
झापा – अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आशीर्वाद लिने उद्देश्यले भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ शुक्रबार नेपाल आइपुगेको छ।
शुक्रबार विहान भारतको पानीटङ्की नाका हुँदै पूर्वीनेपालको काँकरभिट्टामा रथयात्रा प्रवेश गर्दा अग्रवाल समुदायले उल्लासपूर्वक स्वागत गरेका थिए। उक्त रथयात्रा नेपाल आइपुग्दा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले स्वागत गरेकी थिइन्।
उपसभामुख रानामगरले प्रत्येक महिला महालक्ष्मीको स्वरुप भएको बताउँदै मानवीय सेवाका लागि पैसा होइन भावना आवश्यक भएको धारणा व्यक्त गरिन्।
स्वागतका लागि आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङ, संविधानसभा सदस्य रविन कोइराला, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, अखिल भारतीय अग्रवाल समाजका बरिष्ठ उपाध्यक्ष सुरेश अग्रवाललगायत सहभागी थिए। अग्रवाल समाज मेचीनगरले रथयात्रा आइपुगेको अवसरमा महाआरती पूजा सम्पन्न गरेको छ।
भारतस्थित हरियाणाको अग्रोहा धामबाट उक्त रथयात्रा सुरु भएको हो। भारत, भूटान र नेपालमा रथयात्राले परिक्रमा गर्ने कार्यक्रम छ। रथयात्राका मेचीनगर संयोजक विजय डालमियाका अनुसार रथयात्रा आज बिर्तामोडमा पुगेर बास बस्ने कार्यक्रम छ। शनिबार विर्तामोडबाट विभिन्न स्थानमा पूजा गर्दै धरानमा पुगेर बस्ने र भदौ १७ गते विराटनगर हुँदै १८ गते भारततर्फ लाग्नेछ।