, अञ्चल या जिल्लाअनुसार कोरोना संक्रमणको संख्या खुलाएको देखिंदैन। यद्यपि नेपालमा भारतसँग जोडिएको सिमानाका क्षेत्रमा कोरोना संक्रमण बढेको समाचार सुनिंदै आएको छ। त्यस्तै WHO नेपालको प्रतिबेदनका अनुसार हाल देशमा देखिएका कोरोना संक्रमण मध्ये ५०% भन्दा धेरै काठमाडौँ उपत्यकामै भेटिने गरेको छ।
तर दैनिक संक्रमण दर अर्थात् संक्रमण पोजिटिभिटी हेर्ने हो भने भारतभन्दा नेपालको संक्रमण दर अत्यधिक देखिन्छ। पछिल्लो तथ्यांकअनुसार भारतमा दैनिक संक्रमण दर हालसम्म ३.५% भन्दा कम देखिएको छ भने नेपालमा अधिकतम २४% भन्दा माथि पुगिसकेको छ। दैनिक संक्रमण दर भन्नाले प्रति १०० परिक्षण गरिएकोमा कति पोजिटिभ भेटियो भन्ने बुझिन्छ। नेपालमा केही हप्ता अथवा १-२ महिना अघिसम्म यो दर झन्डै ०% मा झरिसकेको थियो।
हाल भारतमा देखापरिरहेको कोरोना भ्यारिएन्ट, भारत सरकारको बिज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गतको बायोटेक्नोलोजी बिभागका अनुसार, XBB.1.16 हो जुन ओमिक्रोन भ्यारिएन्टको सबैभन्दा धेरै फैलिएको उपभ्यारिएन्ट मानिन्छ। नेपालमा हाल देखिएको भ्यारिएन्ट कुन प्रकारको हो स्वास्थ्य मन्त्रालयको दैनिक कोरोना बुलेटिनमा खुलाइएको देखिंदैन।
विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियाको पछिल्लो सात हप्ता, फेब्रुअरी १३ देखि अप्रिल ४ (५१ दिन), को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ। पछिल्लो करिब सात हप्तामा दक्षिण एसियामा कुल कोरोना संक्रमण संख्या, चित्रमा देखाइए जस्तै, निरन्तर उकालो लाग्दै गएको देखिन्छ र दैनिक संक्रमण संख्या ३००० नाधेको छ जुन डेढ महिनाअघि करिब २०० को हाराहारीमा थियो।
त्यस्तै पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रबृत्ति पनि केही बढ्न खोजेको देखिन्छ, हाल यो संख्या १०-१५ पुगेको छ जुन डेढ महिना अघि २-३ मात्रै थियो।
नेपालको दैनिक नयाँ संक्रमण
सन् २०२३ अप्रिल २ देखि ८ (बि.सं २०७९ चैत्र १९ देखि २५) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, चैत्र २५ गते शनिबारसम्म, देशभरि जम्मा ३६६ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००१७५० पुगेको छ। यसरी नेपालमा डेढ महिनाभन्दा लामो समयदेखि साप्ताहिक संक्रमण संख्या क्रमसः बढ्दै गई ७ बाट ९, १२, १९ २७ र १७७ हुँदै गत हप्ता निकै वृद्धि भई ३६६ पुगेको छ।
त्यस्तै चित्र न. २ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम १३.७३% देखि अधिकतम २४.४% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १९.३३% पुगेको छ जुन दुई हप्ता अघि ८.१२% थियो।
करिब डेढ महिनाभन्दा लामो समयदेखि संक्रमण संख्याका साथै दैनिक संक्रमण दरमा पनि क्रमशः वृद्धि हुँदै गई गत हप्ता यसले नयाँ कीर्तिमान बनाएको छ। स्मरण रहोस् WHOका अनुसार दैनिक संक्रमण दर ५% भन्दा माथि रहे समुदायमा कोरोना संक्रमण अनियन्त्रित भई फैलिएको भन्ने बुझिन्छ ।
गत हप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र केही महिनादेखि देशको कुल कोरोना मृत्यु १२०२०मै कायम रहेको देखिन्छ।
गत हप्ता देशभरि जम्मा १८५५ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि २१३७ थियो।
संक्षेपमा, पछिल्लो समय विश्वभरि कोरोना संक्रमण कम हुँदै गएको परिप्रेक्षमा दक्षिण एसियामा यसले फेरि केही प्रभाव पर्दै गएको देखिन्छ।
पछिल्लो सात हप्ताभन्दा लामो समयदेखि दक्षिण एसियाको कुल दैनिक कोरोना संक्रमण संख्यामा निरन्तर र उल्लेख्य वृद्धि हुँदै आएको छ। यो संख्या बिगतको अनुपातमा अझै पनि न्यून रहे पनि सात हप्ताभन्दा लामो समयमा सबैभन्दा अधिक हो।
नेपालमा पनि गत हप्ता, बि.सं २०७९ चैत्र १९ देखि २५, साप्ताहिक नयाँ कोरोना संक्रमण संख्या डेढ महिनाअघिकोभन्दा निकै बढेको छ। नेपालमा डेढ महिनाभन्दा लामो समयदेखि साप्ताहिक संक्रमण संख्या र संक्रमण दरमा निरन्तर वृद्धि हुँदै जाने क्रम जारी नै देखिन्छ।
यदि यसै क्रमले दक्षिण एसिया र नेपालमा कोरोना संक्रमण बढ्दै जाने हो भने यसले नयाँ प्यान्डेमिक लहरको रुप नलेला भन्न सकिँदैन। तसर्थ नेपालमा सम्बन्धित निकायले यसप्रति गम्भीर दृष्टिकोण राखी जनचेतनाका साथै रोकथामका उपाय पनि तत्काल लागू गर्नुपर्ने देखिन्छ।
स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसकेता पनि उन्मूलन भने भइसकेको छैन।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भीडभाड नगर्ने आदि साबधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।
यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।