
काठमाडौँ – यही जेठ २६ गते हलमा दुई नेपाली चलचित्र भिड्दैछन्। चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ सो दिनबाट देशभरका हलमा लाग्ने भएका हुन्।
‘वेलकम टु हेम्जाकोट’ निर्देशक सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् भने ‘नीरफूल’मा फूलमान बलले निर्देशन गरेका हुन्।
‘वेलकम टु हेम्जाकोट’ गतवर्षको कात्तिक २५ मा प्रदर्शन आउने भनिएपनि विभिन्न कारणले सर्दै २६ जेठबाट आउन लागेको निर्माण पक्षले जनाएको छ।
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्मित यो फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदीप राई, स्व.जयनन्द लामा लगायतको अभिनय छ।
तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्का फिल्मका निर्माता हुन्। फिल्मले २०७९ सालको मङ्सिरमा काठमाडौँमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको थियो। कास्कीको पर्यटकीय स्थल हेम्जाकोट वरपर फिल्मको सम्पूर्ण छायाङ्कन भएको हो।
यसैगरी, ‘नीरफूल’ २०७२ भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्ष कथामा बनेको फिल्म हो। दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी लगायतको फिल्ममा अभिनय छ।
अभिनेत्री रेखा थापाको विशेष भूमिकामा रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ।
फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानसराज, रोशन फ्युबालगायतको समेत अभिनय छ।