
झापा – भुटानबाट खेदिएर नेपालमा निर्वासित जीवन बिताइरहेका भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले आफूहरूलाई सक्कली शरणार्थीको उपनाम दिएकोमा आपत्ति जनाएका छन्।
उनले शरणार्थी कहिले पनि सक्कली नहुने बताए। आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनले विभिन्न यातना तथा पीडा भोगेर अर्काको देशमा शरण लिएको एउटा देशको नागरिक कहिले पनि सक्कली शरणार्थी नहुने बताए।
पौडेलले सक्कली लेख्नको सट्टा वास्तविक शरणार्थी लेख्न सञ्चार माध्यमहरूलाई आग्रह गरे। भुटानी नागरिकहरू भुटानको निरंकुश व्यवस्थाले गलहत्याएपछि आश्रय खोज्दै नेपाल आइपुगेर शरण लिएका कारण भुटानी शरणार्थीहरूका लागि उपनाम दिनैपरे वास्तविक शरणार्थी उल्लेख गर्न उनको आग्रह थियो।
पौडेलले भने, ‘शरणार्थीलाई सक्कली उपनाम दिएर हुन्छ? यातना पाएर देश निकाला भएर अर्काको देशमा शरण लिएको मान्छे सक्कली हुन्छ? उपनाम दिएर लेख्नैपर्छ भने ‘वास्तविक शरणार्थी’ लेखिदिनुहोस्।’
विगत केही समयदेखि नेपालमा कृत्तिम शरणार्थी बन्ने लहरले प्रश्रय पाउँदा वास्तविक शरणार्थीको मुद्दालाई ओझेलमा पारिएको पौडेलको भनाइ छ।
कृत्तिम शरणार्थी बन्न चाहने र आर्थिक लेनदेनको बलमा गलत प्रक्रिया अपनाउन सघाउने संगठित समूहको भीडमा वास्तविक शरणार्थीको पीडालाई ओझेलमा पार्न खोजिनु निन्दनीय भएको उनले बताए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल पनि परेकोमा गल्ती गरेको खण्डमा रिजालले पनि सजाय पाउनुपर्ने पौडेलले बताए।
उनले भने, ‘के सही के गलत भन्ने कुरा अदालतले निकाल्ला। हाम्रा एक जना मान्छे पनि मुछिएका छन्। यदि उनले गलत गरेका छन् भने गल्तीको सजाय पाउनुपर्छ।’
राष्ट्रिय मेलमिलापका लागि भुटानी राजालाई पौडेलको पत्र
गत जुलाई ३० तारिक भुटान पिपुल्स पार्टीका तर्फबाट राष्ट्रिय मेलमिलापको आग्रह गर्दै पौडेलले भुटानी राजा जिग्मे खेशर नाम्ग्याल वाङचुकलाई पत्र लेखेका छन्।
पत्रमा पौडेलले विभिन्न बहानामा भुटानका कारागारमा आफ्ना पार्टीका नेता तथा कार्यकर्तालगायत करिब २ सय जना रहेका र उनीहरू शीघ्र रिहाइको माग गरेका छन्।
उनले उत्तरतिरबाट चीनले भुटानको सीमाना मिचेको कुरा उल्लेख गर्दै त्यसबारे गम्भीर हुनसमेत भुटानी राजालाई आग्रह गरेका छन्।
भुटानी जनता अझै पनि निरंकुशताको पकडमा रहेका कारण सही प्रजातन्त्रको अभ्यास भुटानमा अझै नभएको उनको भनाइ छ।
नेपालमा निर्वासित जीवन बिताइरहेका समग्र भुटानी शरणार्थीलाई भुटान फर्काउन राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्न पौडेलले भुटानी राजासमक्ष आग्रह गरेका हुन्।