
झापा – भदौ ७ गतेदेखि चिया बगान अनिश्चितकालीन बन्द गर्ने निर्णय १० दिनका लागि स्थगित गरिएको चिया मजदुर संगठनहरूले जनाएका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै मजदुर संगठनहरूले भदौ १७ गतेसम्म चिया बगानहरू बन्द गर्ने निर्णय स्थगित गरिएको जनाएका छन्।
भदौ १७ गतेसम्म पनि आफ्ना माग पूरा नभए भदौ १८ गतेदेखि अनिश्चितकालीन बन्द गरिने र त्यसबाट भएको क्षतिको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने ती संगठनहरूले जनाएका छन्।
पटक(पटक दोहोरिने चिया बगानका श्रमिकहरूको दैनिक पारिश्रमिक विवाद यसपाली पनि उत्कर्षमा पुगेको छ।
झापा र इलामका चिया बगानमा कार्यरत करिब ७० हजार श्रमिक उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रेका हुन्। चिया बगानहरूमा अहिले श्रमिकहरू उद्योगीविरुद्ध चर्का नारावाजी गर्दै आएका छन्।
उनीहरूले महंगी बढेको आधारमा ज्याला वृद्धि गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, पत्ती डबली वृद्धि गर्नुपर्नेलगायत माग राखेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र निकट मजदुर संगठनहरूले उक्त आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।
श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला पाँच सय ७७ रुपैयाँ पाउने उल्लेख छ तर, चिया बगान र प्रतिष्ठानले ज्यालाबापत रु चार सय ३७ मात्र दिइरहेका मजदुरहरूको भनाइ छ।
श्रम ऐन, २०७४ को दफा १० मा भएको व्यवस्थाबमोजिम सेवा र सुविधा हुनुपर्ने उनीहरूले माग राखेका छन्।