बुटवल उपमहानगरले सार्वजनिक गर्‍यो एक वर्षको उपलब्धि

बुटवल उपमहानगरले सार्वजनिक गर्‍यो एक वर्षको उपलब्धि
+
-

बुटवल – बुटवल उपमहानगरपालिकाले एक वर्षका उपलब्धि सार्वजनिक गरेको छ। गत वर्ष भएको स्थानीय तहको निर्वाचनपछि चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक वर्ष पुगेको अवसरमा उपमहानगरपालिकाले मंगलबार (जेठ ९ गते) एक वर्षका उपलब्धि सार्वजनिक गरेको हो।

बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले ४९ बुँदे उपलब्धि सार्वजनिक गरे। उपलब्धि तथा प्रयासहरू सार्वजनिक गर्दै उनले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलबासीको हितमा नीति निर्माण, बजेट निर्माण, कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालयहरू, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताए।

बुटवलबासीले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवलको विकासमा फड्को मार्नेगरी काम गर्ने उनले बताए। ‘हामी जनताका सेवक हौँ, यहीअनुरूप प्रतिबद्ध भएर समृद्ध बुटवल बनाउने अभियानको महायज्ञमा निरन्तर सेवाभावले लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘स्थानीय निर्वाचनमा बुटवलबासीले दिनुभएको अमूल्य मत, माया, सद्भाव र प्रेमलाई आफ्नो मन मस्तिष्कमा राखेर बुटवलबासी र बुटवलको हितलाई सर्वोपरी मानी आफ्नो क्षमता र विवेकले भ्याएसम्म निरन्तर समर्पित भइ खटिइरहने प्रतिबद्धता जनाउँदछु।’

नगरप्रमुख पाण्डेयले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उद्देश्यले चरणबद्ध रूपमा बुटवलका १० हजारभन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव संकलन गरेको बताए।

नगर प्रमुख पाण्डेयले बुटवलका मुख्य चुनौतीका रूपमा देखिएका ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहीन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा स्थानीय सरोकारवालासँग पटकपटक छलफल गरिएको बताए।

त्यस्तै, उनले सार्वजनिक उपलब्धि तथा प्रयासहरूमा बुटवल–१३ र १७ मा १५/१५ बेडका अक्सिजनसहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी साउनदेखि नै सञ्चालनमा आउने बताए।

आधुनिक पशु बधशाला निर्माण सम्पन्न भइ छिट्टै नै सञ्चालन गर्ने तयारीमा रहेको र बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाएर वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख पाण्डेयले बताए।

बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि ईआईए भइरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिकापथलगायत सार्वजनिक स्थानहरूको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको बताए।

कार्यक्रममा बुटवल–३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरूमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताए।

त्यस्तै, तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पुर्‍याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भईरहेको उपलब्धि तथा प्रयासमा समेटिएको छ।

यस्तैगरी, सडक क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत, इन्टरनेट, केवलका तारहरूले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, ४ प्रकारका जटिल रोगहरू मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय ९० जना बिरामीलाई मासिक ५ हजार उपलब्ध गराइरहेको उपमहानगरपालिकाले बताएको छ।

त्यस्तै, जटिल रोग अनुदान सहयोग कार्यक्रमअन्तर्गत १ सय ४५ जनालाई प्रतिबिरामी १७ हजार बिरामीकै बैंक खातामा उपलब्ध गराइएको र ८ प्रकारका जटिल रोगीमध्येका १ सय ४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिश गरिएको पनि उपलब्धिमा समेटिएको छ।

निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र संघीय सरकारकै काममा आफूहरूले समय खर्चेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।

चालु आर्थिक वर्षका लागि २ अर्ब ३५ करोडको अनुमानित बजेट प्रस्तुत गरिएकोमा वैशाख मसान्तसम्ममा वार्षिक बजेटको ५०.०४ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ आम्दानी अनुमान गरिएकोमा यही जेठ ७ गतेसम्ममा ३९ करोड ८ लाख रुपैयाँ आम्दानी भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?