
काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको श्रद्धाञ्जलिसभामा नेकपा एमालेका अध्यक्ष ओली उपस्थित भएनन्।
गत असार २७ गते उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएकी उनको मंगलबार सातौँ दिनको अवसरमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो। उक्त सभामा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली अनुपस्थित भएका हुन्।
यद्यपि, ओली सीताको दाहासंस्कारको बेला भने पशुपतिमा पुगेका थिए। त्यहाँ पुगेर सीतालाई श्रद्धाञ्जलि एवम् परिवारलाई समवेदना दिएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजना भएको उक्त सभामा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपराष्ट्रपति रामसहायप्रसाद यादव, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो।