कक्षा १ देखि एमएसम्म प्रथम भएका रामप्रसाद मानन्धर

कक्षा १ देखि एमएसम्म प्रथम भएका रामप्रसाद मानन्धर
+
-

अत्यन्त होनहार व्यक्ति थिए, प्रा. रामप्रसाद मानन्धर (जनवरी ८, १९१४–अक्टोबर ९, १९८८)। उनी दरबार हाइस्कुलमा कक्षा एकदेखि १० सम्म प्रथम भए । पटना विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र कलेजबाट आइए, बिए तथा २१ वर्षको उमेरमा सोही विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए परीक्षा दिएकामा पनि उनी प्रथम नै भए ।

सन् १९२९ मा नेपालको प्रथम विद्यालय, दरबार हाइस्कुलबाट एसएलसी, १९३१ मा आइए, १९३३ मा बिए र १९३५ मा एमए गरेका उनलाई पटना विश्वविद्यालयको परीक्षामा प्रथम स्थान हासिल गरेबापत नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री जुद्धशमशेरकै पालामा विशेष कदरस्वरूप गोरखा दक्षिणबाहुले विभूषित गरिएको थियो।

विद्यावारिधि र सो सरह तथा स्नातकोत्तर एवम् स्नातक तहमा स्वदेशी, विदेशी शैक्षिक संस्थाबाट प्रथम स्थान हासिल गरेका नेपाली विद्यार्थीहरुलाई उनीहरुको उपलब्धि तथा योगदानको कदरस्वरुप महेन्द्र विद्याभूषण प्रदान गर्ने प्रथा फेब्रुअरी १९, १९६४ का दिन पर्ने राष्ट्रिय प्रजातन्त्र दिवसदेखि सुरू गरिएको हो । यो पहिलो सुशोभन समारोहमा श्री ५ महेन्द्रबाट शीतल निवासमा आयोजित एक विशेष कार्यक्रममा उपाधि वितरण गरी जलपान समारोहसमेत आयोजना गरिएको थियो ।

यो पहिलो समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने ५० जना विभूषित भएकामा परराष्ट्र सचिव, राजदूत तथा विशिष्ट विद्वान् प्रा. रामप्रसाद मानन्धर पनि थिए । दुई पटक संयुक्त अधिराज्यमा सेवा गरी युरोपमा समेत यथेष्ट ज्ञानअनुभव सँगालेका उनले बेलाबेलामा काठमाडौंमा बेलायतबारे प्रवचन दिए । काठमाडौंस्थित ब्रिटिस काउन्सिलमा अगस्ट १२, १९६६ मा उनले दिएको ‘मैले चिनेको बेलायत’ विषयक प्रवचनले सहभागी स्रोतबाट ठूलो सराहना आर्जेको जनकारी उनका विद्यार्थी प्रा. यदुनाथ खनालले मलाई बताएका थिए । त्यति बेला खनाल भारतका लागि राजदूत थिए ।

स्वदेश र विदेशमा शैक्षिक विशिष्टता हासिल गर्ने नेपालीहरुलाई विभूषित गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न केही वर्ष ढिलो भएको थियो । सायद यो स्थिति देशमा राजनीतिक र व्यवस्थापकीय परिवर्तनले उब्जेको परिस्थितिका कारण आएको हुन सक्छ । स्मरणीय छ, यस कार्यक्रमको चार वर्षअघि अर्थात् पहिलो जननिर्वाचित सरकार रहेकै समयमा राजदरबार सचिवालय, प्रेस सचिव अफिसबाट नोभेम्बर १९, १९५९ मा एक विज्ञप्ति प्रकाशन गरी श्री ५ महेन्द्रले १९६१ सालदेखि प्रजातन्त्र दिवसका अवसरमा प्रत्येक वर्ष “त्रिभुवन विश्वविद्यालय, सो सरहका वा त्योभन्दा माथिका शिक्षालयले डि–लिट, डिएससी र सो सरहका वा सोभन्दा माथिका परीक्षाहरु एवम् पिएचडी, पोस्टाचार्य र सो सरहका परीक्षाहरुमा विधिवत् उत्तीर्ण हुने नेपाली नागरिकहरु तथा एमए, एमबिबिएस, बिई र सो सरहका परीक्षाहरुमा प्रथम हुने वा प्रथम श्रेणीमा उत्तीर्ण हुने नेपाली नागरिकहरुलाई पनि श्री ५ को सरकार शिक्षा मन्त्रालयको तत्सम्बन्धी वार्षिक सिफारिसका आधारमा कुनै प्रकारको पारितोषिक बक्सने निर्णय गरिबक्सेको” सूचना उल्लिखित थियो ।

