
वातावरण मानवीय स्वास्थ्यको अलवा समस्त जीवजन्तु, वनस्पति, किटपतंगको अस्तित्व, विकास र उनीहरूको पारिस्थितिक प्रणालीको सञ्चालनसँग जोडिएको महत्त्वपूर्ण विषय हो। वर्तमान सन्दर्भमा मानव स्वास्थ्य, वातावरणीय सुरक्षा एवं संरक्षण राज्यको दायित्व अन्तर्गत पर्दछ भने स्वच्छ तथा स्वस्थ वातावरणमा जीउनु सबै नागरिकको हक र अधिकारको रूपमा रहेको छ।
पछिल्लो समयमा वातावरणलाई मानव अधिकारको आयामको रूपमा हेर्न थालिएको छ। नेपाल पनि स्वच्छ वातावरण विनाशको बढ्दो दर त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अलग रहन सक्दैन। वातावरण विनाश वातावरण प्रदुषणको कारक तत्व हो। वातावरण प्रदूषणमा वायु, जल, जमिन, ध्वनिजस्ता प्रदुषणहरू पर्दछन्।
यस्तो पर्यावरणीय तत्वहरूको समयमा नै समुचित तवरले संरक्षण गर्न सकिएन भने मानवीय अस्तित्व नै खतरामा पुग्छ। नेपालको सहरी क्षेत्रहरूमा वायु प्रदुषण र ध्वनि प्रदुषणको समस्या उच्च रहेको छ। काठमाडौँ उपत्यकामा बढ्दो सहरीकरण साथै अत्यधिक सवारीसाधनको सञ्चालन, विकास निर्माणका क्रियाकलापले विश्वका प्रदूषित सहरहरूको सूचीमध्येमा अग्रपङ्तिमा रहेको प्रतिवेदनहरूमा उल्लेख गरिएको छ।
त्यसैले केन्द्रीय सरकार र स्थानीय सरकारहरूका संयुक्त पहलमा नयाँ कार्ययोजना बनाइ वातावरण स्वस्थ बनाउनु र अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई ख्याल गरी वातावरणको संरक्षण र सम्वर्द्धन गर्न नीतिगत, कानुनी, संस्थागत बन्दोबस्त गर्दै प्रदुषण नियन्त्रणका कार्यक्रमतर्फ क्रियाशीलता देखाउनु आवश्यक छ।
काठमाडौँ उपत्यका समुद्री सतहबाट सरदर १ हजार ३ सय मिटरभन्दा माथि उचाइमा रहेको कचौरा आकारको उपत्यका हो। उपत्यकामा बहने हावाको अध्ययनअनुसार सामान्य अवस्थामा दक्षिणकाली बागमती किनारा हुँदै तराईबाट थानकोट तथा भीमढुंगा भन्ज्याङ हुँदै दक्षिण पश्चिमको धादिङबाट र मुड्खु तथा तीनपिप्ले भन्ज्याङ हुँदै उत्तर पश्चिमको नुवाकोटबाट उपत्यकामा हावा प्रवेश गर्छ।
राज्यले भौगोलिक स्थितिलाई ख्याल गरी प्रदुषण न्यूनीकरण गर्न प्रभावकारी रूपमा पहल कदम उठाउनुपर्छ। संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउनु नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेको छ। तर काठमाडौँ उपत्यकाको वायु साँच्चिकै हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेको सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरू आइरहेका छन्।
काठमाडौँको वायु प्रदुषणको अवस्था मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक चरणमा पुगेको पनि आइक्यु एयरको प्रतिवेदनले जनाएकाे छ। काठमाडौँमा वायु प्रदुषणको मुख्य कारकमा धुलो र धुवाँ देखिएको छ।
उपत्यकाको वायु प्रदूषणको अहिलेको अवस्थाले बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामीलाई समस्यामा पार्ने पनि बताइएको छ। अधिकांश अस्पतालहरूमा फोक्सो, निमोनिया, र मुटुरोगका बिरामी बिस्तारै देखा पर्न थालेका र यो क्रम बर्सेनि बढ्दो क्रममा रहेको छ।
यस्तो भयावह अवस्था आउने खतराको घन्टी बजिसक्यो तर सरोकारवाला निकायहरू भने कानमा तेल हालेर बसेका छन्। वातावरण प्रदुषणले सबै पक्षलाई असर गर्छ। जसकारण हामी सबै पक्ष मिलेर बढ्दो वायु प्रदुषणलाई न्यूनीकरण गर्नेतर्फ ठोस योजना र प्रतिबद्धासहित अगाडि बढ्ने बेला आएको छ।
