कविता

के थाहा साथी, अर्को भेट होला कि नहोला!

के थाहा साथी, अर्को भेट होला कि नहोला!
+
-

साथी,
तिमीसँगको मुलाकातमा
बात धेरै मार्नु छ।
खै कहाँबाट सुरु गरौं?

के सम्झन्छौँ?
तिमीले बुबाको गोजीबाट
पैसा चोरेको,
हामी स्कुल बंक गरेर
स्कुल ड्रेसमै
बसको हुडमा चढेर
फिलिम हेर्न गएको,
पसिनाले निथ्रुक्क भिजेर
सिलिङ फ्यानको खिटखिटसँगै,
फर्स्ट क्लासमा घाँटी अरर्‍याउँदै
फाइट र नाचहरूले भरिएको सिनेमा हेरेको।

साँझ, तिम्रा बाले तिमीलाई सुम्ल्याएका थिए
बाँसको लौरोले,
त्यो रात तिमी सुत्यौ कि सुतेनौ?
अर्को दिन तिमीले देखाएका थियौ
जिउका डामहरू।
डाह असह्य भएर
पैनीको फोहोर पानीमा फाल हानेका थियौ!
पछि निस्कँदा,
जिउभरि भ्यात्लुङ टाँसिएका थिए।
नुन छर्किछर्की निकाल्नु परेको थियो,
रगतले ढाडिएको भ्यात्लुङ उर्फ पानीजुका।

साथी, बिर्सेको छैनौ होला!
हल्ला गर्‍यो भनेर
सरले कक्षाबाट निकाल्दिएका थिए।
अंग्रेजीको पाठ नघोकेर
कक्षामा कुखुरा बन्नु परेको थियो
अनि,
केटाहरूको लहैलहैमा
केटी जिस्क्याउँदा
भोलीपल्ट लाइनमा राखेर
म्याडमको चुटाइ खाएको थियौ।

साथी, तिमीलाई याद आउंछ?
स्कुलको किताबभित्र
कोर्स बाहिरका कथा र उपन्यासहरू
लुकाइलुकाइ पढेको,
पत्रिका पसलमा पैसा नतिरी
पूरै पत्रिका पढिसिध्याएको,
पैसा नहुँदा आधा प्लेट समोसा चाट खाएको,
कपाल सैलुनमा छिरेर पानी छर्कँदै
आफूलाई हिरो सम्झेर
घरतिर लागेको।

साथी, पक्कै सम्झना होला!
समाजवाद र साम्यवादका ठेली केलाउँदै
देशका लागि कुन वाद चाहिन्छ भन्दै कुर्लेको,
गोर्की र देवकोटाका
साहित्यमा बहस चलाएर घण्टौँ बिताएको,
लेमन टीको चुस्की लगाउँदै
देश र संसार बदल्ने सपना देखेको,
साँझमा फुत्त निस्केर
प्रजातन्त्र र लोकतन्त्र जिन्दावाद भन्दै
सत्ता परिवर्तन गर्ने जुलुसमा हिँडेको।

कतिपय सम्झना अब त बाँकी पनि छैन होला,
छन त केवल रोजमर्राको दैनिकी।
म यहां असिनपसिन हुंदै
अग्लो क्रेनमा चढेर
बनाउँदै छु,
मरुभूमिका गगनचुम्बी भवनहरू।
तिमी कोर्दैछौ आफ्नो सपनाको पदचाप
कुनै पाताल लोकमा छिरेर।
भर छैन, म यहीँ कुनै यस्तै भवनले किचिन पनि सक्छु
तिमी, तीव्र गतिको मोटर वा अन्धो बन्दुकको गोलीले समाधिस्थ पनि हुन सक्छौ।

भाग्यले फेरि भेट भएछ भने साथी
केलाउँला सम्झनाका पत्रपत्रहरू
अँगालो मारेर हाँस्दै गफिँउला
क्यापुचिनोको चुस्की लगाउँदै।
के थाहा साथी
अर्को भेट हुने मौका जुर्ला या नजुर्ला!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?