मानन्धरको उदाहरणीय शैक्षिक उपलब्धिले  तत्कालीन  समयमा ठूलो स्याबासी र प्रचारप्रसार पायो । डिसेम्बर २८, १९३३ मा नेपालकै पहिलो दरबार पाठशाला स्कुलले सरस्वती पूजाको कार्यक्रम गर्‍यो।  त्यो कार्यक्रमका तीन प्रमुख विशेषता थिए । पहिलो, कार्यक्रममा राणा प्रधानमन्त्रीको उपस्थिति । १९०१ मा केही महिनाअघि मात्र प्रधानमन्त्री रहेका आफ्ना दाजु देवशमशेरलाई चन्द्रशमशेरले दरबार स्कुलको पुरस्कार वितरण कार्यक्रमलगत्तै राणा परिवारको अंशबन्डामा परेको विवाद समाधान गर्ने निहुँमा लगी अपदस्थ गरेका थिए ।

त्यस घटनापछि आफूलाई शक्तिशाली सम्झिएका स्वयम् चन्द्रशमशेर र उनका उत्तराधिकारी भीमशमशेरले यस्तो कार्यक्रममा भाग लिएको पाइएन । राणा प्रधानमन्त्रीका लागि लामो समय राजनीतिक र व्यक्तिगत अपसकुन भनिएको यो कार्यक्रममा धार्मिक रुढिमा विश्वास गर्ने भए पनि जुद्धशमशेरले सहजतापूर्वक भाग लिनु आफैंमा एक महत्त्वपूर्ण घटना थियो ।

सरसरती हेर्दा विद्यालयको सरस्वती पूजा एक वार्षिक र नियमित शैक्षिक कार्यक्रम जस्तो मात्र देखिए पनि त्यति बेलाको परिवेशमा यो कार्यक्रम एक विशिष्ट जमघट थियो । यस समारोहलाई नेपालको सम्पूर्ण शैक्षिक गतिविधिको प्रतिच्छाया, दीक्षान्त समारोह, सुशोभन कार्यक्रम, शैक्षिक विकासको स्थिति, पुरस्कार वितरण, विदेशमा पढ्न पठाइएका विद्यार्थीहरुको तथ्याङ्क प्रस्तुति, शैक्षिक संस्थामा नियुक्ति र पदोन्नति, सरकारी सेवा आदि महत्त्वपूर्ण कार्यहरुको सम्मिश्रण र एकीकृत स्वरुप मान्न सकिन्छ ।

शैक्षिक उपलब्धि उल्लेख गरी उक्त कार्यक्रममा प्रधानमन्त्रीसमक्ष तत्कालीन शिक्षासम्बन्धी प्रमुख डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन मेजर जनरल मृगेन्द्रशमशेरले पेस गरेको प्रतिवेदनमा मानन्धरले हासिल गरेको परीक्षाको उत्कृष्ट नतिजाबारे चर्चा गरिएको थियो । उनको प्रतिवेदनको एक अंशमा पटनाबाट रामप्रसाद मानन्धरको चहकिलो शैक्षिक उपलब्धि सम्बन्धमा प्राप्त सूचनाबारे मुक्तकण्ठले प्रशंसा गरिएको थियो-