काठमाडौँको वातारण पनि हाम्रो हेलचक्य्राइँका कारण बर्सेनि खस्कँदो अवस्थामा छ । अघिल्लो सालभन्दा धेरै नै गर्मि भयो भन्दै उचचारण गर्ने र कस्तो पोलुशन भन्दै सडकमा हिड्ने तर आम मानिसले वातारण स्वच्छ राख्नको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न पहल कदमी नलिनु पनि हामि सबैको वाताबरण बिगार्नमा हात रहेको भन्न सकिन्छ । तर पछिल्लो समयमा केन्द्रीय सरकार देखि प्रदेश र स्थानीय तह सम्म काठमाण्डौ लगायत वरपरको वाताबरण सफाई र वायु प्रदुषणलाई रोक्न उन्लेखानिय रुपमा योजना बनाई बजेट बिनियोजन गरेको पाइएन ।
प्राकृतिक/मानवीय कारकको रूपमा रहेको वन क्षेत्रमा लाग्ने डढेलो कम गराउन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । यसका लागि काठमाडौँ उपत्यका वरपरका क्षेत्रहरुमा बनजंगल नजिक डढेलो निभाउने फोर्सलाई आधुनिक समानताले छुट्टै डढेलो निभाउने फोर्सलाई आधुनिक सरसामानले सुसज्जित बनाइनुपर्दछ । प्रतिरक्षा अवस्थामा राख्नु पर्ने वन क्षेत्रमा हुनसक्ने आगलागी बारे स्थानीय तहबाट समुदायलाई सचेत गराउनुपर्ने र सचेतना फैलाउनुपर्छ ।
पछिल्लो समयमा काठमाडौँ उपत्यकामा समुदायमा रहेका सबै मानिसले स्वस्थ हावा प्राप्त गर्ने उदेश्यले अहिले सम्म काठमाडौँजस्तो प्रदुषण भएको ठाउमा एउटा पनि “अक्सिजन जोन” को पनि अबधारणा नल्याउनु दुखद हो । संसारका हाम्रो भन्दा कम प्रदुषण भएका शहरहरुमा पनि “अक्सिजन जोन” राखिएको छ । तर काठमाडौँ महानगरपालिकाले समयमा नै पियोर “अक्सिजन जोन” अबधारणा नल्याएको पाईएकोले छिट्टै कम्तिमा उपत्यकामा ५ देखि ७ वटा अक्सिजन जोन बनाउनुपर्छ ।
काठमाडौँ उपत्यकाको वायु प्रदूषणजन्य स्रोतहरुको वृद्धि तथा तिनीहरुले उत्सर्जन गर्ने प्रदूषणको उच्च मात्राले गर्दा सबैभन्दा बढी प्रदूषित भएको देखिन्छ । उपत्यकाको जनसंख्यामा तीव्र वृद्धि सँगै वढेको शहरीकरण, अदुरदर्शी, प्रयाप्त अध्ययन अनुसन्धान तथा पूर्व तयारी बेगर गरिएका सरकारी निर्णयहरु, कृषियोग्य जमिनको निरन्तर ह्रास, उद्योगधन्दाहरुको स्थापना, यातायातका साधनहरुको बढ्दो चाप, साँघुरा तथा अव्यवस्थित सडक, अवैज्ञानिक ट्राफिक व्यवस्थापन एवं सडक, ढल, खानेपानी जस्ता भौतिक पूर्वाधारहरुको विकासले गर्दा प्रदूषणजन्य स्रोतहरु पछिल्लो दुई दशकमा उल्लेख्य मात्रामा बढेका हुन् । हालको काठमाडौँ उपत्यकाको वायुको अध्ययन गर्दा वायु प्रदूषक निष्काशन गर्ने प्रमुख स्रोतहरुमा निर्माण क्रियाकलापहरु, यातायात क्षेत्र, ईंटा उद्योगहरु, औद्योगिक व्वाईलर, उपत्यका वरपरका सिमेन्ट, ढुङगा तथा क्रसर उद्योगहरु, फोहोरमैला व्यवस्थापन प्रणाली, घरायसी क्रियाकलापहरु पर्दछन् ।
सार्वजनिक बिदाका दिन प्रदूषणको मात्रा घट्नुले सवारी साधनहरू कम गुडेकोले हुन सक्दछ । तसर्थ काठमाडौंको वायु प्रदूषण हुनुका धेरै कारकमध्ये धेरै गुड्ने पुराना सवारी साधनहरू पनि प्रमुख कारक हुन सक्छन् ।
प्रदूषण निराकरणका उपाय :
प्राकृतिक/मानवीय कारकको रूपमा रहेको वन क्षेत्रमा लाग्ने डढेलो कम गराउन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । यसका लागि काठमाडौँ उपत्यका वरपरका क्षेत्रहरुमा बनजंगल नजिक डढेलो निभाउने फोर्सलाई आधुनिक समानताले छुट्टै डढेलो निभाउने फोर्सलाई आधुनिक सरसामानले सुसज्जित बनाइनुपर्दछ । प्रतिरक्षा अवस्थामा राख्नु पर्ने वन क्षेत्रमा हुनसक्ने आगलागी बारे स्थानीय तहबाट समुदायलाई सचेत गराउनुपर्ने र सचेतना फैलाउनुपर्छ ।
