
वीरगञ्ज पर्साको ग्रामीण भेगमा रहेकाे पोखरिया अस्पतालमा चाहेको बेलामा उपचार सेवा नपाइने गरेको स्थानीयबासीले गुनासो गरेका छन्।
नगरपालिकामा रहेको पोखरिया अस्पतालमा गुणस्तरीय उपचार सेवा तथा औषधीसमेत नपाउने गरेको स्थानीयबासीहरूको भनाइ छ। अस्पतालको सेवा प्रभावकारी नहुँदा दोस्रो सदरमुकामको रूपमा रहेको पोखरिया नगरपालिकासँगै आसपासका पालिकाहरूका बिरामीसमेत मर्कामा परेका छन्।
आफ्नै गाउँघरको नजिकै सेवा पाइने उद्देश्यले पोखरिया अस्पताल खोलिएको भए पनि त्यहाँ उपचार प्रभावकारी रूपमा नहुँदा नगरबासीसँगै आसपासका पालिकाका बिरामीहरूलाई समेत वीरगञ्ज नै आउनुपर्ने बाध्यता रहेको छ। पोखरिया नगरपालिकासँगै पोखरिया असपतालमा धोबिनी गाउँपालिका, छिपहरमाई, ठोरी, पकहा मैनपुर, जगरनाथपुर गाउँपालिका लगायतका बिरामीहरू उपचारको लागि पुग्ने गरेका छन्। तर पोखरिया अस्पतालमा सहज र राम्रो उपचार सेवा नपाएर उनीहरू बाध्य सदरमुकाम वीरगञ्जकै अस्पतालमा आउने गरेका छन्।
पोखरियामा अस्पताल खुलेको भए पनि त्यहाँको उपचार सेवा प्रभावकारी नभएको पोखरिया नगरपालिका ४ निवासी सत्यनारायण पासवानले बताए। पोखरिया अस्पतालमा विशेषज्ञ चिकित्सकको कमी र प्रभावकारी उपचार सेवा नहुनुका साथै त्यहाँ उपचार गराउन जाँदा औषधीसमेत नपाउने गरिएको बिरामीहरूको भनाइ छ। उनीहरूले अस्पतालमा डाक्टरहरूले लेखिदिएका औषधीहरू अस्पतालमा नपाइने गरेको बताए।
सरकारले आम नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउनको लागि स्वास्थयबिमा कार्यक्रम लागु गरेपनि बिमा गराएकाहरूले पोखरिया अस्पतालमा उपचार गराउन जाँदा औषधी नै नपाइने गरेकाले बाध्य भएर निजी औषधी पसलबाट खरिद गर्नुपर्ने अवस्था रहेको मिश्रुल नेशाले गुनासो गरिन्।
यता, पोखरिया अस्पतालमा चिकित्सिकहरूले सकेजतिको सेवा दिएको तथा औषधीहरू समेत पाउने गरेको दाबी गर्छन्- अस्पतालमा मेसु डा.गोपाल यादव। उनले सरकारले निःशुल्क गरेका औषधीहरू अस्पतालकै फार्मेसीमा उपल्बध रहेको बताउँदै डाक्टरहरू पनि बिरामीको उपचारमा कुनै लापरवाही नगर्ने गरेको जानकारी दिए।
पोखरिया अस्पताललाई अहिले मधेस प्रदेश सरकारले एक सय बेडको अस्पतालमा स्तरोन्नति गर्ने जनाएको छ। जसका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि अस्पतालको स्तरोन्नतिको योजना समावेश गरिसकिएको छ।