‘हाम्रो एउटा विद्यार्थी रामप्रसादले स्कुलका पढाइले म्याट्रिकमा र कलेजको पढाइले आइएमा युनिभर्सिटीमा पैला भई दोस्रा लडकालाई धेरै नम्बर जिती कत्रो खुबी देखायो, सो सरकारमा जाहेरी छ ।’

डाइरेक्टर जनरलको सोही प्रतिवेदनमा धेरै वर्षसम्म स्कुलमा र पछि त्रिचन्द्र कलेज खडा भएदेखि कलेजमा समेत प्रथम प्रिन्सिपल (प्राचार्य) भएका “मान्य सरदार बटुकृष्ण मैत्र (मोइत्र)को कोलकातामा मृत्यु भएको खबर आएकाले अपसोच लागेको छ । उनले करिब ५० वर्षसम्म सरकारको सोझो चिताई सेवा गरेको” कुरा पनि उल्लेख गरिएको थियो । बटुबाबुले लामो समय नेपालको शिक्षा सेवामा संलग्न रही चन्द्रशमशेरको  परराष्ट्रसम्बन्धी सल्लाहकार भएर पनि काम गरे । साथै प्रधानमन्त्रीसँग बेलायत भ्रमणमा पनि गए ।

पुरस्कार वितरण समारोहमा पहिले अङ्ग्रेजी र पछि नेपालीमा आफ्नो भाषण दिँदै जुद्धशमशेरले उक्त दिन विभूषित गरेका व्यक्तिमध्ये धेरैजसो पछि देशको समग्र प्रशासन तथा परराष्ट्र सम्बन्धसँग संलग्न रहे । यी व्यक्तिहरुमा जनरल केशरशमशेर, लेक दमनशमशेर, प्रदीप्त मान्यवर बडाकाजी मरीचिमान सिंह, सरदार (पछि बडाकाजी) माणिकलाल राजभण्डारी र प्रिन्सिपल नरेन्द्रमणि आचार्य दीक्षित थिए ।

उपरोक्त तीन विशेष पक्षबाहेक डाइरेक्टर जनरल मेजर जनरल मृगेन्द्रको रिपोर्टमा विद्यालयको प्रगति र जुद्धशमशेर स्वयम्को आफ्नो विद्यार्थी जीवनमा यस संस्थासँगको आबद्धता अन्य महङ्खवपूर्ण विषय रहेको मान्न सकिन्छ । प्रतिवेदनमा “संवत् १९१० (१८५४)मा स्थापित दरबार स्कुल नै नेपालमा अङ्ग्रेजी शिक्षाको केन्द्र हो । प्रारम्भमा जुन स्कुलमा ६० विद्यार्थी र ६ शिक्षक थिए, अहिले यहीं ६९६ विद्यार्थी र १८ शिक्षक छन् । सरकारले समेत यही स्कुलमा पढिबक्सँदा पुरस्कारसम्म पनि ली बक्सिएको छ । यस स्कुलको सबैभन्दा ठूलो गौरवको कुरा यही नै हो” भनी विद्यालयको स्थापनाकालदेखि आठ दशक अवधिको प्रगति विवरण, विद्यार्थी शिक्षक अनुपात र सो विद्यालयमा अध्ययन गर्ने राणा प्रधानमन्त्री जुद्धशमशेर विद्यालयको ठूलो गौरवको कुराका प्रतीकका रुपमा विगतमा विद्यार्थी रहेको तथ्य स्पष्ट हुन्छ ।

