
कुनै बेला कपास खेतीको उर्वर भूमि मानिने मुगुको सोरु गाउँपालिकामा कृषकहरूले कपास खेती गर्न छाडेपछि परम्परागत पहिरन आँगो, घांग्रो, पच्छौरा, पाउरो, झम्फर लोप हुँदै जान थालेका छन्।
समयको गतिसँगै मुगु जिल्लामा बाहिरी आयातित लत्ता-कपडा भित्रिन थालेपछि परम्परागत पहिरन लोप हुँदै जान थालेका हुन्।
स्थानीय स्तरमा उत्पादित कपासले राम्रो मूल्य नपाएपछि र उत्पादनमा लाग्ने मूल्यभन्दा बाहिरी आयातित कपडाको मूल्य कम परेपछि किसानहरूले कपास खेती गर्न छोड्दै गएका हुन्।
विशेषगरी उमेर ढल्केका महिलाहरूले ठेटुवाको कपडामा तोरा खैरो रंग दिने मजेठो भन्ने जडिबुटी र सीममा पाइने माटाको तोरोसँगै मिसाइ काठको सानो बुट्टा दिने छिपोको माध्यमबाट छाप लगाएर धोती र मुजा पारेको घाग्रो लगाउने चलन थियो।
यसैगरी, केटाहरू ठेटुवाको दौरा-सुरुवाल र केटीहरूले ठेटुवाको सेतो आँगो लगाउने चलन चलिआएको थियो।
करानबाहेक खतेड, गम र सोरु भेगका उमेरले पाका महिलाहरू प्राय: जसो ठेटुवाकै पहिरन लगाउने गरेका थिए।
सोरुमा पाइने (घरबुना) ठेटुवाले राम्रो मूल्य नपाएपछि स्थानीय सोरुका कृषकहरूले कपास खेती गर्न छाडेको सोरुका स्थानीय बासिन्दाले बताएका छन्।
सोरु गाउँपालिका-२ नचारा गाउँका कृषक जग्गबहादुर शाहीले ठेटुवाकाे माग घट्न थालेपछि कपासखेती गर्न छाडेकाे बताए।
‘दु:ख गरेर आफ्नै साना-तिना घरेलु उद्योगबाट उत्पादन गरेको ठेटुवाको कपडा दुई पैदल हिँडर गागढी आइ बेच्ने गरेका थियौं। पहिले पहिले राम्रै मूल्य पाइने गरेको भएपनि बिस्तारै बजारमा ठेटुवाको माग घट्न थालेपछि कपास खेती गर्न छाड्यौं’, उनले भने।
पछिल्लो समयमा कपास खेतीभन्दा मास, आलु सिमी र मकै खेतीबाट राम्रो आन्दानी हुनाले पनि कपास खेती गर्न छाडेकाे शाहीको भनाइ थियो।
सोरु गाउँपालिका जडेपानीका अर्का कृषक चन्द्रबहादुर शाहीले पनि कपास खेती छोडेको धेरै समय भयो। बजारकाे मागअनुसार मास र सिमीखेतीबाट मनग्य आम्दानी हुने गरेकाले कपास खेती गर्न छाडेकाे जानकारी दिए।
केही वर्षअघि स्थानीय उत्पादनको अर्को विकल्प नभएपछि बाध्य भएर कपासलगायत परम्परागत खेती गर्दै आएका कृषकहरू समयको गति र विकाससँगै पुराना अन्नबालीको खेती गर्न छाडेपछि कपास, चिनो, काउनी, मार्सेजस्ता बालीहरूको अस्तित्व संकटमा पर्दै गएको सोरु गाउँपालिकाका फोतुका स्थानीय राजबहादुर शाहीले बताए।