
करिब तीन वर्षभन्दा लामो समयसम्म चलेको कोरोना प्यान्डेमिक हाल निकै सुषुप्त भइसकेको छ। WHO का अनुसार हालसम्म विश्वभरि करिब पौने एक अर्ब कोरोना संक्रमण देखापरिसकेको छ र ७० लाख जतिले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्। यसै क्रममा हाल विश्व एकचोटि फेरि खुला भइसकेको छ र मानिस फेरि निर्बाध घुमफिर गर्न सक्ने भएका छन्।
विश्वमा देखिएका कोरोना संक्रमणमध्ये युरोपमा सबैभन्दा धेरै, विश्वको कुल संक्रमणको करिब ३६% देखिएको छ। त्यस्तै एसियामा ३२%, उत्तर अमेरिकामा १८%, दक्षिण अमेरिकामा १०%, अस्ट्रेलियामा २% र अफ्रिकामा २% भन्दा केही कम देखिएको छ।
त्यस्तै विश्वमा देखिएका कुल कोरोना मृत्युमध्ये युरोपमा सबैभन्दा धेरै, विश्वको कुल मृत्युको करिब ३०% देखिएको छ। त्यस्तै उत्तर अमेरिकामा २४%, एसियामा २२%, दक्षिण अमेरिकामा २०%, अफ्रिकामा ४% र अस्ट्रेलियामा १% भन्दा कम देखिएको छ।
हाल विश्वभरि कोरोना संक्रमण निकै कम भए पनि तीमध्ये संक्रमण केही अधिक देखिएका देशमा अमेरिका, फ्रान्स, अस्ट्रेलिया आदि पर्छन् जहाँ हाल पनि वर्ल्डोमिटरका अनुसार दैनिक केही हजार नयाँ कोरोना संक्रमण तथा २०-३० जना कोरोना मृत्यु देखापरिरहेका छन्।
विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियाको पछिल्लो करिब दुई महिना, सन् २०२३ मे १ देखि जुन ६ (३७ दिन) को कोरोना प्यान्डेमिक सम्बन्धी तथ्यांकको विश्लेषण चित्र नं. १मा देखाइएको छ। तीन महिनाअघि नेपाल, भारत लगायत दक्षिण एसियामा प्यान्डेमिकको सानो लहर देखापरेको थियो जुन हाल आएर निकै शान्त भइसकेको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय यस क्षेत्रमा दैनिक कुल संक्रमण संख्या औसतमा ६०० जति र दैनिक कुल मृत्यु ५ जति रहेको छ।
नेपालको दैनिक नयाँ संक्रमण
सन् २०२३ जुन ४ देखि १० (बि.सं २०८० जेष्ठ २१ देखि २७) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र नं. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, जेष्ठ २१ देखि २७ गते शनिबारसम्म, देशभरि जम्मा १० जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००३३५३ पुगेको छ। दुई हप्ताअघि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्या १८ पुगेको थियो।
त्यस्तै चित्र नं. २ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.००% देखि अधिकतम २.३८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.७३% पुगेको छ जुन दुई हप्ताअघि १.४% थियो।
गत हप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्म देशको कुल कोरोना मृत्यु १२०३१ पुगेको छ।
गत हप्ता देशभरि जम्मा ८०० पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि १२४४ थियो।
संक्षेपमा, विश्वमा हाल कोरोना संक्रमणमा निकै कमी आइसकेको छ र दैनिक संक्रमण र मृत्यु करिब प्यान्डेमिकपूर्वको अवस्थामा पुगिसकेको छ।
हाल दक्षिण एसियामा पनि कोरोना संक्रमणको प्रबृत्ति घट्दै गई निकै न्यून तथा नगण्य भएको देखिन्छ।
नेपालमा पनि गतहप्ता, बि.सं २०८० जेष्ठ २१ देखि २७, साप्ताहिक नयाँ कोरोना संक्रमण संख्या निकै घटेको छ। गतहप्ता दुई हप्ताअघिको भन्दा साप्ताहिक कोरोना संक्रमण, कोरोना मृत्यु र दैनिक कोरोना संक्रमण दर आधाभन्दा कम भएको छ। पछिल्लो समय नेपालमा कोरोना मृत्युका साथै कोरोना संक्रमण पनि शून्यसरह भइसकेको छ। संक्रमणमा कमी आएसँगै हाल नेपालमा कोरोना परीक्षण पनि निकै कम गरिँदै आएको छ।
स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि यसको अवशेष अझै पनि बाँकी छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।
यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।