
बुटवल- बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिए पनि सहमति नजुटेपछि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले निर्वाचन समितिले आवश्यक तयारी गरेको र ठिक ८ बजेदेखि मतदान सुरु हुने जानकारी दिए। यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारिएको थियो।
प्रदेश कमिटीका लागि पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन्। पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन हुँदैछ। अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन्। कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र रिजाल महासचिव शङ्कर पोखरेल समूहका मानिन्छन्।
सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन्। सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरूमा चुनाव हुन लागेको हो। भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान हुनेछ। अधिवेशनले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ।
आज बिहान १० बजेसम्म मतदान सक्ने र साँझसम्म गणना सकेर नतिजा सार्वजनिक गर्ने तयारी रहेको एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन्।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरू सहभागी छन्।