
पछिल्लो समय कोरोना प्यान्डेमिकले दक्षिण एसियालाई निशाना बनाएको करिब साढे दुई महिना भइसकेको छ। यस अवधिमा यस क्षेत्रमा कुल कोरोना संक्रमण र कोरोना मृत्यु निरन्तर बढ्ने क्रम हालसम्म जारी नै देखिन्छ। तर संख्याको आधारमा अझै पनि त्यति धेरै या भयभित हुनै पर्ने स्थिति देखिएको छैन।
हाल विश्वमा औसतमा कुल करिब ५० हजारदेखि ७५ हजार संक्रमण दैनिक देखापर्ने गरेको छ, जसमध्ये सबैभन्दा अधिक युरोप र त्यसपछि दक्षिण एसियामा भेटिने गरेको छ। दक्षिण एसियामा हाल एकैदिन अधिकतम १३ हजारसम्म संक्रमण देखिएको छ, जुन संख्या विश्वको कुल कोरोना संक्रमणको करिब २० प्रतिशत हुन आउँछ।
विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियाको पछिल्लो करिब दुई महिना, फेब्रुअरी १३ देखि एप्रिल २४ (७१ दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र नं. १ मा देखाइएको छ। विगत दुई महिनाभन्दा लामो समयदेखि दक्षिण एसियामा पुनः सुरु भएको यस पटकको प्यान्डेमिक लहर चित्रमा देखाइएजस्तै निरन्तर उकालो लाग्दै गएको देखिन्छ र पछिल्लो समय दैनिक संक्रमण संख्या अधिकतम १३ हजार नाघेको छ, जुन दुई महिनाअघि करिब २०० को हाराहारीमा थियो।
त्यस्तै, पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रवृत्ति पनि केही बढ्न खोजेको देखिन्छ, हाल यो संख्या औसतमा २० नाघेको छ र अधिकतम ४७ पुगेको छ, जुन करिब तीन महिनाअघि २-३ मात्रै थियो।
नेपालको दैनिक नयाँ संक्रमण
सन् २०२३ अप्रिल २३ देखि २९ (बि.सं २०८० वैशाख १० देखि १६) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।
नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, २०८० वैशाख १६ गते शनिबारसम्म, देशभरि जम्मा ३८४ जना नयाँ संक्रमित थपिइ जम्मा संक्रमितको संख्या १० लाख २ हजार ९४१ पुगेको छ। दुई हप्ताअघि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्या ४२९ पुगेको थियो।
त्यस्तै, चित्र नं. २ ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रवृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ७.४९ प्रतिशतदेखि अधिकतम ११.०८ प्रतिशतसम्म रही साताभरिको औसत पोजिटिभिटी दर ८.८८ प्रतिशत पुगेको छ, जुन दुई हप्ताअघि ११.३ प्रतिशत थियो।
विगत करिब दुई महिनादेखि नेपालमा संक्रमण संख्याका साथै दैनिक संक्रमण दर पनि केही तलमाथिबाहेक क्रमशः वृद्धि हुँदै जाने क्रम जारी छ। स्मरण रहोस्, WHOका अनुसार दैनिक संक्रमण दर ५ प्रतिशतभन्दा माथि रहे समुदायमा कोरोना संक्रमण अनियन्त्रित भइ फैलिएको भन्ने बुझिन्छ।
गतहप्ता नेपालमा ३ कोरोना मृत्यु भेटियो, जुन दुई हप्ताअघि ५ थियो र हालसम्म देशको कुल कोरोना मृत्यु १२ हजार ३० पुगेको छ। विगत करिब चार महिनाभन्दा लामो समयदेखि कोरोना मृत्यु नेपालमा भेटिएको थिएन। हाल आएर फेरि कोरोना मृत्यु हरेक हप्ता बढ्दै गएको छ।
गतहप्ता देशभरि जम्मा ४ हजार १५१ पीसीआर परीक्षण गरियो, जुन संख्या दुई हप्ताअघि ३ हजार ५५० थियो। यसरी विगत करिब साढे दुई महिनादेखि परीक्षण संख्यासँगै संक्रमण संख्या पनि क्रमशः बढ्दै गएको छ।
संक्षेपमा, हाल दक्षिण एसियामा कोरोना संक्रमण बढ्ने क्रम जारी रहेको छ। जुन करिब साढे दुई महिनाअघि सुरु भएको थियो। हाल विश्वमा कोरोना संक्रमण युरोप, दक्षिण एसिया र उत्तर पूर्वी एसिया अर्थात् जापान , कोरियामा सबैभन्दा अधिक देखिने गरेको छ।
नेपालमा पनि गतहप्ता, वि.सं २०८० वैशाख १० देखि १६, साप्ताहिक नयाँ कोरोना संक्रमण संख्या बढ्ने क्रम जारी नै रह्यो। गतहप्ता दुई हप्ताअघिको भन्दा साप्ताहिक कोरोना संक्रमण, कोरोना मृत्यु र दैनिक कोरोना संक्रमण दरमा केही कमी देखिएता पनि वर्तमान कोरोना प्रवृत्ति ढुक्क भएर बस्न सक्ने खालको देखिँदैन। तसर्थ हालको यस्तो अवस्थामा परीक्षण प्रशस्त गरी लुकेर बसेका संक्रमण पत्ता लगाउनु जरुरी छ।
स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वव्यापी र देशव्यापी निकै कमी आइसकेकता पनि उन्मूलन भने भइसकेको छैन।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ, त्यसको कुनै निश्चित अड्कल छैन, जुन कुरा हाल विश्वका विभिन्न देशहरुमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्दछ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाइका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।
यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ, त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।