
झापा – विगत लामो समयदेखि कचल्टिएको झापाको मेचीनगर नगरपालिकाको कर्मचारीको विवाद फेरि सतहमा आएको छ ।
कर्मचारीको मनोमानी बढेको भन्दै वडाध्यक्षहरूनै अहिले उनीहरूको विरोधमा उत्रिएका छन् ।
वरीयताको विषयमा कर्मचारीहरूबीच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्षसहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रनु परेको मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए ।
वडा नं. १० का वडाध्यक्ष नारायण खनाल र वडा नं. १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले सोमबार नगरपालिकाको मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको कार्यशैलीको विरोध गरेका छन् ।
वडाध्यक्ष कार्कीले भने, ‘केही दिन अघि कर्मचारीले तलब भत्ता खाए । तर धान पाक्ने बेला भइसक्यो अहिले पनि गत आर्थिक बर्षको वडाले पाउनुपर्ने भुक्तानी पाइएको छैन ।’
उनले आइतबारसम्म पनि वडाको समस्या समाधान नभए नगरपालिका कार्यालयमा नै हलचल मच्चाइदिने चेतावनी दिए ।
निर्वाचित जनप्रतिनिधिलाई नै असफल बनाउने गरी कर्मचारी लागेको वडाध्यक्षहरूले बताएका छन् । वडा नं १० का वडाध्यक्ष नारायण खनालले कर्मचारीका कारण नगरवासी र आफूहरूले धेरै दुःख पाएको बताए ।
मेचीनगर नगरपालिकामा कहिले प्रमुख प्रशासकीय अधिकृत नटिक्ने कहिले आन्तरिक कर्मचारीको बरीयताका विषयमा विवाद रहँदै आएको छ । जस्को प्रत्यक्ष मार जनताले भोग्नु परिरहेको छ ।