
झापा – मोरङको रमाइलोका लागि काँकरभिट्टाबाट छुटेको बसका चालकको हाउभाउ अलि फरक किसिमको पाइएपछि ट्राफिक प्रहरी तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारती नेतृत्वको टोलीले ती चालकलाई लागुपदार्थ सेवन परीक्षणका लागि एउटा कपमा पिसाब फेर्न लगायो ।
उनी लागुपदार्थ सेवन नगरेको जिद्दी गरिरहेका थिए। तर, परीक्षणमा लागुपदार्थ सेवन गरेको देखियो। त्यसपछि लागुपदार्थ आफूले सेवन गरेको नस्वीकारी उनलाई सुख थिएन।
उनलाई तुरुन्तै प्रहरीको टोलीले नियन्त्रणमा लियो। त्यो दिन पाँच जना चालकको पिसाब परीक्षण गर्दा तीन जनाले लागुपदार्थ सेवन गरेको पाइएको थियो।
झापामा अहिलेसम्म १६ जना चालकको लागुपदार्थ सेवन जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। जसमा ९ जनामा पोजिटिभ रिपोर्ट देखिएको छ।
अहिलेसम्म परीक्षणपश्चातको रिपोर्टको आधारमा सार्वजनिक यातायातका साधन चलाउने धेरै चालकहरूले लागु पदार्थ सेवन गर्ने गरेको तथ्य सार्वजनिक भइरहेको छ। जसका कारण सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने सर्वसाधारणको ज्यान जोखिममा पर्दै गएको छ।
आँखाअगाडि नै आफूहरूले लगानी गरेर सञ्चालनमा ल्याएका बसका चालकले लागुपदार्थ सेवन गरेर सवारी चलाएको देखेपछि लगानीकर्ताहरू पनि छक्क पर्ने गरेका छन्।
एक जना बस व्यवसायी विष्णुकुमार श्रेष्ठले अब चालकहरूले सुध्रिनुबाहेक अर्को विकल्प नभएको बताए। उनले भने, ‘यस्तो अवस्था देखेपछि हामी नै छक्क परिरहेका छौँ। सर्वसाधारणको ज्यान र हाम्रो लगानी सखाप पार्ने भए। चालकहरू सुध्रिनु पर्यो।’
पोजिटिभ रिपोर्ट आउने सबैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएर लागुपदार्थ मुद्दामा कारबाही गर्ने प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए।
उनले भने, ‘ज-जसको पोजिटिभ रिपोर्ट आउँछ, सबैलाई मुद्दा दायर गर्छौं।’
लागुपदार्थ सेवनको परीक्षण निकै महँगो पर्ने गरेको ट्राफिक प्रहरीका उच्च अधिकारीहरूले जानकारी दिएका छन्। यसको निरन्तरता निकै महँगो पर्ने देखिन्छ । तर लापसे परीक्षणलाई निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रवीण जोशीले बताए।
धेरै यात्रुको ज्यान लिएर गुडेका बसका चालक लागुपदार्थ सेवन गर्ने गरेको यो दृश्यले यात्रु सुरक्षामा अर्को चुनौती थपिएको छ। कतै तपाईं हामी चढेको गाडीका चालकले लागुपदार्थ सेवन त गरेका छैनन्? यो प्रश्न मनमा राखेर यात्रा गर्नुपर्ने अवस्था छ।