
बुधबार साँझ भारतले चन्द्रमामा पठाएको अन्तरिक्षयान चन्द्रयान- ३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्यो।उक्त दृश्यले विश्वको ध्यान तानिरहेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश भ्रमणमा रहे पनि भर्चुअल माध्यमबाट प्रत्यक्ष प्रशारणमा जोडिएका थिए। मोदीले सबै वैज्ञानिकलाई धन्यवाद दिएका थिए ।
सोही अन्तरिक्षयानको निर्माणमा एक जना नेपालीभाषी वैज्ञानिक पनि संलग्न थिए। उनी हुन् मिरिक दार्जिलिङका निरूपम शर्मा।
वैज्ञानिक शर्मा आइएसआरओ (इसरो) को प्रयोगशालाका एक वैज्ञानिक हुन्। चन्द्रयान – ३ मा प्रयोग भएका सामग्री उनी संलग्न वैज्ञानिकहरूको टोलीले निर्माण गरेको थियो। अहिले उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ। मिरिकमा रहेका उनका परिवारलाई बधाई दिन घरमा पुग्न थालेका छन्।
सामान्य परिवारमा जन्मेका निरूपम अहिले एक सफल वैज्ञानिकको रूपमा स्थापित भएका छन्। उनका बुवा विश्वकवि शर्मा भण्डारीले देश सञ्चारसँग भने, ‘हामीलाई यति खुसी छोराले दिएको छ कि व्यक्त गर्नै सकिँदैन।’
निरूपम मिरिककै एक साधारण विद्यालयमा पढेका हुन्। कक्षा १० आइसिएसइ बोर्डबाट उत्तीर्ण गरेपछि उनी दार्जिलिङ पढ्न गए। त्यहाँको विद्याविकास एकेडेमीबाट कक्षा १२ उत्तीर्ण गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि दिल्ली गए।
पछि आसाममा एमटेक गर्दै गर्दा इसरोमा इन्ट्रान्स दिएपछि त्यसमा उत्तीर्ण भएर अहिले त्यहीँको वैज्ञानिक भएका छन्। उनका बुवा विश्वकविले भने, ‘सानैदेखि यति तीक्ष्ण थियो कि एक मार्कले कसैले जित्यो भने घरमा आएर रुन्थ्यो।’
परिवारका उनी सबैभन्दा कान्छो हुन। अहिले उनी ३० बर्षका भएका छन्। उनका दुई दिदीहरू छन्। उनले शिक्षा प्रायः छात्रवृत्ति पाएरै लिएका बुवा विश्वकविले बताए। अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरू घरमै आएर कुरा गर्दा परिवारका सदस्यहरूको खुसीको सीमा नरहेको उनकाे भनाइ छ।
निरूपम सन् २०१७ देखि इसरोमा आवद्ध छन् ।