
झापा – झापाको बिर्तामोडबाट सदरमुकाम चन्द्रगढीसम्म पुग्ने सडक धेरै वर्षपछि पनि बनिनसक्दा सर्वसाधारणले हैरानी खेप्नु परेको छ।
यो वर्ष पनि उक्त सडकको निर्माणको कामले पूर्णता पाएन। सम्झौताबमोजिम साउनको पहिलो हप्तामा काम सक्नुपर्ने थियो। तर सडक निर्माणको काम सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ। उक्त सडक अहिले ३० प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजनको निष्कर्ष छ।
०८० साउन ६ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सडकको ३० प्रतिशत मात्रै निर्माण सकिएको भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले जानकारी दिए। अहिले वर्षा भइरहेका कारण सडक निर्माणको काम रोकिएको छ।
०७७ साल माघमा कन्टेक प्रा.लि.ले सम्झौता गरेको बिर्तामोड–चन्द्रगढी सडकको लम्बाई ८.४१ किलोमिटर रहेको छ।
सबैको चासोको बिर्तामोड–चन्द्रगढी सडकखण्ड ५८ करोडको लागतमा निर्माण भइरहेको छ। जिल्लाको सदरमुकाम जोड्ने मुख्य सडक निर्माणमै चरम लापरबाही भएको उपभोक्ताले गुनासो गरेका छन्।
निर्माण व्यवसायीले कोभिडको दोस्रो लहरपछि बैंक तथा वित्तीय संस्थाले लगानी नगरिदिएको र आर्थिक मन्दीका अन्य प्रभावले सडक निर्माणको कामले तीब्रता नपाएको सडक डिभिजन कार्यालयले जनाएको छ।
डिभिजन कार्यालयका प्रमुख पौडेलका अनुसार यस बर्ष मूल काम भए पनि सडक निर्माणको काम भने सुस्त रहेको छ। कोभिडको दोस्रो लहरले पारेको प्रभावका कारण अब करिब ६ महिना सडक निर्माणको कामको म्याद थपिने पौडेलले बताए।
उनले भने, ‘थपिएको म्यादमा पनि सम्पन्न नभए हामी ठेक्का तोड्न र ठेकेदारलाई कारबाही गर्न बाध्य हुनेछौं।’