
झापा – झापा कारागारको आन्तरिक प्रशासनका चौकीदार मनोज लावतीलाई कारागार सरुवा गर्नका लागि भनेर शुक्रबार उनलाई कारागार बाहिर निकालेपछि झापा कारागारको स्थिति तनावपूर्ण बन्यो ।
कारागारका कैदीबन्दीले कारागार परिसरमा बनेका घरका छानामाथिबाट प्रशासनविरुद्ध चर्का नाराबाजी गर्दै ढुंगा तथा इँदा हान्न थाले । संगै कारागार भित्रबाट धुवाँको मुस्लो निस्किन थाल्यो ।
कारागारमा स्थिति तनावपूर्ण भएपछि कारागार परिसर बाहिर सुरक्षाकर्मी तैनाथ गरियो । बाक्लो सुरक्षाकर्मीको उपस्थितिले पनि कारागारभित्रको अवस्थालाई साम्य पार्न वा बल प्रयोग गर्न सकिएको अवस्था थिएन ।
कारागार भित्रको स्थिति यति उग्र थियो कि प्रशासन पछि नहट्ने स्थिति थिएन । कारागारको भौतिक संरचना जोगाउन तथा आगलागीको जोखिमलाई कम गर्न पनि प्रशासन लचिलो हुनुपर्ने अवस्था थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलगायत सरकारी अधिकारीहरूको टोली कैदीबन्दीहरूसंग वार्ता गर्न जाँदा पुगेका सञ्चारकर्मीहरूले कैदीबन्दीका कुरा पनि खिच्न भ्याए ।
उनीहरू भनिरहेका थिए ‘कारागार हामी चलाउँछौं, बाहिरबाट होइन । लाखौं कमिसन खान पल्केकाहरूले यो काम गरेका हुन् ।’
यदि उनीहरूको आरोप सही हो भने यो गम्भीर कुरा हो । कारागारभित्रबाट पनि कमिसन कस्ले खाइरहेको छ, खोजीको विषय छ । नत्र भने कैदीबन्दीले यस्तो आरोप किन लगाए ? प्रमुख जिल्ला अधिकारी पोखरेलका कुराले पनि प्रशासनले कारागार नियन्त्रण नियन्त्रण गर्न सकेको छैन ।
उनले भनेका थिए, ‘अहिले हामीले कारागारको सुरक्षा र थप अवस्था बिग्रिन नदिन सरुवा गर्न लागिएका कैदीलाई भित्रै पठाइदिएका छौं ।’
प्रमुख जिल्ला अधिकारी पोखरेलले यी कुरा बताइरहँदा अर्को प्रश्न उब्जिन्छ । आखिर कारागार प्रशासनको नियन्त्रणमा छैन भने कस्को नियन्त्रणमा छ ?
फेरि १६ सय कैदीबन्दी रहेको झापा कारागारबाट एक जना कैदीलाई मात्र सरुवा गर्दा कारागारको अवस्था सुध्रिन्छ ? यदि सरुवा गर्न लागिएका एक जना कैदीकै कारण प्रशासन पछि हट्छ भने कारागारको स्थिति प्रशासनको नियन्त्रण बाहिर छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।
सरुवा गर्न लागिएका लावतीलाई कैदीबन्दीको दबाबपछि पुनः कारागारभित्रै पठाउनुपर्यो र उनीहरूको विद्रोह साम्य भयो । यस्तै परिस्थिति रहे कारागार सुरक्षामा गम्भीर सुरक्षा चुनौती थपियो । कुनै पनि बेला कुनै पनि घटना नहोला भनेर कसरी यकिनका साथ भन्न सकिएला र !