साथै १३ वर्षअघि प्रधानमन्त्री चन्द्रशमशेरका पालामा खुलेको नेपालको उच्च शिक्षा प्रदान गर्ने प्रतिष्ठान त्रिचन्द्र कलेजको प्रगतिबारे पनि प्रतिवेदनमा उल्लेख छ । रिपोर्टमा “यस वर्ष हाम्रा अङ्ग्रेजी पढ्ने विद्यार्थीहरु जम्मा १०६५ छन् । विज्ञान पढेका उद्योग व्यवसायको अनेक कुरा सिक्न भारत वर्षमा पढाइन्छन्, यस्ता हाम्रा सरकारी भत्ता पाई पढ्ने विद्यार्थी यस वर्ष जम्मा ३३ छन्” भनिएको छ । यसरी आफू सत्तामा आएको चार महिनाभित्र आफूले पनि बाल्यकालमा पढेको दरबार पाठशाला स्कुलमा आयोजित सरस्वती पूजा तथा पुरस्कार वितरणमा प्रधानमन्त्री जुद्धशमशेरको सहभागिता गार्हस्थ्य र कूटनीतिक दुवै दृष्टिले निकै अर्थपूर्ण थियो । देशकै अग्रणी विद्यालयसँग आबद्ध हुनुलाई प्रतिष्ठाका साथै चन्द्रशमशेर परिवारको स्पष्ट दबदबाका बाबजुद आफू शक्तिशाली रहेको बलियो राजनीतिक सन्देश स्वदेश र विदेशमा दिन पनि सम्भवतः जुद्धशमशेरले झन्डै ३२ वर्षपछि यो साहसिक निर्णय लिए । कार्यक्रमका वक्ता डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन मेजर जनरल मृगेन्द्रशमशेरले देशकै अग्रणी विद्यालयको विकासक्रम र  देशको समष्टिगत शैक्षिक उत्थानबारे प्रकाश पारे । समारोहमा श्री ३ जुद्धशमशेर ले असल विद्यार्थीलाई पुस्तक तथा कक्षामा पहिला हुनेहरुलाई एकएक असर्फी प्रदान गरे । जुद्धशमशेरले सहभागिता जनाएको कार्यक्रमको तेस्रो पक्षका रुपमा यही समारोहमा मृगेन्द्रशमशेरले १९३५ पछि सरकारले उच्च शिक्षा प्राप्त गर्न खोज्ने विद्यार्थी र सरकारी कारिन्दा जागिर खान  जाँचदिने मानिसलाई प्राथमिक परीक्षामा पास हुनैपर्ने नीतिगत नियम बनाएको जानकारी गराए ।

प्रा. मानन्धरको उज्ज्वल शैक्षिक उपलब्धिबारे गोरखापत्रले दुई पटक सम्पादकीय नै लेख्यो । अगस्ट ३०, १९३५ मा प्रकाशित दोस्रो सम्पादकीयको अंश यसप्रकार थियो—

रामप्रसाद मानन्धरले फेरि ज्वलन्त सफलता प्राप्त गरे भन्ने खबरले पाठकहरुलाई अवश्य आह्लादित गराउनेछ । निज विद्यार्थीले अङ्ग्रेजी पढ्न सुरू गरेदेखि बिए पास गरून्ज्यालसम्म स्कुल परीक्षामा मात्र होइन, विश्वविद्यालयसमेत पहिला हुँदै गए भन्ने कुरो दुई वर्षअघि यो पत्रमा प्रकाशित भएको थियो । हाल पटना युनिभर्सिटीको अङ्ग्रेजी एमएको परीक्षामा पनि उनी पहिला दर्जामा पहिला भए भन्ने सुन्दा नेपाली मात्रमा कसको हृदय खुसीले गद्गद होवैन, उनको योग्यतादेखि प्रसन्न भइबक्सेर श्री ३ बाट अस्ति भाद्र ७ गतेका दिन (अगस्ट २३, १९३५) निजलाई यथायोग्य पुरस्कार पनि बक्स्यो । यसबापत गोपले पनि दिएको हार्दिक बधाईलाई उनी स्वीकार गरुन् ।

(डा. मदनकुमार भट्टराईको प्रकाशोन्मुख कृति ‘चार कूटनीतिज्ञ’बाट साभार। उनको कृति आगामी शनिबार  नेपाल पर्यटन बोर्डमा सार्वजनिक हुनेछ)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?