वातावरण प्रदूषणको अवस्थालाई कम गर्न दिल्ली सरकारले वृक्षरोपण र रूखबिरुवा संरक्षणलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा नेपालका सहरी क्षेत्रमा पर्यावरणीय सन्तुलन कायम राख्न यो गतिलो उदाहरण बन्न सक्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकामा सबैभन्दा धेरै जनसङ्ख्या छन् । त्यसमाथि काठमाडौँ उपत्यकामा त झन् जनघनत्व उच्च छ । अर्थात् काठमाडौं जिल्लामा ५,१०८ जना प्रतिवर्ग किलोमिटर जनघनत्व छ ।जनघनत्व उच्च भए पनि हरियाली प्रबर्द्धन र रुख बिरुवाको संरक्षणमा उल्लेख्य पहल भएको देखिँदैन । बरु भएका रुख बिरुवा पनि सडक विस्तारदेखि अनेक बहानामा फँडानी भएका छन् । जसरी दिल्लीमा एउटा रुख काट्न १० बिरुवा रोप्नुपर्ने प्रावधान छ, काठमाडौँमा चक्रपथ विस्तारको नाममा होस् या अरु नाममा त्यहाँ रुख काटिए पनि त्यसको पूर्ति गर्नेगरी अरु रुख रोप्ने वा संरक्षणमा प्रभावकारी पहलकदमी भएको देखिँदैन । वातावरण सरक्षणमा मुख्य भूमिका काठमाडौँ महानगर पालिकाको हुनें भएको हुँदा यसको नेतृत्व पनि महानगर पालिकाले गर्नु पर्छ ।
काठमाडौँ हरियाली बिनाको कङ्क्रिट सहर भएको भनेर टिकाटिप्पणी समेत हुँदै आएको छ । परिणामस्वरुप अव्यवस्थित सहरीकरणले अनेक समस्या निम्त्याउने खतरा बढ्दो छ । दिल्लीले हरियाली प्रवर्द्धनलाई उच्च प्राथमिकता दिँदै गर्दा हाम्रोमा चाहिँ किन यसतर्फ आशातीत पहलकदमी हुन सकिरहेको छैन ? बेलाबेला काठमाडौँ समेत प्रदूषित सहरको नम्बर एक सूचीमा पर्ने गरेको तितो यथार्थका बीच के हामीले हरियाली प्रवर्द्धनमा पहलकदमी लिन सक्दैनौँ ? अहिले सरकारी तबरबाट भएका पहलकदमी कति प्रभावकारी छन् त ? सानो सावधानीबाट पनि ठूलो क्षति रोक्न सकिन्छ ।
सडक निर्माण कार्य भएका स्थानहरूमा समय–समयमा पानी छर्किएर धुलोका कणहरूलाई उड्न नदिने उपायहरू अवलम्बन गर्ने गर्नुपर्दछ । स्थानीय तहमा नै खुला फोहोरहरू प्लास्टिक जन्य पदार्थलाई जलाउने कार्य तत्काल बन्द गर्नुपर्दछ । सबै तहबाट फोहरलाई कम्पोस्ट बनाउने, बायोग्यास बनाउने, पुन: प्रयोग गर्ने तवरले अघि बढ्नुपर्दछ । नवीकरणीय इन्धन र स्वच्छ उर्जा उत्पादनमा ध्यान दिंदै सौर्य, हावा जस्ता वैकल्पिक ऊर्जाको प्रयोग जति सक्दो बढाउनुपर्ने देखिन्छ ।
यसैगरी काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा विद्युतीय शक्तिको प्रयोग गरी दिगो प्रणालीतिर उन्मुख गराउनुपर्छ । फुटपाथ र साइकल लेन विस्तारसँगै भएका लेनहरूलाई थप व्यवस्थित गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रलाई वैकल्पिक ऊर्जातिर लगानी गर्न प्रेरित गर्नुपर्ने, विद्युतीय सवारी साधनहरूमा आयात कर र सडक कर दुवै कम गराइनुपर्दछ ।
वायु प्रदूषणले मानव लगायत सम्पूर्ण प्राणी जगतको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुर्याइरहेको हुन्छ । त्यसैले वायु प्रदूषण गराउने कारकहरू पत्ता लगाई त्यसलाई न्यूनीकरण एवं नियन्त्रणमा हातेमालो गरी अगाडि बढ्नु आजको आवश्यकता हो । यस कार्यका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सबै सरकारहरुले एकीकृत रुममा क्रियाशीलता बढाई योजनाबद्व ढंगबाट वायु प्रदूषण कम गर्न र वातावरण संरक्षण गर्नुपर्ने देखिन्छ । त्यसमा पनि काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरुले एकमुष्ठ योजना बनाई समन्वयात्मक ढगबाट उपत्यकाको बढ्दो वायु प्रदूषणलाई कम गर्न र वातावरण स्वस्थ राख्न यथोचित बजेट छुट्टाई कार्यको थालनी गर्नु पर्दछ ।
(अधिकारी वातावरण पत्रकार समूह (NEFEJ) की अध्यक्ष हुन्।)