
झापा – झापाको मेचीनगर नगरपालिका- १० धुलाबारीमा रहेको एक मन्टेश्वरी विद्यालयको चरम लापरवाहीका कारण एक बालक शौचालयको सेप्टिक ट्यांकीमा डुबेर गम्भीर घाइते भएका छन् ।
धुलाबारीको सानो साथी किन्डर गार्टेनको शौचालयको सेप्टिक ट्यांकीमा खसेर गम्भीर बनेका बालक तान्चोक लिम्बूको चिन्ताजनक अवस्थामा बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिएका छन् ।
अस्पतालका अनुसार खानानलीमा धेरै फोहोर पानी पसेकाले उनको अवस्था गम्भीर रहेको छ । त्यस्का अतिरिक्त बालकको टाउकोमा पानी पनि जमेको अस्पतालले जनाएको छ ।
सोमबार अपराह्न ८ वर्षीय बालक लिम्बू खाजाको समयपछि सोही विद्यालयको शौचालयको सेप्टिक ट्यांकीमा डुबेको अवस्थामा फेला परेका थिए ।
टिफिनपछि कक्षामा नभेटिपछि खोजी गर्दा सेप्टिक ट्यांकीमा डुबेको अवस्थामा उनलाई भेटिएको थियो । ट्यांकीको ढक्कन मक्किएको प्लाइ राखेकाले बालकले सोही ठाउँमा टेक्दा उनी ट्यांकीमा खसेका थिए ।
विद्यालयका सञ्चालक मनोज गुरुङले बालकलाई ट्यांकीबाट निकालेका थिए । अस्पताल पनि उनैले पुर्याएका थिए । ६३ जना विद्यार्थी रहेको उक्त विद्यालयका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।