
बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले दाबी पेश गरेका छन्। नेकपा माओवादी केन्द्रसहित ८ दलीय गठबन्धनका ५३ जना सांसदको हस्ताक्षरसहित चौधरीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
मंगलबार प्रदेश प्रमुख अमिककुमार शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई बहुमत सिद्ध गरेर सरकार गठनको लागि आह्वान गरेका थिए।
उनले आज दिउँसो ४ बजेसम्मको समयभित्र दाबी पेश गर्नको लागि आह्वान गरेका थिए। नेता चौधरीले तेश्रो पटक मुख्यमन्त्रीमा दाबी पेश गरे। नेता गिरी अल्पमतमा परेलगत्तै गठबन्धनले सरकार गठनको लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको थियो।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनको लागि कम्तिमा पनि ४४ सांसदको आवश्यकता पर्दछ। अहिले संसदमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका १०, राप्रपा, नागरिक उन्मिुक्ति पार्टीका ४–४, जसपा, लोसपा, जनमत पार्टीका ३–३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद १–१ जना रहेका छन्।
आजै कांग्रेस नेता चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ। नेकपा एमालेका नेता लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।